लौरीघोलबासीको जग्गा सुरक्षा स्थानीय सरकारले गर्छ : मेयर सापकोटा

रत्ननगर । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले लौरीघोलबासीको जग्गाको सुरक्षा स्थानीय सरकारले गर्ने बताएका छन् । मंगलबार आयोजना गरिएको लौरीघोल ताल निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले लौरीघोल ताललाई पर्यटकीय पार्कको रुपमा विकास गर्न लागेको भन्दै जग्गाधनीलाई ढुक्क हुन आग्रह गरे ।

मेयर प्रलाद सापकोटाले स्थानीय सरकार र जग्गाधनीको सयुक्त लगानी हुने गरि ताल निर्माणको योजना अघि सारिएको बताए । जग्गाधनीको सम्पति सुरक्षा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै उनले पर्यटकीय पार्कबाट हुने आम्दानी शेयरको प्रतिशतका आधारमा बाडफाँड गर्ने बताए । जग्गाधनीको जग्गाको मूल्य निर्धारण गरि सो रकम शेयरमा परिणत गरेर सयुक्त लगानीको वातावरण बनाइने मेयर सापकोटाले बताए ।

मेयर सापकोटाले जग्गाधनीको हितका लागि अर्को एउटा विकल्प समेत अघि सारेका छन् । धनीले जग्गा भाडामा दिने हो भने प्रतिकठ्ठा बार्षिक २ हजार सम्म भाडा दिने योजना अघि सारिएको छ । ताल निर्माण हुने क्षेत्र करिब ३ किलोमिटरमा ११५ जनाको १३ विगहा र साढे तीन कठ्ठा एैलानी जग्गा रहेको छ । पर्यटन प्रर्वधन र स्थानीयको जीविकोपार्जनको आधार तयार गर्न टाँडी बजार नजिक रहेको लौरीघोल ताललाई विकास गरी सुन्दर पर्यटकीय पार्क निर्माण गर्न थालिएको बताए । लौरीघोल ताल निर्माणको लागि चार बर्ष अघि डिपीआर तयार गरिएको थियो । तर सो डिपिआर अनुसार रत्ननगर नगरपालिका पार्क निर्माणमा सकारात्मक देखिएन ।

मेयर सापकोटाले अर्को डिपीआर तयार गरी प्रकृतिक पर्यटकीय पार्क निर्माणको योजना अघि सारिएको बताए । पहिलाको डिपीआर अनुसार बनाउदा निर्माण सुरु भएपनि सम्पन्न हुन नसक्ने जोखिम देखेको छु उनले भने त्यस कारण नगरपालिकाले आफैले डिपीआर तयार गरी पर्यटकीय पार्क निर्माण गर्नेछ । लौरीघोल ताल तथा सार्वजनिक जग्गा संरक्षण समितिका संयोजक रामकृष्ण सिंखडाले ११५ जना जग्गाधनी मध्ये ८० जनाले पार्क निर्माणमा मौखिक सहमती दिएको बताए । संविधान सभा सदस्य तथा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले प्रचलित जग्गाको मुल्य अनुसार शेयरमा परिणत गरी जग्गाधनीको लगानी हुने बताए ।

रत्ननगर नगरपालिकाका उपमेयर यादव प्रसाद पाठकले पार्क निर्माणको सुरुवाती चरणमा नगरपालिकाले ७० लाख रुपैया विनियोजन गरेको भन्दै स्तानीय, प्रदेश र केन्द्र सरकारको लगानीमा लौरीघोल ताल पर्यटकीय पार्कको रुपमा रुपान्तरण हुने बताए । आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष माधवप्रसाद अर्याल, योजना शाखा प्रमुख रमेशलाल ताम्रकार, स्काइराइडर आवासीय माविका अध्यक्ष दुर्गा पुरी, जग्गाधनीहरु शिला आचार्य, राधिका विष्ट, मानबहादुर रानाभाट, शान्ता श्रेष्ठ, शान्तामणि अधिकारी, युवा समाजसेवी दीपक थापा लगायतले पर्यटकीय पार्क निर्माण चाडै सुरु गर्न सुझाब दिएका थिए । कार्यक्रम रत्ननगर नगरपालिकाका वन वाताबरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख विश्वास श्रेष्ठले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker