काङ्ग्रेसले सम्झियो “गणेशमानलाई”

अविरल यात्री
भरतपुर, १ असोज

स्व.नेता गणेशमान सिंहको २६औँ स्मृति दिवसको अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति चितवनले मंगलबार ‘गणेशमान सिंह र समावेशी नेपालको परिकल्पना एवं संविधान दिवस २०८०को सन्दर्भमा एक विचार गोष्ठी सम्पन्न गरेको छ। भरतपुरको सिएमटी रिसोर्टमा आयोजित कार्यक्रममा लौहपुरुष गणेशमान सिंहको जीवनीमै पिएचडी गरेका डा. ईश्वरी लौडारीले गणेशमानको बारेमा प्रकाश पारेका थिए।
लौडारीले गणेशमान सिंहको राजनीतिक जीवनयात्रा, जेलजीवन, राणाहरुले सरकार विरोधी गतिविधिमा संलग्न भएको आरोपमा फाँसी दिने पक्का जस्तो भएपछि भद्रपुर जेलबाट भागेर भारततर्फ भागेका र भारतमा पक्राउ परिने डरले छद्मनाममा परिचय लुकाउँदै गरेका संघर्ष र नेपाल फर्किएसी वीपी कोइराला सुवर्ण समसेर लगायतलाई गरेको सहयोगको बारेमा खुलेर प्रशंसा गरेका थिए।

त्यस्तै कार्यक्रममा पूर्वन्यायाधिस तथा हाल बार एसोसियसन चितवनका अध्यक्ष नन्दलाल महतोले समावेशीताको विषयमा छर्लङ्ग पारेका थिए। कार्यक्रममा बोल्दै महतोले भने, ‘समावेशीताको कानून नहुनाले म न्यायाधिसको जागिरबाट निकालिएँ, ऐलेको संविधान २०७२ लागू भएपछि अबका दिनमा आउने भाइ बहिनिहरुले मेरो नियती खेप्नु पर्दैन।’ हाल कानून व्यवसायमा संलग्न महतोले ऐलेको संविधानलाई धर्मग्रन्थ सरह सम्मान गर्ने पनि बताए।

त्यस्तै संविधान दिवसको पूर्वसन्ध्यामा संविधानको बारेमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य तथा अधिवक्ता उद्धव लोहनीले बोलेका थिए । उनले संविधान पूर्णरुपमा लागू नभएकोमा आक्रोश पनि पोखेका थिए । उनले भने ‘संविधानमै लेखिए बमोजिम काम गर्न जाँदा पनि जिल्ला प्रशासन कार्यलय चितवनका सिडियोले कयौं पटक मलाई फिर्ता पठाएका छन् । उच्च अदालत पाटनको निर्णय लिएर आउँदा पनि हुँदैन भनेका छन् ।’ यसरी जनताले अनाहकमा दुख पाएकोमा उनको गुनासो पनि थियो।

कार्यक्रमका सभापति राजेश्वर खनालले गणेशमानको २६ औँ स्मृति दिवस तथा संविधान दिवस २०८० को सन्दर्भमा आज साँझ ६ बजे चितवनका ७ वटै पालिका र ९८ वटै वडामा दीपप्रज्वलन गरिने कार्यक्रम रहेको बताए।

कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य उमा रेग्मी, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, शेषनाथ अधिकारी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता चितवन काङ्ग्रेसका सभापति राजेश्वर खनालले गरेका थिए भने सहजीकरण सहसचिव दिनेश अधिकारीले गरेका थिए।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker