चितवन कांग्रेसद्वारा प्रशासनमार्फत् सभामुखको ध्यानाकर्षण, सहकारी ठग्नेलाई कारबाहीको माग

चितवन, चैत २०-

चितवन कांग्रेसले सहकारी ठगीमा संलग्नहरुलाई कारबाहीको माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालय मार्फत प्रतिनिधिसभाका सभामुखको ध्यानाकर्षण गर्दै बचतकर्ताको पैसा फिर्ता गर्दै दोषीलाई कारबाहीको माग गरेको हो ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालद्वारा हस्ताक्षरित ध्यानाकर्षणपत्रमा सहकारी संस्थाहरुले बचतकर्ताहरुसँग रकम संकलन गर्ने तर सहकारी ऐन विपरीत करोडौं बचत रकम अपचलन गरेकोमा रकम फिर्ताको पहल गरिदिन बचतकर्ताहरुले निवेदन दिएको उल्लेख गरिएको छ । सोही अनुसार चैत १५ गते सरोकारवाला पीडितसँग चितवन कांग्रेसले अन्तरक्रिया गरेको जनाइएको छ ।

कांग्रेसले चितवनमा मुख्य कार्यालय एवम् शाखा कार्यालयहरु खोली सहकारी सञ्चालन गर्दै आएका साहारा सहकारी, शिवशिखर, सनराइज, परिचय, लालीगुँरास बचत तथा ऋण सहकारी संस्थासहित अन्य सहकारीमा बचतकर्ताको करोडौँ रकम सञ्चालकहरुले हिनामिना गरेको कांग्रेसको ध्यानाकर्षणपत्रमा आरोप लगाइएको छ । त्यस्तै कांग्रेसले बचत रकम हिनामिना गर्ने सहकारीका तत्कालिन सञ्चालकहरुको खोजी गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाउन सर्वाधिकारसहितको संसदीय समिति गठन गर्न माग गरेको छ ।
ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘सहारा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक अध्यक्ष जीवी राईलगायत ११ जना, शिव शिखर, सनराइज, परिचय, लालीगुराँसलगायतका व्यक्तिहरुलाई सम्बन्धित निकायबाट अभिलम्ब पक्राउ गरी अनुसन्धान गर्न र पछिल्ला दिनहरुमा बचतकर्ताहरुले सहकारी संस्थामा जम्मा गरेको बचत रकम आफूलाई आवश्यक पर्दा फिर्ता लिन पाउने सुनिश्चितता दिलाउँदै बचतकर्ता पीडितहरुको रकम अभिलम्ब फिर्ता गराउने व्यवस्थाका लागि ठोस नीति तर्जुमा गरी फिर्ता दिलाउने कार्यमा सहयोग गर्न नेपाल सरकारको ध्यानाकर्षणको लागि समेत अनुरोध गरिन्छ ।’ कांग्रेसले ध्यानाकर्षणपत्रसहित सहकारी पीडितहरुले राखेको विचारहरुको भिडियो पनि संलग्न गरेर जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ ।

कांग्रेसले सहारामा १० हजार ६ जना बचतकर्ताको ८५ करोड, शिवशिखरमा १४ हजार ८०० बचतकर्ताको ९५ करोड, सनराइजमा सात हजार २०० बचतकर्ताको ७२ करोड, लालीगुँरासको १२ करोड ९३ रुपैयाँ हिनामिना भएको र अन्यको विवरण आउन बाँकी रहेको जनाइएको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker