सहकारी देखिएको समस्या समधानको गर्न जिल्ला सहकारी संघ चितवनले अगुवाई गर्नुपर्छ : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सहकारी देखिएको समस्या समधानको लागि चितवन जिल्ला सहकारी संघले अगुवाई गर्नुपर्ने बताउनुभएको छ । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न भरतपुर महागनर पनि सकारात्मक रहेको उल्लेख गर्नुभयो ।
सहकारीको जननी जिल्ला चितवन र भरतपुर १९ साविकको बखानपुर भएकाले यहाँबाट देशलाई सुशासनको सन्देश दिनुपर्ने प्रमुख दाहालले बताउनुभयो ।


हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो ।
महानगरपालिकाले यहाँ रहेका ३ सय ६३ वटा सहकारीलाई व्यवस्थित गर्न मर्जरको प्रकृयालाई अगाडि बढाएको उहाँले बताउनुभयो ।


सहकारीलाई नियमन गर्ने विषयमा स्थानीय निकायलाई सिमित अधिकार दिइएकाले पूर्ण रुपमा नियमन गर्न नसकिएको प्रमुख दाहालले बताउनुभयो ।
महानगरपालिकाले सहकारी क्षेत्रको विकास गर्न वर्षेनी ठुलो बजेट विनियोजन गर्ने गरेको प्रमुख दाहालले बताउनुभयो ।
महानगरपालिकाले  विषेश गरी उत्पादनमूलक क्षेत्रमा कृषिका औजार, मेशिन र दुग्ध सहकारीलाई प्रति लिटर रु ३ अनुदान दिदै आएको उहाँले बताउनुभयो ।
महानगरले दुग्ध उत्पादन संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाईजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ ।
सहकारीले देशको आर्थिक र सामाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीलाई थप उत्पादनमुखी बनाउनुपर्नेमा प्रमुख दाहालले जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी समुदायमा आधारित भएमात्र कुनै पनि समस्या नआउने बताउनुभयो ।
चितवनमा बाहिरी जिल्लाबाट आई सहकारी विस्तार गरी यहाँको पैसा संकलन गरी अन्य ठाँउमा लैजाने परिपाटीले साहारा, शिवशिखर, लाँलीगुराँस, सनराईज जस्ता सहकारीमा समस्या देखिएको उहाँको भनाई छ ।
अहिले चितवनमा मुख्य कार्यालय रहेर खोलिएका सहकारीमा कुनै पनि समस्या नआएको उहाँले प्रष्ट पार्नुभयो ।
काठमाडौँ, भक्तपुर, ललितपुर, नेपालगञ्जजस्ता ठाँउबाट शाखा विस्तार गरी यहाँ आएका सहकारीले १८ प्रतिशत ब्याज दिने लोभ देखाएर बचत गरी ठुलो रकम दुरुपयोग गरेको पाइएको सहअध्यक्ष दवाडीले बताउनुभयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, संघका संस्थापक अध्यक्ष टेकप्रसाद गुरुङलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
भरतपुर महानगरपालिकामा बचत तथा ऋण सहकारी १ सय ३१, दुग्ध सहकारी ७४, कृषि सहकारी ४५, बहुउद्देश्यीय सहकारी ३६, साना किसान सहकारी १२, तरकारी तथा फलफुल ६, उपभोक्त ४, संचार २, जडीबुटी २, मत्स्य १, मौरी सहकारी १, पर्यटन सहकारी १ र संघ, प्रदेश र भरतपुरमा दर्ता भएका ८ वटा सहकारी छन् ।
चितवन जिल्लाभर ८ सय सहकारी रहेका छन् । सहकारी विभागका अनुसार नेपालभर ३१ हजार सहकारी सञ्चालनमा छन् । सहकारीको योगदान नेपालको अर्थतन्त्रमा ८ खर्बको योगदान रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker