
रत्ननगर । संघीय निजामती विधेयकमा भएको व्यवस्था विरुद्ध आन्दोलन सुरु गरेका रत्ननगर नगरपालिकाका कर्मचारीहरुले आन्दोलनलाई प्रभावकारी बनाउन आइतबार संघर्ष समिति गठन गरेका छन् ।
सो नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सुवेदी संयोजक रहेको संघर्ष समिति गठन गरिएको हो । संघर्ष समितिको सहसंयोजकमा कृष्णप्रसाद उपाध्याय, सचिवमा सविता अर्याल, सहसचिवमा गोविन्दप्रसाद शर्मा, कोषाध्यक्षमा केशवराज शर्मा र सदस्यहरुमा नरहरि श्याम शर्मा, शालिकराम पौडेल, अशोक भूषाल, मन्जु पौडेल, लीलानाथ अर्याल, पंकज गिरी, स्वस्तिका अर्याल,राममाया रेग्मी, क्षेत्रबहादुर गुरुङ र रमेशलाल ताम्राकार चयन भएका छन् ।
यसैबीच रत्ननगर नगरपालिकाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण नगरपालिकाको कार्यसम्पादनमा असर परेको भन्दै तत्काल समस्याको सामधार गरी कर्मचारीलाई काममा फर्किने बाताबरण तयार गर्न सरकारलाई आग्रह गरेको छ ।
स्थानीय तहका कर्मचारीहरु संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गरिनु पर्ने, निजामतीको परिभाषा भित्र स्थानीय सेवाका कर्मचारीहरुलाई समेत समावेश गरिनु पर्ने, विना सहमती ७५३ स्थानीय तह र प्रदेश तथा संघीय निकायमा वैज्ञानिक एवम् पूर्वानुमानयोग्य चक्रीय प्रणालीमा सरुवा गरिनु पर्ने, समायोजन गरिएका कर्मचारीको सर्वोच्च अदालतको निर्देशनात्मक आदेश पालना गरी उचित व्यवस्थापन गरिनु पर्ने माग राखेर आन्दोलनमा छन् ।
त्यसैगरी तीनै तहका कार्यरत कर्मचारीहरुको कल्याणकोषको अनिवार्य व्यवस्था गरिनु पर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनु पर्ने, जुनसुकै तहमा बहाल रहेको कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यस्था गरिनु पर्ने, स्थानीय सेवाका कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकार प्रदान गरिनु पर्ने, साविक स्थानीय निकायबाट समायोजन भएका कर्मचारीहरुको समेत अन्तरपालिका सरुवा हुनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्थापन गरिनु पर्ने लगायतका माग राखेर आन्दोलनमा छन् ।