५५ वर्षदेखि विवादित बाटो नगरप्रमुख प्रलाद सापकोटाको पहलमा निर्माण

रत्ननगर । रत्ननगर नगरपालिका वडा नं–३ स्थित लोकप्रिय टोलको हरियाली बाटो एक कार्यक्रमबीच उद्घाटन गरिएको छ ।

विसं २०२६ सालमा खुलेको बाटो विभिन्न विवादका कारण स्तरोन्नति हुन सकेको थिएन । नगरप्रमुख प्रलाद सापकोटाको पहलमा विवाद समाधान गरी बाटो निर्माण गरिएको हो ।

लोकप्रिय टोलका ज्येष्ठ नागरिक वेदनिधि अर्यालको प्रमुख आतिथ्यता एवं नगरप्रमुख प्रलाद सापकोटाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा हरियाली बाटो निर्माण समितिका अध्यक्ष गोकुलप्रसाद तिवारीले वडा नं–३ को १५ लाख रुपैयाँको बजेटबाट साढे तीन मिटर चौडाइ र २१५ मिटर लम्बाइको पक्की ढलानसहितको बाटो तयार भएको जानकारी दिए ।

सो अवसरमा नगरप्रमुख प्रलाद सापकोटाले विकासको कार्यमा नगरवासी एकजुट हुनुपर्नेमा जोड दिए । ‘नगरपालिकाले कसैप्रति पनि पूर्वाग्रह नराखी काम गर्छ’, उनले भने, ‘त्यसैले विवादित र लामो समयसम्म बन्न नसकेका आयोजनाहरु धमाधम सम्पन्न भएका छन् ।’ मेरो एक हात गयो, मेरो एक मिटर बढी गयो भन्ने विवादले विकासको काम अवरुद्ध बन्ने भएकाले फराकिलो छाती बनाएर विकास निर्माणको काममा नगरवासीले साथ दिनुपर्ने उनको भनाइ थियो ।

‘हामी कसैलाई उठिवास नै लगाउनेगरी काम गर्दैनौँ’, उनले थपे, ‘तर, सडक, ढल र भौतिक पूर्वाधार निर्माणका क्रममा थोरै यताउति हुँदा नगरवासीले चित्त बुझाउन सक्नुपर्छ ।’ मिचिएको बाटो, साँध–सिमाना, पर्खाल, आँगन, अस्थायी टहरा नभत्काउने हो भने विकास निर्माण नै हुन नसक्ने उनले बताए ।

वडा नं–३ का वडाध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेलले ५५ वर्षदेखि विवादका कारण बन्न नसकेको बाटो पनि पहल गरे बन्न सक्दो रहेछ भन्ने उदाहरण हरियाली बाटोले पुष्टि गरेको बताए । उनले वडावासीको सक्रियता र समन्वयमा समयमै बाटो निर्माण भएकोमा धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा वडा सदस्यहरु शिव खनाल, ईश्वर जम्कट्टेल, वैशाखनी थरुनी, नगरस्तरीय ज्येष्ठ नागरिक सञ्जालका अध्यक्ष छविलाल घिमिरे, लोकप्रिय टोल विकास संस्थाका अध्यक्ष ऋषिराम अर्याललगायत वडावासीको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker