इण्डो–नेपाल टी–२०ः दुवै भारतीय टोली लखनउ र कोलकता सेमीफाइनलमा प्रवेश

चितवन, चैत १३–

चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा मंगलबार लगातार जित निकाल्दै भारतीय टोली पीएसआर ग्रुप लखनउ र तलाताला कोलकता सेमीफाइनलमा प्रवेश गरेका छन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा बागमती प्रदेश माथि कोलकताले ३ रनको रोमाञ्चक जित हात पा¥यो । कोलकताले दिएको १७३ रनको लक्ष्य पछ्याएको बागमती ६ विकेटको क्षतिामा १६९ रन मात्रै बनाउन सकेपछि ३ रनको झिनो हार व्योहर्न बाध्य भयो । बागमतीका लागि उत्तम थापा मगरले ५१ बलमा ६२ रनको अर्धशतकीय पारी खेलेपनि जितका लागि प्रयाप्त भएन । रविन जोशीले ३० रनको योगदान दिए ।
कोलकताका लागि शौरभ यादवले ४ ओभरमा ४१ रन खर्चिदै ३ विकेट लिए भने प्रशान्त श्रीवास्तवले ४ ओभरमा ३१ रन खर्चिदै एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कोलकताले ७ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । कोलकताका लागि सन्दीप गुप्ताले ४६ बलमा ७१ रनको अर्धशतकीय पारी खेले भने रमन कदायनले ३३ रन बनाए ।
बागमतीका लागि इशान पाण्डेले ४ ओभरमा ३१ रन खर्चिदै ३ विकेट लिए भने मनोज यादवले ४ ओभरमा ४३ रन खर्चिदै २ विकेट लिए । यस खेलमा कोलकताका सन्दीप गुप्ता प्लेयर अफ दि म्याच घोषित भए ।
यस्तै आजै भएको दोस्रो खेलमा भारतीय टोली पीएसआर ग्रुप लखनउले मधेश प्रदेशलाई ४७ रनले पराजित ग¥यो । लखनउले दिएको २२२ रनको विशाल लक्ष्य पछ्याएको मधेश प्रदेश ९ विकेटको क्षतिामा १७४ रन मात्रै बनाउन सक्यो । मधेशका लागि राहुल मण्डलले ३२ बलमा ४७ रन बनाए भने विशाल सुशलिङले ३५ बलमा ४१ रन बनाए ।
लखनउका लागि मोहम्मद सरिम र प्रिन्स शाहीले समान ४ विकेट लिए । सरिम र शाही दुवैले ४ ओभरमा २७ रन नै खर्चिएका थिए । अर्पित शुक्लाले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको लखनउले ६ विकेटको क्षतिामा २२१ रनको विशाल योगफल तयार पारेको थियो । जारी प्रतियोगितामा लखनउले बनाएको यौ नै ठूलो योगफल हो । यसअघि पनि लखनउले भरतपुर मेयर्स ११ विरुद्ध २११ रन बनाएको थियो ।
आजको जितसंगै लखनउ र कोलकताले सेमीफाइनल स्थान सुरक्षित गरेका छन् । जारी प्रतियोगितामा लखनउले ४ खेलमा शतप्रतिशत जित निकाल्दै ८ अंकका साथ शीर्ष स्थानमा कायमै रहँदै सेमीफाइनल यात्रा तय गरेको हो । लखनउलाई पछ्याउँदै कोलकताले पनि ३ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंकका दुई खेल अगावै सेमीफाइनल यात्रा सुनिश्चित गरेको छ । प्रतियोगितामा लखनउ र कोलकताबीचको खेलको विजेता शीर्षस्थानमा रहने छ । प्रतियोगितामा शीर्ष चार भित्रमा रहने टोली सेमीफाइनल यात्रा तय गर्नेछन् । अब सेमीफाइनल दौडमा सुदूरपश्चिम प्रदेश, मधेश प्रदेश र घरेलु टोली भरतपुर मेयर्स ११ रहेका छन् । सुदूरपश्चिम ३ खेलमा २ जित र एक हारका साथ ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ भने मधेश प्रदेश ४ खेलमा १ जित र ३ हार ब्योहोर्दै २ अंकका साथ चौथो स्थानमा रहेको छ । घरेलु टोली भरतपुरको पनि समान अंक रहने पनि नेटरनरेटले पछि पर्दै पाचौं स्थानमा रहेको छ । बागमती प्रदेश भने चार खेलमै पराजित हुँदै अंकविहीन अवस्थामा पुछारमा रहेको छ । आजको हारसंगै बागमती सेमीफाइनल समिकरणबाट बाहिरिएको छ । प्रतियोगिताको फाइनल खेल चैत १७ गते हुनेछ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker