भरतपुर २ द्धारा महिलाको क्षमता विकास तालिम सम्पन्न

भरतपुर २ का महिलाहरु उद्घोषण तालिमपछि नेतृत्वको लागि सक्षम बने

बैशाख १७,भरतपुर । भरतपुर महानगरपालिका वडा नं २ को आयोजनामा तीन दिने उद्घोषण तालिम सम्पन्न भएको छ । महिलाहरुमा नेतृत्व क्षमताको विकास गर्ने उद्धेश्य सहित उद्घोषण तालिम आयोजना गरिएको हो । भरतपुर–२ वडा कार्यालयको सभाहलमा भएको उद्घोषण तालिममा विभिन्न १८ वटा टोलका ५० जना सहभागी थिए ।


तालिमको समापन कार्यक्रममा वडाध्यक्ष रानाभाटले सिकेको सीपलाई व्यवहारमा ल्याउनुपर्ने बताए । ‘तालिम लिइसकेपछि सहभागीबाट सकारात्मक प्रतिक्रिया आयो, तीन दिनको समय नपुगेको हुनाले आगामी दिनमा यस तालिमलाई पाँच दिनको बनाउने सुझाव आएको छ, हामी यही सुझावलाई मध्येनजर गर्दै अघि बढ्नेछौँ’ वडाध्यक्ष रानाभाटले भने । नेतृत्व विकासको सीपले महिलालाई सक्षम बनाउने वडाध्यक्ष रानाभाटको भनाई थियो ।


उनले तत्काल किशोर किशोरीका लागि नेतृत्व विकासको तालिम वडा कार्यालयले ल्याउने बताए । एसईई दिएर बसेका किशोरकिशोरीका लागि पनि नेतृत्व विकासको तालिम छिटै दिने गरी वडाले तयारी गरेको समेत उनले बताए । तालिमको मुख्य प्रशिक्षकमा पत्रकार किशोर खनाल रहेका थिए । मुख्य प्रशिक्षक खनालले उद्घोषणसहित महिलाको नेतृत्व तहको क्षमता विकासलाई प्रमुख प्राथमिकता दिएर तालिम दिइएको बताए । मोटिभेसनल स्पिकरसमेत रहेका खनालले तालिममा सहभागी हुनेहरुले जुनकुनै संस्थामा नेतृत्व गर्न सक्ने अवस्थामा पुगेको जानकारी दिए ।


तालिमको अर्का प्रशिक्षक पत्रकार कमलराज कँडेल रहेका थिए । उनले तालिम प्रभावकारी र उपलब्धीमुलक भएको बताए ।
कार्यक्रममा वडा सदस्य परशुराम पौडेलले उद्घोषण तालिम वर्सेनि चलाउने बताए । वडा सचिव ओमप्रकाश न्यौपानेले तालिम कार्यक्रमको संयोजन गरेका थिए ।
तालिममा जनप्रतिनिधिहरु, बेलपत्र श्रेष्ठ, बलराम सिटौला लगायतले तालिममा वडाका स्थानीयको उत्साहपूर्ण रहेको बताए । सहभागीहरुले तालिम प्रभावकारी भएको र नेतृत्व क्षमतामा विकास भएको बताएका थिए ।

सहभागीको तर्फबाट कविता रेग्मीले बोलेकी थिइन् । उनले तालिम प्रभावकारी भएको बताइन् । उद्घोषण तालिम महिलाका लागि अतिआवश्यक भएको र वडाले दिँदा आफ्नो क्षमता विकास भएको बताइन् ।
भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले उद्घोषण तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker