
कालिका, २८ असार । उपभोक्तालाई दिने सेवालाई सहज र पारदर्शी बनाउन कालिका नगरपालिकालाई स्थानीय नगरबासीले सुझाव दिएका छन् । कालिका नगरपालिकाले वडा न.३ को परिसरमा आज आयोजना गरेको तेश्रो चौमासिक तथा वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले यस्तो सुझाव दिएका हुन ।
कालिका वडा नं. ६ का हरिप्रसाद भण्डारीले सेवाग्राहीलाई मुस्कान सहितको सेवा दिन सुझाव दिए । निर्धारित समयमा सम्पन्न भएको योजनाको रकम भुक्तानीका लागि नगरपालिकाले ढिलासुस्तीगर्ने गरेको गुनासो गरे । सम्पन्न भएको योजनाको आवश्यक कागजपत्रहरु पुरा गरेर बुझाउँदापनि समयमा भुक्तानी पाउन नसकेको उनले अनुभव सुनाए ।
यस्तै वडा न.३ बस्ने गोविन्द खनालले लाहुरे चोक क्षेत्रको बाटोलाई स्तरिय बनाउन नगरपालिकाले ध्यान नदिएको गुनासो गरे । हाइमाक्स लाईट जडानगर्ने तयारी भइरहेकै क्षेत्रमा भएको खाल्डाखुल्डीले नगरपालिकालाई गिज्जाईरहेको छ त्यसतर्फ ध्यान आग्रह गरे । भाडा र सरकारलाई कर तिरेर व्यापार, व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई ठेलावालाहरुले प्रभावित बनाइरहेको भन्दै ठेलामा व्यवसायगर्नेहरुलाई रोक्नुपर्ने बताए । उनले वडा न.३ मा विकास निर्माणको कामले गतिलिन नसकेको भन्दै त्यसतर्फ ध्यानाकर्षण गराए । यस्तै लाहुरे चोक बस्ने टेकवहादुर बस्नेतले लाहुरे चोक नजिकैको घोलभएर हिड्ने बाटोलाई व्यवस्थापनगर्न आग्रह गरे । हिलाम्मेबाटोले दैनिकी जीवनमा समेत असर गरिरहेकाले तत्काल त्यो बाटोलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय सीता प्रजाले सुकुम्वासी र अव्यस्थित बसोबासगर्नेहरुले लालपुर्जा कहिले पाउने प्रश्न गरे । सुकुम्वासीहरुलाई लालपुर्जा दिने आश्वासन मात्रै पाइरहेकाले यसको काम कहाँ पुग्यो र कहिले पाउँछौं भन्ने जिज्ञासा राखे ।
यस्तै कालिका वडा नं. ४ स्थित विहानी टोल विकास संस्थाका अध्यक्ष समेत रहेका रामु बनले वडा नं. ४ मा अलपत्र अवस्थामा रहेको पशु सेवा कार्यालयलाई प्रयोगमा ल्याउन सुझाव दिए । नगरपालिकाको पशुसेवा शाखालाई नै पशु सेवा कार्यालयमा सार्न सके प्रयोग विहीन संरचना प्रयोगमा आउने बताए । यस्तै गौरवको योजनाको रुपमा रहेको खोलेसिमल देखि जुटपानी सम्मको सडकलाई पुटपाथ सहित मोजाइक टाइल लगाउँदा बाटोको पोलले हिडडुलमा समस्या ल्याउनेतर्फ ध्यानाकर्षण गराएका थिए । कालिका नगरपालिकाले फोहोर व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्न सुझाव दिए ।
कार्यक्रममा बोल्दै नगरका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले कानुन,नीति र कार्यविधिका आधारमा नगरपालिकाले कामगर्दै आएको प्रष्टपारे । केन्द्रले दिएको नीति नियम र कार्यविधि बाहिर गएर कामगर्ने अधिकार आफुहरुलाई नभएको बताए ।

सुकुम्वासीहरुलाई लालपुर्जा दिने विषयमा लगत संकलनगर्ने काम अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए । भरतपुर, माडी भन्दा कालिका फरक भूगोल भएकाले केही थप जटिलता छ – तर छिट्टै समस्या सामाधानहुनेछ उनले थपे ।
यस्तै फोहोर मैला व्यवस्थापनका लागि कार्यविधि पास भएको जानकारी दिए । फोहोरमैला व्यवस्थापनका लागि घरैदेखि सुरुगर्नुपर्ने भएकाले टोल विकास संस्थासँग सहकार्यगरेर अगाडी बढ्ने बताए । फोहोर मैला व्यवस्थापनका लागि नगरपालिका ट्याक्टर खरिदगर्ने प्रकृयामा समेत गइसकेको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले जानकारी दिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले चालु आर्थिक वर्ष ०७९ । ०८० को तेश्रो चौमासिक तथा वर्षभरिमा नगरपालिकाद्धारा सम्पादित कामहरु सार्वजनिक गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख विनोद रेग्मीले सार्वजनिक सुनुवाई कार्यक्रममा प्राप्त सुझावलाई कार्यान्वयनमा ल्याउने बताए । आजको कार्यक्रमबाट सकारात्मक सुझाव पाएका छौं उनले भने – यसलाई सृजनात्मक रुपमा लिएका छौं ।
कार्यक्रमका सभाअध्यक्ष समेत रहेका नगर प्रमुख रेग्मीले नागरिकवाट उठेका प्रश्नले जनप्रतिनिधिहरुलाई थप जिम्मेवार बनाउने बताए । यस्ताखालका कार्यक्रमले आफुहरुलाई तिखार्न मद्दत पुग्ने बताए । विगतमा भन्दा यो पटक नगरबासीहरुमा जनप्रतिनिधिहरुप्रति भरोसा बढ्दै गएको आफुले पाएको नगर प्रमुख रेग्मीले बताए । कार्यक्रमको सुरुवातमै प्रश्नसँगै हामीले गरेका राम्रो कामको प्रशंसा समेत भएकाले जनप्रतिनिधिहरु प्रति भरोसा बढ्दै गएको आसय व्यक्त गरे ।
नगरपालिकाका कुनैपनि कर्मचारीले सेवा दिएवापत अतिरिक्त पैसा माग्यो वा बदमासी गर्यो भने कार्वाहीको दायरामा ल्याएर छोड्ने प्रतिवद्धता समेत जनाए ।
उपप्रमुख विमला तमाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक समेत रहेको वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ, कालिका वडा नं. ३ का वडा अध्यक्ष वीरेन्द्र तामाङ लगायतले बोलेका थिए । कार्यक्रम कालिका नगरपालिकाका सूचना अधिकृत प्रकाश चन्द्र पौडेल र पत्रकार प्रमिता ढकालले सहजिकरण गरेका थिए ।