रत्ननगर महोत्सव टिकौलीमा गर्न राजनीतिक दलहरु एकमत

रत्ननगर । रत्ननगरको टिकौलीचौरमा पौष अन्तिम साता हुने रत्ननगर महोत्सवको सफल सम्पन्नताको लागि नगर स्तरीय राजनीतिक दलहरुसंग आइतबार अन्तर्किया गरिएको छ । महोत्सवलाई सार्थक र सफल बनाउन राजनीतिक दलले खेल्नु पर्ने भूमिका र स्थानीयबासीको मागको विषयमा छलफल गरिएको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष शंकर गिरीले जानकारी दिए ।

राजनीतिक दलहरुले महोत्सवमा स्थानीय व्यवसायी र स्थानीय उत्पादनलाई प्राथमिकता दिन आग्रह गरेका छन् । महोत्सवको स्थान परिर्वतनको विषय उठिरहेका बेला राजनीतिक दलहरु यस पटकको महोत्सव टिकौलीमै गर्न र त्यसपछिका महोत्सवमा स्थानको विकल्प खोज्न संघलाई आग्रह समेत गरेका छन् । कृषि क्षेत्रको विकासका लागि विज्ञहरु सहितको अन्र्तक्रिया, गाउँबाट आउनेलाई यातायातको व्यवस्था, संघले चित्रसारी मेलाको समेत अपनत्व दिनुपर्ने, अधिकारकर्मीहरुको मागलाई सम्बोधन, गुणस्तरहिन सामानको विक्री वितरणमा रोक लगाउन दलहरुले आग्रह गरेको संघका महासचिव उपेन्द्रशर्मा आचार्यले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस कार्यबहाक नगर सभापति अपिल अधिकारी, एमालेका नगर अध्यक्ष इश्वरी अर्याल, माओवादी केन्द्रका नगर अध्यक्ष श्याम बराल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष रामनाथ भट्टराई, राप्रपाका नगर अध्यक्ष गोविन्द अधिकारी, एकीकृत समाजबादीका नगर सचिव इश्वरराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । संघका अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष निराजन खनाल सहित पूर्व अध्यक्षहरु तथा कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

रत्ननगर उद्योग बाणिज्य संघको आयोजनामा पौष २६ गते देखि माघ ८ गते सम्म सञ्चालन हुने सो महोत्सव यस पटक १२औं संस्करण हो । चितवनको आर्थिक विकास गर्ने उद्देश्यले सो महोत्सव हुँदै आएको छ । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइनेछ । स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने छ । टिकाैलीमा महाेत्सव गर्दा वन, वन्यजन्तु र जैविक विविधतालाई असर गर्ने भन्दै वडा नं ९ र १० सहित मध्यवर्ती, स्थानीय क्लव तथा टाेल विकास संस्थाले स्थान परिवर्तनकाे माग गर्दै संघका अध्यक्ष शंकर गिरीलाई ध्यानकर्षण पत्र बुझाएका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker