रत्ननगरमा सीमान्तकृत चेपाङ समुदायले मनाए न्वागी पर्व

चितवन : सीमान्तकृत जनजातिको रुपमा रहेका चितवनका चेपाङहरुले शुक्रबार छोनाम पर्व अर्थात् न्वागी मनाएका छन् । चितवनका चेपाङले ढ्याङ्ग्रो ठोकेर तथा घैया धानको चामल पकाएको भात खाएर छोनाम मनाएका हुन् । चितवनमा सामूहिकश्रपमा कार्यक्रम गरेर छोनाम मनाइएको हो । सामूहिकरुपमा उपस्थित हुन नसकेका चेपाङले घरघरमा पनि यो पर्व मनाएका छन् । पूर्वीचितवको रत्ननगरमा रहेको गामबेँसीको चेपाङ संरक्षण केन्द्रमा छोनाम पर्व (न्वागी)को अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । आधुनिक युगको सुरुआतसँगै पछिल्लो समय चेपाङ समुदायका झाक्री (पान्दे)को संख्या पनि घट्दै गएको छ । पुरानो पुस्ताका मानिस मरेपछि नयाँ पान्दे बन्न युवापुस्तामा खासै चासो नहुँदा यो समुदायमा आजभोलि पान्दे (झाँक्री) भेट्नै मुस्किल पर्दछ ।

 

गामबेँसी केन्द्रका सञ्चालक केपिकिरण शर्माले सात जना पान्देको जोहो गरी केन्द्रमै ल्याएर बालवालिकालनाई पर्व मनाइदिएका छन् । धर्तीको पुजा गर्ने चेपाङहरुले मुख्य पर्वको रुपमा हरेक वर्ष भदौ २२ गतेका दिन न्वागी अर्थात् छोनाम मनाउने गर्दछन् । नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै यो पर्व मनाइन्छ । यो दिन चेपाङहरुले घैया धानको चामल, पिँडालु, निबुवाआदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई चढाउने गर्दछन् ।

 

चेपाङ समुदायका पान्दे (झाँक्री) राप्ती नगरपालिका–१,२ वाकराङका अमृतलाल चेपाङले घैया धानको चामलको भात तथा अन्य मिठो मसिनो खानेकुरा खाएर पर्व मनाउदै आएको बताए । आफूले उब्जनी गरेको नयाँ अन्नबालीको पूजा गरेर यो पर्व मनाउने गरिएको छ, उनले भने ‘छोनाममा अन्नको पूजा गरेपछि मात्र त्यो अन्नलाई अरु दिनमा खाने प्रचलन छ ।’ झाँक्रीहरूले अनिकाल नलागोस् भनेर ढ्याङग्रो ठोकेर धर्तीको पूजाआजा गर्ने गरेको उनले बताए । सक्नेले माछामासु समेत खान्छन्, उनले भने, ‘नसक्नेले घैया धानको चामलको भात खाएर पर्व मनाउँछन् ।’ ‘न्वागीले आपसी भाइचारा र मित्रतालाई बलियो बनाउने हाम्रो समुदायको विश्वास छ ।’

 

छोनाममा चेपाङहरूले छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर कसैले आफ्नै घरमा र सामूहिकरूपमा भोज खाने, नाचगान गर्ने र सुख दुःख साट्ने गर्छन् । पछिल्लो समयमा धर्म परिवर्तनको प्रभाव चेपाङ समुदायमा निकै बढेको छ । केन्द्रका अध्यक्ष शर्माले ७० प्रतिशत चेपाङ समुदायले धर्मपरिर्वतन गरिसकेका छन् । चेपाङ बस्तीहरुमा विद्यालयको भवन भन्दा चर्चका बढी देखिन निर्माण हुन थालेका छन् । धर्म परिर्वतनले चेपाङको मौलिक संस्कृति नासिँदै गएको छ ।

 

गामबेँसी संरक्षण केन्द्रमा आश्रित १४० जना बालबालिकालाई आफ्नो समुदायको धर्म, संस्कृति र चार्डपर्वको बारेमा जानकारी गराउन केन्द्रमै न्वागी पर्व मनाएको अध्यक्ष शर्माले जानकारी दिए । औपचारिक कार्यक्रममा रत्ननगर नगरपालिकाका कार्यपालिका सदस्य राजेन्द्र हमाल, व्यवसायी रुपेश दर्नाल, साहित्यकार सरिता तिवारीलगायतको सहभागिता थियो । नेपालमा चितवन, धादिङ र मकवानपुरलगायतका २६ जिल्लामा चेपाङहरुको बसोवास रहेको छ । पछिल्लो जनगणनाअनुसार नेपालमा सीमान्तकृत चेपाङको जनसंख्या ८४ हजार ३६६ जना मात्र छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker