सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता ऐन/कानुनसम्बन्धी अभिमुखीकरण

रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाको आयोजनामा दुईदिने सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता ऐन/कानुनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरू भएको छ ।

रत्ननगर नगरपालिकाका १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख एवं कर्मचारीको सहभागिता रहेको कार्यक्रममा जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, बसाइँ सराई, मृत्यु दर्ता, न्यायिक मृत्यु दर्ता, अदालती विवाह दर्ता, धर्मपुत्र–पुत्री राख्ने व्यवस्था, सामाजिक सुरक्षालगायतका विषयमा विद्यमान ऐन, कानुन र मुलुकी अपराध संहिता २०७४ ले व्यवस्था गरेको कानुनसम्बन्धी प्रशिक्षण दिइएको थियो ।

सामाजिक विकास समितिका संयोजक एवं वडा नं–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रम संयोजक सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका प्रमुख रामप्रसाद बस्ताकोटीले सहजीकरण गरेका थिए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग काठमाडौँका सिनियर सफ्टवेयर डेभलपर सन्जित पौडेलले प्रशिक्षणका क्रममा पञ्जिकरणसम्बन्धी सिफारिस वा प्रमाणीकरण गर्दा विद्यमान ऐन, कानुन र कार्यविधि संहिताको पालना गर्न र कानुनसम्बन्धी जानकारी लिएर मात्र गर्नुपर्ने बताए । नागरिकता सम्बन्धि विद्यमान समस्या र नयाँ ऐन कानुनका बिषयमा सहजीकरण सहितको प्रशिक्षण जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले गरेका हुन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker