रत्ननगरमा नागरिकता सम्बन्धि विद्यमान ऐन कानुन बिषयक अभिमुखिकरण कार्यक्रम

रत्ननगर । रत्ननगर नगरपालिका विधायन समितिको आयोजनामा १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य एवं वडा सचिवहरुका लागि नागरिकतासम्बन्धी विद्यमान ऐन, कानुन विषयक अभिमुखीकरण’ कार्यक्रम रत्ननगर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

विधायन समितिका संयोजक एवं रत्ननगर–६ का वडाध्यक्ष किरण चौधरीको अध्यक्षता एवं नगरप्रमुख प्रलाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा न्यायिक समितिका अध्यक्ष एवं उपप्रमुख यादवप्रसाद पाठकले ऐन, कानुनहरु समय–समयमा परिवर्तन हुँदै जाने भएकाले अद्यावधिक गर्न र नागरिकता ऐनका विषयमा जटिलता चिर्दै व्यवहारमा पर्ने गरेका समस्याहरु सुल्झाउन अभिमुखीकरण अत्यावश्यक रहेको बताए ।

ऐन, कानुनका विषयमा सचेत भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिँदै उनले जनप्रतिनिधिले पनि संशोधित ऐन, कानुन बुझेरमात्र सिफारिस गर्न आग्रह गरे ।विधायन समितिका सदस्य रमा भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रजिअ चिरञ्जीवी शर्माले नागरिकता ऐनका विषयमा प्रकाश पार्दै बंशजको आधारमा, जन्मको आधारमा, वैवाहिक स्थितिको आधारमा, नेपालमा बसोबास गरेका आधारमा, विदेशी महिलासँग बिहे गरेको आधारमा, विदेशी नागरिकसँग बिहे गरेका महिला, एनआरएन नागरिकता र आमाको नामबाट दिइने नागरिकताका विषयमा आफ्नो प्रस्तुति राखेका थिए ।

साथै, उनले सहभागीले राखेका नागरिकता बनाउँदा हुने कानुनी जटिलताका विषयमा राखेका सवालबारे आफ्नो सुझाव पेस गरेका थिए ।

साथै उनले नागरिकताका विषयमा सिफारिस गर्दा जन्मदर्ता, शैक्षिक योग्यता, तीनपुस्ते विवरण, पाँच जनाको मुचुल्का, सनाखत नपुगेको हकमा प्रजिअको सर्जिमिन मुचुल्का अनिवार्य रहेको बताए । कार्यक्रमको सहजीकरण न्यायिक समितिका सदस्य सचिव पिंका थापाले गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker