अपाङ्गता भएकाहरु संगठित भएर आफ्ना अधिकार खोज्नुपर्छ : नगरप्रमुख सापकोटा

रत्ननगर । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा नगरस्तरीय अपाङ्गता भेला तथा सार्वजजिक यातायातमा अपाङ्गता विषयक अन्तक्र्रिया कार्यक्रम रत्ननगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।
नगरस्तरीय अपाङ्गता समन्वय समिति रत्ननगरको आयोजना एवं रत्ननगर नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाले अपाङ्गता भएका व्यक्तिको हकअधिकारको सुनिश्चितताका लागि नगरपालिका लागिपरेको बताए ।
उनले अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य र शिक्षामा विशेष सुविधा प्रदान गर्दै आएको उल्लेख गरे । अपाङ्गता भएका व्यक्तिहरुले आफ्नो हकअधिकार आफैँ खोज्नुपर्ने र संगठित भएर अपाङ्गताको हकहितमा लाग्न सुझाव दिए । उनले नगरस्तरीय अपाङ्गता समन्वय समितिको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
नगरस्तरीय अपाङ्गता समन्वय समिति रन्ननगरका अध्यक्ष मीनराज खनालले कसैको दयामायाले भन्दा पनि अन्तर्राष्ट्रिय अभिसन्धि र संविधानप्रदत्त अधिकार खोज्न सबै अपाङ्गता भएका व्यक्तिहरुलाई आग्रह गरे । ‘जसको सवाल ः उसको नेतृत्व’ भन्ने अभियानका साथ सबै पालिका र वडातहमा कम्तीमा बजेको ३ प्रतिशत अपाङ्गताका लागि बजेट छुट्याउनुपर्ने र अपाङ्गताको पुनस्र्थापना र आतमनिर्भरताका लागि छुट्याइएको बजेटको सही सदुपयोग गर्न दबाब दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा घिमिरेले १५ वर्षेको दीगो विकास लक्ष्यका साथ अपनत्व र नेतृत्व लिने गरी अपाङ्गता भएका व्यक्तिहरु अगाडि बढ्नुपर्ने बताइन् । उनले २०७८ को जनगणनाअनुसार रत्ननगर नगरपालिकाभित्र एक हजार ६०२ जना अपाङ्गता भएका व्यक्तिहरु रहेकोमा ७६७ जनाले मात्र अपाङ्गता परिचयपत्र लिएको बताइन् ।
नगरपालिकाभित्र रातो वर्गका १२१, निलो वर्गका ३८८, पहेँलो वर्गका २०२ र सेतो वर्गका ५६ जना गरी ७६७ जना सूचीकृत भएको जानकारी दिइन् । अपाङ्गता भएका व्यक्तिहरुका लागि यातायातमा ४५ प्रतिशत भाडा छूट, आरक्षण सिटका साथै उपचारमा समेत छूट पाइने भएकाले सर्वप्रथम अपाङ्गता परिचयपत्र बनाउन जरूरी रहेको बताइन् ।
कार्यक्रममा नगरस्तरीय अपाङ्गता समन्वय समिति रत्ननगरका उपाध्यक्ष नम्रदा अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बौद्धिक अपाङ्गता इकाइ नेपाल माविका शिक्षिका गीता अधिकारी, बौद्धिक अपाङ्गता अभिभावक संघका ऋषिराम लामिछाने, नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाका सभापति गोविन्द श्रेष्ठलगायतले रत्ननगर नगरपालिकामा अपाङ्गमैत्री संरचना नभएकाले अपाङ्गता भएका व्यक्तिहरुलाई कार्यक्रम र सेवा लिँदा कठिनाइँ भएको बताए ।
कार्यक्रममा रत्ननगर नगरपालिकाका नगरशिक्षा अधिकारी नारायणप्रसाद वाग्ले, स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेल, प्रेस संयोजक केशव भट्टराई, महिला विकास अधिकृत रन्जना ढकाल, वडा समन्वय समितिका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker