दोस्रो मेयर कपको उपाधि माडी नगरपालिकाले जित्यो 

रत्ननगर । चितवन अन्तरपालिका दोस्रो मेयर कप फुटबल प्रतियोगिताको उपाधि माडी नगरपालिकाले जितेको छ । घरेलु मैदानमा रत्ननगर नगरपालिकालाई १–० गोल अन्तरले पराजित गरी माडीले उपाधि रक्षा गरेको हो । माडीलाई उपाधि जिताउन सो नगरपालिकाको खेलाडी रितेश क्षेत्रीले निर्णायक एक गोल गरेका थिए । गतबर्ष भएको प्रथम मेयर कपमा रत्ननगरसंग फाइनलमा पराजित भएको माडीले शनिबार सम्पन्न दोस्रो मेयर कपको उपाधि जित्न सफल भएको हो ।

उपाधि जित्न सफल माडीले १ लाख ५१ हजार १११ सहित शिल्ड र मेडल प्राप्त गरेको छ भने प्रतियोगितामा उपविजेता बनेको आयोजक रत्ननगरले १ लाख १ हजार १११ रूयैया सहित शिल्ड र मेडल प्राप्त गरेको छ । फाइनल खेलमा म्यान अफ दी म्याच माडीमा रितेश क्षेत्री भएका छन् भने प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी रत्ननगरका तेजेन्द्र चौधरी घोषित भएका छन् ।

प्रतियोगितामा विजेता र उपविजेता टिमलाई रत्ननगरका मेयर प्रलाद सापकोटा, माडी नगरपालिकाकी मेयर ताराकाजी महतो, रत्ननगरका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र खेलकुद विकास समितिका अध्यक्ष कृष्ण चौधरीले पुरस्कार हस्तान्तरण गरेका थिए । सो अबसरमा रत्ननगरका मेयर सापकोटाले अर्को बर्ष हुने तेस्रो मेयर कप प्रदेश स्तरीय गर्ने घोषणा गरे । बागमती प्रदेशका अन्य नगरपालिका समेत समावेश गरी प्रदेश स्तरीय प्रतियोगिता गरिने उनको भनाई छ ।

समापन कार्यक्रममा माडी नगरपालिकाकी मेयर महतोले मेयर कप फुटबल प्रतियोगितामा जिल्लाका पालिकाहरु बीच अन्तर सम्बन्ध स्थापित गरेको बताइन् । प्रमुख प्रशासकीय अधिकृत सुवेदीले खेलकुदको माध्यमबाट पालिकाबीचको सम्बन्ध र सहकार्य बढाउन प्रतियोगिता आयोजना गरिएको बताए । रत्ननगर नगरपालिकाले टाँडी स्थित नेपाल माविको खेलमैदानमा आयोजना गरेको प्रतियोगितामा चितवनका सात वटै पालिकाले सहभागिता जनाएको खेलकुद विकास समितिका सह संयोजक सौगात भूजेलले जानकारी दिए । समितिका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रम शिक्षा अधिकृत राजेन्द्र बरालले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker