यसपटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ ः प्रधानमन्त्री प्रचण्ड

ऋषि धमला हजारमा एक होईन, लाखौंमा एक पत्रकार हो ः ओली

भीमसेनदास, सुरेन्द्र केसी, सुन्दरमणि दिक्षितदेखि प्रभु साहसम्म कसले के भने ?
काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् । उनले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितका दलसँग गरेको सहकार्यलाई संकेत गर्दै यस्तो भनेका हुन् ।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले सकेसम्म देश र जनताको हितको लागि सबै दललाई विश्वासमा लिएर राष्ट्रिय सहमति कायम गर्नको लागि भूमिका खेलेको पनि दाहालको दाबी छ ।
उनले भने,‘म रिपोर्टर्स क्लबलाई बधाई भन्न चाहन्ुछ । अझ धेरै सफलताको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु । अघि यहाँ ऋषिजीले स्वागत मन्तव्य राख्दै गर्दा चाहिनेभन्दा बढि भन्नुभयोजस्ता पनि लाग्ने, कतिपय बेला ठीकै भन्नुभयो होला भनेजस्तो पनि लाग्ने । संघर्ष गर्दै क्लब राष्ट्रियस्तरमा नै स्थापित भयो । उहाँले बोल्दाबोल्दै मलाई शान्ति प्रक्रिया टुँगो लगाउन एकातिर ओली र अर्कोतिर देउवा राखेर सहमति बनाउन भन्नुभयो नभन्दै यहाँबाट गएर आजै साढे ५ बजे तीनै जना हामी एक ठाउँमा बस्दैछौं । मेरो कोशिस सकेसम्म सबै दललाई एक ठाउँमा ल्याएर सहमति बनाउनु नै हो ।’
उनले कतिपय अवस्थामा आफू एमालेसँग नजिक हुँदा कांग्रेसजनलाई र कांग्रेससँग नजिक हुँदा एमालेका साथीहरुलाई नमिठो लागेको पनि यथार्थ सुनाए । उनले भने,‘तर, हामीले भन्ने गरेको बिग ६, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष यसरी हेर्यो भने मलाई चाहीँ गर्व छ । यसले के देखाउँछ भने राष्ट्रिय सहमतिको वातावरण बनाउने नै काम गरेका छौं । पत्रकार साथीहरुलाई म राष्ट्रिय सहमतिको वातावरण बनाउनको लागि आग्रह गर्दछु ।’
प्रधानमन्त्री दाहालले मुलुकलाई चाहिएको सुशासन र समृद्धिको लागि त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरे । उनले भने,‘अब सुशासन र विकासको लागि राष्ट्रिय सहमति चाहिएको छ । मैले गएको वर्षदेखि लगातार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही न केही मानक स्थापित गर्ने कोशिस गरेको छु, अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतको आवश्यकत्ता सम्बोधन गर्ने कोशिस गरेको छ् । अहिले नयाँ शीराबाट त्यो प्रयासलाई अघि बढाउँदैछौं । मेरो प्रयासलाई सबैले सकारात्मक रुपमा लिएको हेरेको छु ।’
उनले विभिन्न राजनीतकि घट्नाक्रममा क्लब साझा मञ्च बनेको बताए । उनले भने,‘क्लब बास्तवमा सबै नागरिकको साझा मञ्चजस्तै भएको छ ।’
सो अवसरमा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा फेरबदल ल्याउने घोषणा गरे । उनले भने,‘मैले बजेट निर्माणको प्रक्रियामा फेरबदल ल्याएर देश र जनताको हितमा केन्द्रित गर्ने भनेको छु । योपटक बजेट नयाँ तरिकाले तयारी गरिँदैछ । यसपटकको बजेटले तीन करोडभन्दा तलको आयोजनामा हात नहाल्ने भनेका छौं । यो पटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ ।’
ऋषि धमला हजारमा एक होईन, लाखौंमा एक पत्रकार हो ः ओली
काठमाडौं, १७ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले पत्रकार धमला हजारमा मात्रै नभएर लाखौंमा एक भएको भन्दै प्रशंसा गरे ।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘रिपोर्टर्स क्लब नेपालले पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा क्लबले अझ धेरै ठूला ठूला योगदान पुर्याउन सकोस भनेर हार्दिक शुभकामना भन्न चाहन्छु ।’


सम्बोधनको क्रममा ओलीले पत्रकार धमला प्रशंसा गर्ने कुरामा दानवीर भएको पनि सुनाए । उनले थपे,‘ऋषिजी अरू कुरामा कुन्नि, प्रशंसा गर्ने कुरामा यति दानवीर हुनुहुन्छ । मभन्दा अगाडि बोल्ने वक्ताहरुको प्रशंसा, म आएपछि पनि मैले पनि सुनें । यो एउटा उहाँको विशेषता हो । किन कञ्जुस हुने ? खर्च हुँदैन्, केही हुँदैन् । म पनि ऋषिजीको प्रशंसा गर्न चाहन्छु–उहाँ हजारमा एक होईन लाखौंमा एक पत्रकार हो । उहाँले पैसा भएर क्ल्ब खोलेको होईन नभईकन खोलेको हो । साथीहरुको समूह भएर खोलेको होईन । भएको भनेको क्षमतामात्रै हो । आँट र आत्मविश्वासले काम गरेको पत्रकार हो–ऋीष धमला हो ।’


उनले क्लबले र यसका नेतृत्व ऋषि धमलाले देशको लागि ठूलो योगदान पुर्याएको स्मरण गराए । उनले भने,‘बास्तवमा ऋषि धमलाले योगदान पुर्याएको छ । माओवादी द्धन्द्धका बेला, द्धन्द्धकारी र राज्य, सहमत र असहमतका पक्षलाई एउटा फोरम उपलब्ध गराउने आँट ऋषि धमलाले गरेकै हो । भूमिगतलाई पनि उहाँले क्लबमा ल्याएको हो । ऋषि धमलाले क्लबलाई सबैको विचारको साझा प्लेटफर्मको रुपमा विकास गरेकै हो । मान्छेलाई मर्का परेको बेला, ब्ल्याकमेल गर्नुपर्यो भने कहिले कहिले मान्छे रिपोर्टर्स क्लब जाऔं भन्छ । ऋषि धमलामा खासियत छ । विशेषता छ । त्यसैकारण आज ऋषि धमला ऋषि धमालको रूपमा छ । धमलाको हमला साँच्चै हुन्छ । म हिजो राति मिटिङमा थिएँ । १२ बजे राति ऋषि धमला टुपुल्लकै । भोलि आउनैपर्छ भन्नुभयो, बास्तवमा गेट क्र्यास भन्छ नि । आउँछु नभनेसम्म उठ्दै नउठ्ने । धमलाको हमला साँच्चैकै हुन्छ । यो हमला रातको १२ बजेपनि हुन्छ । यहाँ नआएसम्म कहाँ आईपुगियो भनेर मान्छे लगाएको लगाए गर्नुभयो, जे होस–उहाँमा क्षमता छ । मै हुँ भन्नेलाई पनि घिसार्ने क्षमता छ ।’
सम्बोधनको क्रममा ओलीले तत्कालिन राजा ज्ञानेन्द्र शाहले गरेको माघ १९ गतेको कू’को बेलामा क्लबले खेलेको भूमिकाको पनि स्मरण गराए । उनले भने,‘तत्कालिन राजाले सुरुवाती असोज १८ र अन्तिममा माघ १९ गते कू गर्दा र प्रतिबन्ध लगाउँदा क्लब सशक्त फोरम थियो । हामीले त्यसलाई प्रयोग गरेकै हो । त्यतिवेला सजिलो थिएन । अप्ठ्यारै थियो । पत्रकारिताको धर्म– म कसैलाई केही भन्न चाहन्नँ । कतिपयले फाईदा र नोक्सान पनि हेरे । ऋषि धमलाले पत्रकारिताको धर्म रिस्क मोलेर निभाएको छ । मुख्य सञ्चालक, जहाजको क्याप्टेनको रुपमा ऋषि धमला नै हो । ऋषि धमलाबाहेक मलाई अर्को क्लबमा ऋषि थपलिया थाहा छ । क्लब भन्नेबित्तिकै भन्नुहोस–जनता जान्न चाहन्छ आईहाल्छ । यो संस्थाको परिकल्पना संरक्षण, सम्र्वद्धन र योगदानको कुरा गर्दा ऋषि धमलाको नेतृत्व र उहाँको प्रयास प्रशंसनीय छ । राम्रो पहल छ । म ऋषि धमलालाई बधाई भन्न चाहन्छु । थप सफलताको लागि शुभकामना भन्न चाहन्छु ।’
उनले क्लबद्धारा सम्मानित विभिन्न व्यक्तित्वहरुलाई पनि बधाई भने । उनले भने,‘आज थुप्रै मित्रहरु सम्मानित भएको थाहा पाएको छु । प्रोफेसर गान्धी पण्डित । गायक पनि । सबै सुयोग्य पात्रले सम्मान प्राप्त गर्नुभएको छ । उहाँहरुलाई बधाई भन्न चाहन्छु । अघि भनेजस्तै साँढे ५ बजे हाम्रो मिटिङ छ । मैले यहाँबाट विदा लिनु राम्रो हुन्छ । फेरि वरिष्ठ मान्छेले हामीलाई टेरेन भन्ने हुन्छ । क्लब फलोस र फुलोस । सकृति फैलिँदै जाओस । ऋषि धमलाको गुणगाण अझ ठूलो स्वरमा गर्न पाईयोस ।’
ऋषि धमला देशको प्रधानमन्त्री भन्दापनि जनताको रुचिको पात्र हुनुहुन्छ ः भीमसेनदास प्रधान


काठमाडौं, १७ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् । उनले क्लबका सभापति ऋषि धमला देशका नेताहरु र प्रधानमन्त्रीभन्दापनि जनताको रुचिको पात्र भएको भन्दै प्रशंसा गरे ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेता प्रधानले यस्तो बताएका हुन् । उनले भने,‘ऋषिजी निर्भिक पत्रकार हो । उहाँ मिसन तयार भएपछि त्यसमा पूरा गरेरै छाड्नुहुन्छ । उहाँले एकपटक चार जना प्रमुख अतिथि बनाउनुभएको थियो । लोकेन्द्रबहादुर चन्द पनि प्रमुख अतिथि, बाबुराम भट्टराई पनि प्रमुख अतिथि, गिरिजाबाबु पनि प्रमुख अतिथि, माधव नेपालपनि प्रमुख अतिथि । हामीले गिरिजाबाबुलाई नजान भन्यौं । तर, उहाँले कार्यक्रम गरेर छाड्नुभयो । उहाँमा अद्भुत क्षमता छ ।’
उनले नेपालको संविधान भारत, बेलायत र अमेरिकाभन्दा पनि राम्रो संविधान भएको भन्दै प्रशंसा गरे । तर, संसारकै उत्कृष्ट संविधान हुँदाहुँदैपनि जनतामा निराशा पैदा भएको भन्दै यसको समिक्षा हुनुपर्नेमा जोड दिए । उनले नेपालका नेता भ्रष्टाचारमा चुर्लुम्म डुबेको भनेर जनतामा मानसिकता स्थापित भएको देखिएको भन्दै यसबारे सोच्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले गिरिजाप्रसाद कोइरालाले भनेझैं सहमति, सहकार्य र एकताको सूत्रमा अघि बढाउनुपर्नेमा जोड दिए ।
रिपोर्टर्स क्लबले राज्यका तीनै अङ्गलाई महत्वपूर्ण सहयोग पुर्याएको छः पूर्व प्रधानन्यायाधीश कार्की
काठमाडौं, १७ चैत । पूर्व प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले रिपोर्टर्स क्लब नेपाल स्थापना कालदेखि नै आफू सँगसँगै रहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले क्लबले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैलाई सहयोग गरेको भन्दै प्रशंसा गरे । पूर्व प्रधानन्यायाधीश कार्कीले रिपोर्टर्स क्लब स्थापनाकाललाई स्मरण गराउँदै निकै संघर्ष गरेर यो स्थानमा आइपुगेको बताए ।


‘ऋषिजीले जुन बेलादेखि यो रिपोर्टर्स क्लब स्थापना गर्नुभएको थियो, स्थापना कालदेखि नै हामी सँगसँगै थियौं । उहाँको क्लब र मैले त्यसबेला सञ्चालन गरेको ल फर्म एउटै घरमा थियो । उहाँले निकै नै संघर्ष गर्दै आज यो ठाउँमा आइपुग्नु भएको छ । म उहाँलाई धेरै धेरै बधाइ दिन चाहन्छु,’– उनले भने ।
रिपोर्टर्स क्लबले नागरिकहरुको मौलिक हकहरुलाई स्थापित गर्न, अभिव्यक्ति स्वतन्त्रतालाई स्थापित गर्न र नागरिकका आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुलाई सुदृढ गराउने सन्दर्भमा महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।
आम जनतालाई नैराश्यताबाट बाहिर ल्याउनुपर्छ ः चन्द्र ढकाल
काठमाडौं, १७ चैत्र । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान हुने विश्वास दिलाएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नको लागि सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न्पर्नेमा जोड दिए ।
उनले भने,‘क्लब भन्नेबित्तिकै सञ्चार क्षेत्रमा धेरै नै पपुलर र अभिव्यक्ति आम जनतामा लैजानको लागि क्लबले भूमिका खेलेको छ । चाहे कोभिडको कारणबाट भनौं, रसिया–युक्रेनको युद्धबाट भनौं, अथवा हाम्रा कतिपय नीतिगत कुराहरुको कारणबाट भनौं अहिले ओभरल अर्थतन्त्र समस्यामा छ । संकुचित रुपमा रहेको छ । यसलाई बाहिर ल्याउन सकिन्छ ।’
उनले महासंघले अर्थतन्त्रलाई समस्याबाट बाहिर ल्याउनको लागि प्रयत्न गरिरहेको पनि सुनाए । उनले भने,‘कोभिडपछि पर्यटकहरुको आगमन बढेको छ । रेमिट्यान्स बढेको छ । फरेन करेन्सी रिजर्भ पनि बढेको छ । बैंकको लगानीयोग्य फण्ड पनि छ । आम जनतामा कन्फिडेन्स बढ्न सकेको छैन् । अब त्यो पनि बढाउनुपर्छ । विकास आयोजनाहरुको खर्च भएको कुराको पेमेन्ट पनि पाएको छैन् । यी सबै समस्या समाधान गर्नुपर्छ । छोटो समयमा आम जनतालाई नैराश्यताबाट बाहिर ल्याउन सकिन्छ । सकारात्मक सन्देश लिएर जानुपर्छ । सरकार र निजी क्षेत्रबीच सहकार्य राम्रो छ ।’
ऋषि धमलामा निजी स्वार्थ छैन, हामीलाई यस्तै नेता चाहिएको छ ः डा. सुन्दरमणि दिक्षित


काठमाडौं, १७ चैत्र । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले रिपोर्टर्स क्लब नेपाल सबै विचारलाई मञ्च प्रदान गर्ने साझा थलो भएको बताएका छन् ।
क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले क्लबले सबै विचारलाई सम्मान गरेको र सोहीअनुसार आफ्नो मञ्च प्रदान गरेको बताएका हुन् । उनले भने,‘ऋषिजी र मेरो सम्बन्ध २२ वर्ष भयो । क्लबले हामीलाई सेवा दिएको छ । खासगरी विभिन्न आन्दोलनको क्रममा हामीलाई क्लबले सहयोग गरेको छ । ऋषिजीले एकदमै नडराईकन माओवादीदेखि ज्ञानेन्द्रको शासनसम्मका आन्दोलनका क्रममा उहाँल्े हेल्प गर्नुभयो । क्लबले सहयोग नगरेको भए हाम्रो आवाज जनतामा पुग्दैन थियो ।’
दिक्षितले क्लब र यसका नेतृत्वकर्ता ऋषि धमलामा निजी स्वार्थ नभएको पनि स्पष्ट पारे । उनले भने,‘क्लबको निजी स्वार्थ थिएन । देश र जनताको मुद्दा उठायो । यो तटस्थ संस्था हो । ऋषि धमलाले हाम्रो हरेक आन्दोलनको स्टेपमा सहयोग गरेको हो । ऋषि धमलालाई मैले काम देखेर चिनेको हो । नेपालमा सायद यत्तिको काम गर्ने व्यक्ति मैले देखेको छैन् । विहान ५ बजे एफ.एम. मा पुगिसकेको हुन्छ । राति १२ बजेसम्म खट्छ । थोकेका देखिँदैन् । ऋषि धमला झण्डै मरेको पनि हो । नेपालगञ्जमा आगलागी हुँदा । विभिन्न रोग लागेको छ । तर, हेल्थ कन्सियन्स पनि हुनुहुन्छ । ऋषिजी आज्ञाकारी विरामी हुन ।’
दिक्षितले धमलाको प्रशंसा गर्दै क्लबको मञ्चबाट सबैको विचार फैलिन दिएको बताए । उनले भने,‘क्लब नेपालको एकदमै साझा मञ्च हो । आँधीबेहरी आउँछ । फेरि क्लबको भूमिका महत्वपूर्ण भएर आउँछ । आगामी दिनमा पनि हामीलाई साथ दिनेछन । यो मुलुकको सबैभन्दा बढि चिनिने व्यक्ति हो । कतिलाइृ मन नपर्ला तर सबैलाई चाहिने व्यक्ति हो । नेपालको लागि एकदमै । ऋषि धमलाजस्तो व्यक्ति नेपालीहरुको लागि चाहिन्छ ।’ उनले ऋषि धमलाजस्तै व्यक्ति राजनीतिमा चाहिएको पनि आवश्यकत्ता औंल्याए ।
अहिले सांसदहरु पार्टीका लंगौटी भए, देशमा लोकतन्त्र होईन लुटतन्त्र हाबी छ ः प्रभु साह


काठमाडौं, १७ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई संकटबाट बाहिर ल्याउन आफूहरु सक्षम रहेको बताएका छन् । उनले हिजो आन्दोलनको नेतृत्व गरेकाहरुले नै देशलाई लुटेर खोक्रो बनाएकोले देश अहिले संकटको भूमरीमा परेको भन्दै अब त्यसबाट देशलाई निकाल्नुपर्ने आवश्यकत्ता औंल्याए ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सो क्रममा उनले भने,‘क्लब र ऋषि धमला पर्यावाची नाम हो । उहाँले पुर्याएको योगदान धेरै नै छ, यसअघि पनि यहाँ मान्यजनबाट प्रशंसा र चर्चा भैसकेको छ । हिजो निरंकुशताको लडाईमा उहाँ दह«ो ढंगले लड्नुभयो । उहाँले बदलावको लागि गरेको योगदान प्रशंसनीय छ । गाउँमा जब कोही पीडामा हुन्छ, उनीहरु न्याय खोज्न क्लब आउने गरेका छन् । राज्यबाट सहारा नपाएकाहरुको लागि क्लब एउटा संरक्षण केन्द्र बनेको छ । बास्तवमा बदालवको नाम हो–क्लब र ऋषिजी । उहाँ विश्वासको अर्को नाम हो ।’
उनले क्लबले आन्दोलनको नेतृत्व गरेको पनि स्मरण गराए । उनले भने,‘जनआन्दोलन सफल भयो । अहिले पनि जनता लााचार छन् । जनता शासित छन् । नेताका आसेपासेको हालीमुहाली छ । देशमा लोकतन्त्र छ त ? यदि लोकतन्त्र छ भने जनताले किन आफूलाई मालिक महशुस गरेनन् ? म भन्छु अहिले देशमा पार्टीतन्त्र हाबी छ । ठूला नेताहरुले शासन गरेका छन् । निर्वाचित संस्थाको सुप्रिमेसी छ त ? पार्टीको सर्वोच्चता छ । चुनाव हुनु नै लोकतन्त्र हो भने पञ्चायतमा पनि चुनाव त भएकै थियो नि । पञ्चायतकालमा पञ्चेहरु राजाको लङ्गौटी थिए भने अहिले सांसदहरु पार्टीका लंगौटी भएका छन् । उहाँहरु पार्टीको आदेशमा हिँड्नुहुन्छ ।’
पूर्वमन्त्री साहले देश अहिले आर्थिक संकटमा परेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले देशमा पैसाको हाहाकार छ । उद्योग–धन्दा चौपट छ । ठूला–ठूला ओहोदाको व्यक्तिहरुले विदेशी नागरिकता लिएका छन् । अनि उनीहरुको सम्पत्ति खोई त ? नेपालीहरु त नेपालीहरुलाई लुटेर अमेरिका र बेलायत लगिरहेको छ । लैजानेलाई सरकारले नै झोलेको काम गरेको छ । के यसको लागि आन्दोलन गरेको हो ? ७० लाख मानिस श्रम स्विकृति लिएर गएका छन्, डेटा हेर्दा पनि देशमा उनीहरुबाट ५० खर्ब रेमिट्यान्स आउनुपर्ने होईन, अनि १४ खर्ब आउँदा हामी हर्षित छौं ।’
उनले भारत र चीनमा कर कम लिने तर विकास बढि हुने गरेको उदाहरण दिँदै नेपालमा भने भारत र चीनको भन्दा उल्टो काम भएको टिप्पणी गरे । उनले भने,‘यहाँ त कर बढि लिने अनि विकास खोइ त ? हिजो मिडिया आन्दोलनको लागि सारथी थियो, तर आज मिडिया नेताको पार्टनर भएका छन् । लुट्ने भएका छन् ।’
उनले नेपालभित्र लिडरसिपको खडेरी देखिएको टिप्पणी गरे । उनले भने,‘आज नेता नेताको स्तरमा देखिएन । सरकारी बजेट भागबण्डा हुन्छ । यो देशको सम्पत्ति नेताहरुको निजी सम्पत्ति हो र ? अन्त्यमा इतिहासमा ऋषि धमलाले जसरी आफ्नो भूमिका निर्वाह गर्नुभयो, अब मिडिया जनताको साहारा हुनुपर्छ । देशमा संकट बढेको छ । हामी समाधान गर्न सक्छौं । विश्वासको जरुरी छ । ऋषि धमलाले भोलिको दिनमा हिजोको विरासतलाई कायम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’
यो देशलाई अझै दुई÷चार जना ऋषि धमला चाहिएको छ ः अब्दुल खाँन


काठमाडौं, १७ चैत्र । जनमत पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खाँनले अहिले देशको राजनीतिक दल, यहाँका नेताहरुभन्दा र राजनीतिक विश्लेषकहरुभन्दा बढि रिपोर्टर्स क्लबलाई जनताले महत्वपूर्ण रुपमा हेरेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले भने,‘मिटरब्याज पीडितलाई पनि ऋषिजीले स्थान दिनुभयो । उहाँले असहाय, निमुखाहरुको आवाजको रुपमा क्लबलाई उभ्याउनुभएको छ । रिपोर्टर्स क्लबले राजनीतिक रुपमा मात्रै विश्लेषण र साक्षात्कारमात्रै गरेको छैन्, सबै पक्षलाई स्थान दिएको छ । पीडितको मनभित्रको पीडालाई उजागर गरेको छ । बास्तवमा ऋषि धमलाजस्तो व्यक्ति यो देशमा अझै जन्मिनुपर्नेछ । मुलुकलाई सही ट्रयाकमा ल्याउनको लागि पनि अझै दुई÷चार जना ऋषि धमला चाहिएको छ ।’
लोकतान्त्रिक आन्दोलनमा रिपोर्टर्स क्लब र ऋषि धमलाको ठूलो योगदान छ ः मनिष सुमन


काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टीका प्रभावशाली नेता मनिष सुमनले नेपालको लोकतान्त्रिक आन्दोलनमा रिपोर्टर्स क्लब र यसका नेतृत्व ऋषि धमलाको ठूलो योगदान रहेको स्मरण गराएका छन् ।
क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेता सुमनले यस्तो बताएका हुन् । उनले क्लबले सबै विचार र समूहलाई उत्तिकै स्थान दिएको पनि स्मरण गराए । उनले भने,‘ऋषिजीसँग मेरो २८ वर्ष पूरानो सम्बन्ध हो । ऋषि धमलो नेपालीहरुको ओठे बोली बनिसक्नुभयो । विहानै उठ्दा रेडियोमा बोल्ने व्यक्ति पनि ऋषि धमला अनि राति अबेरसम्म टिभीमा कार्यक्रम चलाउने पनि उहाँ नै । ऋषि धमला कर्मठ व्यक्ति हो । उहाँको थुप्रै आलोचना हुन्छ । हजारौं हजार नेता तथा कार्यकर्तालाई प्लेटफर्म दिनुभयो । क्लब सबैको साझा थले हो ।’
उनले लोकतान्त्रिक आन्दोलनमा लडेकाहरु आज २६औं वार्षिकोत्सव समारोहमा समेत सहभागी हुन पाएको भन्दै यसलाई उनले भाग्यले बाँचेकाहरुको भेटको रुपमा चित्रण गराए । उनले भने,‘हो, आज हामी भाग्यले बाँचेकाहरुले ऋषि धमलालाई बिर्सिनुभएन । मनिष सुमनको चिनारीको पछि क्लब र ऋषिजीको योगदान छ । देशमा संसद् नहुँदा यसले मिनि संसद्को भूमिका निर्वाह गरेको हो । लोकतान्त्रिक आन्दोलनमा ऋषि धमलाले योगदान गर्नुभयो । मधेश आन्दोलनको बेलामा काठमाडौंको वैमनश्यता व्यवहार सुधार गर्ने व्यक्ति ऋषि धमला नै हो । आँखा देखाईदिने व्यक्ति पनि उहाँ नै हो । क्लबलाई यो उचाईंमा पुर्याउनुभयो । उहाँ चुनाव लड्नुभयो भने सबै निर्वाचन क्षेत्रबाट जितेर देखाईदिनुहुन्छ ।’
मैले ऋषि धमलामा ओपननेस र कन्फिडेन्स पाएको छु, क्लब साझा मञ्च ः प्रकाशचन्द्र लोहनी ः


काठमाडौं, १७ चैत्र । राप्रपाका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले रिपोर्टर्स क्लब नेपालले सबै विचारलाई सम्मान गरेको र आफ्नो मञ्च प्रयोग गर्न दिएको भन्दै प्रशंसा गरेका छन् ।
क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै डा. लोहनीले भने–‘ऋषिजीलाई मैले चिनेको दुई दशक भयो । मैले उहाँलाई सधैं सक्रिय र सकारात्मक सोच भएको व्यक्ति पाएँ । उहाँका कार्यक्रममा आउँदाखेरि ऋषिजीले कहिल्यैपनि पक्ष वा विपक्ष गर्नुभएन । भागबण्डा गर्नुभएन । पीडितहरुलाई फोरम दिनुभयो । प्रजातन्त्रमा आफ्नो मनमा लागेको कुरा निर्भिक रुपमा बोल्न पाउनु ठूलो कुरा हो । त्यो फोरम उहाँले उपलब्ध गराउनुभएको हो ।’
लोहनीले पत्रकार धमलाको प्रश्न सोध्ने तरिकाको पनि प्रशंसा गरे । उनले भने,‘उहाँले प्रश्न सोधेर कर्याप्प पार्नुहुन्छ । अरुले आलोचना गर्दा उदार मनले स्विकार गर्नुहुन्छ । प्रश्न सोध्न गाह«ो नमान्ने व्यक्ति हो । मैले उहाँमा ओपननेस र कन्फिडेन्स पाएको छु । लोकतन्त्रलाई सुदृढीकरण गर्न र सार्वजनिक विषयलाई बहसमा ल्याउनको लागि उहाँको भूमिका प्रशंसनीय छ । यो संस्थाले गोल्डेन जुविली मनाउने अवसर पाओस ।’
वरिष्ठ पत्रकार हरिहर बिरहीद्धारा क्लबको भूमिकाको प्रशंसा

काठमाडौं, १७ चैत्र । वरिष्ठ पत्रकार हरिहर विरहीले रिपोर्टर्स क्लबले देश र जनताको मुद्दालाई प्राथमिकतामा राखेर आफ्नो भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका छन् ।
क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘क्लब र ऋषि धमलालाई ऐतिहासिक सफलताको शुभकामना दिन्छु । क्लब भन्नेबित्तिकै यो मेरो क्लब नै हो भन्ने लाग्छ । क्लब सबैको लागि चाहिने थलो बनेको छ । ऋषिजीले देश र जनताको प्राथमिकतालाई स्थान दिनुभयो । उहाँले अकल्पनीय काम गर्नुभयो । व्यक्तित्व, क्षमता र लोकप्रियताको बारेमा मैले प्रकाश पार्नुपर्दैन् । यहाँ अघि सुन्दरमणि दिक्षित र मनिष सुमनले भनिसक्नुभयो । क्लब अहिले साझा मञ्च भएको छ । लोकतन्त्रको हत्या भएको बेलामा लोकतन्त्र स्थापित गर्नको लागि क्लबले भूमिका खेलेको छ। राष्ट्रिय एकता र सहमतिको वातावरण कायम गर्नको लागि क्लबले भूमिका खेलेको छ । आगामी दिनमा यसले अझै सशक्त र प्रभावकारी भूमिका खेलोस । उत्तरोत्तर प्रगतिको शुभकामना भन्न चाहन्छु ।’
देशको विकास र समृद्धिको लागि समाजवादी मोडेल बनाउन दलहरुबीच राष्ट्रिय सहमति गर्नुपर्छ ः जगन्नाथ खतिवडा


काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले देशको विकासको लागि राष्ट्रिय सहमति कायम गरिनुपर्नेमा जोड दिएको छ । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई अतिथिको रुपमा सम्बोधन गर्दै नेता खतिवडाले यस्तो बताएका हुन् ।
उनले भने,‘आज नेपालको भू–राजनीतिक परिवेश अत्यन्तै संवेदनशील छ । हामीले राष्ट्रिय हित र विकासका एजेण्डा तय गर्नुपर्छ । नेपालको विकासको नयाँ मोडेल खासगरी समाजवादी मोडेलको बारेमा राष्ट्रिय सहमति गर्नुपर्छ । यदि यसो गर्न सकिएन भने देशले राजनीतिक स्थायित्व हाँसिल गर्न सक्दैन् ।’ उनले क्लबको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझै आफ्नो भूमिकामा खरो उत्रिनको लागि यसको नेतृत्वकर्ता ऋषि धमलालाई शुभकामना दिए ।
रिपोर्टर्स क्लबले मधेश आन्दोलनको बेलामा पनि हाम्रो आवाज बुलन्द गर्यो ः जितेन्द्र सोनल


काठमाडौं, १७ चैत्र । लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलले रिपोर्टर्स क्लब नेपालले देशको संविधान र व्यवस्थाको पक्षमा आगामी दिनमा अझै सशक्त भूमिका निर्वाह गरोस भन्ने शुभकामना दिएका छन् ।
क्लबको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘क्लबले विभिन्न आन्दोलनमा संगठित रुपमा जनताको आवाज बनेर भूमिका खेलेको छ । ऋषिजीले जसरी नेतृत्व गर्नुभयो, उहाँलाई म धेरै–धेरै धन्यवाद दिन चाहन्छु । २६औं वर्ष क्लबको सफलता जसरी भयो, आगामी दिनमा राम्रो भूमिका खेलोस । अब आगामी दिनमा देशको संघीयता, गणतन्त्र, लोकतन्त्रको पक्षमा पनि काम गरोस भन्ने शुभकामना दिन चाहन्छु ।’
ऋषि धमलाले आफूहरुले गरेको मधेश आन्दोलनको बेलामा पनि मिडियामार्फत आफ्नो कुराहरुलाई स्थान दिएको सोनलले स्मरण गराए । उनले भने,‘एउटा आन्दोलनकारी र उपेक्षितको तर्फबाट म ऋषि धमलाजीलाई साधुवाद भन्न चाहन्छु ।’
प्रधानमन्त्री प्रचण्डलाई राजनेतको संज्ञा दिँदै ऋषि धमलाले भने–अब चारै वर्ष प्रधानमन्त्री बन्नुहोस, असम्भव छैन्


काठमाडौं, १७ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले आफूले देशको परिवर्तनको हरेक आन्दोलनमा साथ र सहयोग गरेको भन्दै अब देश समृद्धिको एजेण्डा बोकेर पत्रकारितालाई अघि बढाएको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभापति धमलाले यस्तो बताएका हुन् । उनले भने,‘आज रिपोर्टर्स क्लब नेपालले २६ वर्षको यो यात्राको दौरानमा धेरै आरोहअवरोह भोग्यो । सञ्चार क्षेत्रको समस्या समाधान गर्न भूमिका खेलेको छ । देशको हरेक परिवर्तनमा हामीले साथ दिएका छौं । अहिले प्रधानमन्त्रीज्यूलाई पनि हाम्रो साथ र सहयोग छ । यो देशको व्यवस्था परिवर्तनको लागि मिडियाले साथ दिएको हो । यो देशको सञ्चार क्षेत्र परिवर्तनको पक्षमा छन् ।’
पत्रकार धमलाले आफू अहिले शक्तिशाली विभिन्न पाँच वटा मिडियाको सञ्चालकको रूपमा रहेको स्मरण गराए । उनले भने,‘हाम्रो प्रधानमन्त्रीज्यूले उथलपुथल भनेको विकासको लागि हो। बास्तवमा प्रचण्ड हृदय सफा भएको व्यक्ति हो । सबैलाई समेटेर लैजाने नेता हो । १२ बुँदे सम्झौता हुँदै विस्तृत शान्ति सम्झौताको कुरा गर्दा अब यहाँले शान्ति प्रक्रियालाई निश्कर्ष पुर्याउनको लागि भूमिका खेल्नुपर्नेछ । टिआरसी विद्येयक सर्वसम्मत् रुपमा पास गर्नुहोस । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई साथमै राखेर गर्नुहोस । हुन त यो चूनौतिपूर्ण कार्य पनि हो । हामीले राम्रो काम गर्नेलाई प्रशंसा गरौं । देश बनाऔं । सुशासनको प्रत्याभुति दिऔं ।’
उनले रिपोर्टर्स क्लब नेपाल संसद् नहुँदाको संसद् भएको स्मरण गराए । उनले भने,‘सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईं हिम्मत नहार्नुहोस । तपाईं सर्वसम्म्त विश्वासको मत पाएको व्यक्ति पनि हो । तपाईं बाँकी चार वर्ष प्रधानमन्त्री बन्नुहोस र देश विकास गरौं । प्रधानमन्त्री किन परिवर्तन गर्ने ? प्रचण्डले पाँचै वर्ष काम गर्नुपर्छ । असम्भव भन्ने छैन् ।’ सो क्रमममा उनले प्रधानमन्त्री दाहालसमक्ष देश विकासको लागि चाहिने भीजन र विकासको मोडेल सार्वजनिक गर्न आग्रह गरे ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker