
रत्ननगर । चितवनमा गिद्ध संरक्षण सप्ताह शुक्रबार देखि सुरु भएको छ । लोमउन्मुख अबस्थामा रहेको गिद्ध संरक्षणमा जनसहभागिता अभिबृद्धि गर्ने उद्देश्यले गिद्ध संरक्षणलाई सप्ताहको रुपमा मनाउन थालिएको हो ।
चितवनको पर्यटकीय नगरी सौराहामा आयोजित एक औपचारिक कार्यक्रमका बीच शुक्रबार विहान चितवन निकुञ्ज सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरले सप्ताहको उद्घाटन गरेका छन् । सप्ताहको उद्घाटनसंगै गिद्ध संरक्षणको लागि सौराहा र राप्ती किनारमा सरसफाई समेत गरिएको छ ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको आयोजना तथा वर्ड एजुकेशन सोसाइटी, नेचर गाइड एशोसियसन र सौराहा लेडी जेसीजको सहआयोजनामा सरसफाई गरिएको हो । कार्यक्रममा संरक्षणकर्मी, नेपाल प्रहरी, नेपाली सेना तथा संरक्षण तथा पर्यटनसंग सम्बन्धित संघसंस्थाका प्रतिनिधिहरुले सौराहाको राप्ती ड्याक वरिपरी सरसफाई गरेको समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी सहसचिव दिना पोखरेलले जानकारी दिइन् ।
औपचारिक कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीले नेपालमा गिद्ध संकटापन्न अबस्थामा रहेको भन्दै चितवनमा यसको प्रजनन् हुन छाडेको बताए । जोडो महिनामा अन्तबाट गिद्ध चितवन आउछन् उनले भने तर चितवनमा गिद्ध छैन् । निकुञ्जको सौराहा सेक्टर प्रमुख मगरले गिद्धको संख्यालाई पुरानै अबस्थामा फर्काउन मुश्किल रहेपनि जोगाउने तर्फ सबैको ध्यान केन्द्रीत हुनुपर्ने बताए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिकी सदस्य सरस्वती लामाले वाताबरण संरक्षणको हिसावले गिद्ध अति आवश्यक पंछी रहेको भन्दै संरक्षणमा एकजुट हुनुपर्ने धारणा राखिन । समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष बसन्त रानाले गिद्ध अन्य वन्यजन्तु र चराचुरुङ्गी सरह नै महत्वपूर्ण पंछी रहेकाले सरकारले यसको संरक्षणमा गम्भिर हुन जरुरी रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, नेपाली सेनाका गुल्मपति हरि तिवारी, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईँ, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिल कुमार गुरुङ, बाघमारा वनका अध्यक्ष जितु तामाङ, चित्रसेन वनकी सचिव रिता थापा लगायतको उपस्थिति रहेको थियो । समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण अभियानकी सचिव सरस्वती सेढाईले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष सीता रिजालले स्वागत मन्तव्य राखेकी थिइन् ।
