मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेस बागमतीको निर्देशन

हेटौंडा, १८ चैत/नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आईतबार काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
बैठकले नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता जमकट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकोमा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट राजिनामा दिई बाहिरिएको र प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकोले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दललाई निर्देशन दिएको कांग्रेस बागमती प्रदेशका मुख्यसचिव राजु नेपालले जानकारी दिनुभयो ।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जमकट्टेलले भोली चैत १९ गते विश्वासको मत लिन लिने कार्यक्रम छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
बागमतीको १ सय १० सदस्यीय प्रदेशसभामा जमकट्टेलले ५६ मत जुटाएमा उनी मुख्यमन्त्रीमा कायम रहनेछन् । बागमतीमा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपा १३, एकीकृत समाजवादीको ७, नेमकिपा ३ र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker