युवालाई वन डढेलो नियन्त्रण तथा प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण

रत्ननगर । मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने युवाहरुलाई शुक्रबार वन डढेलो नियन्त्रण र प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण दिइएको छ ।

मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति अन्तर्गत समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीले आयोजना गरेको कार्यक्रममा डढेलो लाग्नुको कारण, नियन्त्रणको उपाय र विभिन्न खालका दुर्घटनामा परेकाको जीवन रक्षाको लागि गरिने प्राथमिक उपचारको विषयमा प्रशिक्षण दिइएको थियो । अभियानका अध्यक्ष वसन्त रानाले वन डढेलो नियन्त्रण, घरमा हुने आगलानी नियन्त्रण तथा दुर्घटनामा तत्काल गर्न सकिने प्राथमिक उपचारका बारे युवाहरुलाई प्रशिक्षण दिन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि वडा नं ९ का वडाधयक्ष अनन्त अधिकारीले वन तथा वन्यजन्तु संरक्षणको दृष्टिकोणले वन डढेलो नियन्त्रण महत्वपूर्ण पाटो रहेको बताए । कार्यक्रममा चितवन निकुञ्जका सौराहा सेक्टर प्रमुख शान्तबहादुर मगरले मानविय कारणले वनमा आगलागी हुने भन्दै त्यसले वन, वनस्पती र वन्यजन्तुुमा सत प्रतिशत असर गर्ने बताए । मृगकुञ्जका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले मानिसको कमजोरीका कारण डढेलो लाग्ने भन्दै त्यसले वन तथा वन्यजन्तुमा ठुलो नोक्सानी गर्ने बताए । उनले संरक्षणकर्मीहरुले डढेलो नियन्त्रणका उपाय सिक्नु पर्ने अनिबार्य सर्त रहेको बताए ।

वन डढेलो सम्बन्धी सरोज अधिकारी, प्राथमिक उपचार सम्बन्धी निशा मगर तथा समग्रमा अभियानका अध्यक्ष रानाले सहजीकरण गरेका थिए । करिब १०० जना सहभागी सो कार्यक्रममा शैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिएको थियो । अभियानका अध्यक्ष रानाको अध्यक्षमा भएको कार्यक्रममा राष्ट्रिय प्रकुति संरक्षण कोष सौराहाका रेन्जर ऋषिराम सुवेदी, टिकौली मध्यवर्ती सामुदायिक वनकी सचिव शान्ति रिजाल लगायतले मन्तव्य राखेका थिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति, टिकौली मध्यवर्ती सामुदायिक वनको सहयोगमा आयोजना गरिएको कार्यक्रम समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियानकी उपाध्यक्ष सीता रिजालले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम सचिव सरस्वती सेढाईले सञ्चालन गरेकी थिइन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker