गर्ग गोत्रीय आचार्य प्रतिष्ठानको वार्षिक साधारण सभा एवं कुल पूजा सम्पन्न

गर्ग गोत्रीय आचार्य प्रतिष्ठान रत्ननगर र श्रीश्वेत वराह विष्णु मन्दिरको १८ औ वार्षिक साधारण सभा एवं कुल पूजा कार्यक्रम रत्ननगर–१० प्रसौनीमा सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष नारायण शर्मा आचार्यको अध्यक्षतामा सम्पन्न उक्त  कार्यक्रम आचार्य वंशजका ८८ वर्षिय वानारसी आचार्यको प्रमुखआतिथ्यता , अर्का ८८ वर्षिय नन्दलाल आचार्य एवं गर्ग गोत्री आचार्य समाजका केन्द्रीय सचिव बालकृष्ण आचार्यको विशिष्ट आतिथ्यता र संस्थापक अध्यक्ष चन्द्रदत्त आचार्यको आतिथ्यतामा चितवन आसपासमा रहेका करीब ५०० घरधुरीहरुको सहभागीतामा कुल पूजा एवं साधारण सभा सम्पन्न भएको हो । प्रतिष्ठानले आचार्यहरुको कुल देवताका रुपमा रहेका श्रीश्वेत वराह भगवान् विष्णुलाई पुजा गरि परम्परागत रुपमा अग्रज वंशजले पुजा गर्दै आएको मौलो पूजन गर्दै हरेक वर्ष वैशाख शुक्ल पूर्णिमा (बौद्ध पूर्णिमा) का दिन कुल पूजा गर्नका लागि व्यवस्थापन गर्दै आएको छ । यस रत्ननगर–१० प्रसौनीमा २० वर्ष अघिदेखि भगवान् श्रीश्वेतवराह विष्णुको मन्दिर स्थापना गरि आजकै दिनमा कुल पूजा गर्ने गरेको र श्रीश्वेत वराह विष्णु मन्दिरमा दैनिक रुपले पुजारी राखी पूजा आराधना हुँदै आएको छ । यस  मन्दिरमा हरेक महिनाको १४ गते हरिनाम संकीर्तन , प्रत्येक एकादशीमा एकादशी महात्म्य पारायण तथा कथा प्रवचन , विभिन्न पर्वहरुमा सामुहिक पूजा उत्सव मनाउने एवं आध्यात्मिक सत्संगका कार्यक्रम हुँदै आएका छन् । मन्दिरको व्यवस्थापन गर्ने प्रतिष्ठानले वार्षिक साधारण सभामा सचिव वेद प्रसाद आचार्यले पेश गरेको कार्यप्रगति तथा भावी कार्ययोजना प्रतिवेदन ,आ.व. २०७९/ ०८०को लेखा परिक्षण प्रतिवेदन एवं  कोषाध्यक्ष कृष्ण प्रसाद शर्मा आचार्यले पेश गरेको आर्थिक प्रतिवेदन  सर्वसम्मतिले अनुमोदन गरेको छ । सभामा ८४ वर्ष पूरा गरि चतुराशी पूजा गरेका शिवलाल आचार्य र दुरपदा आचार्यलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष सदानन्द आचार्यले स्वागत मन्तव्य र सचिव वेद प्रसाद आचार्यले संचालन गरेको साधारण सभाको उक्त  कार्यक्रममा बोल्ने प्रमुख अतिथि, विशिष्ट अतिथिहरुले आशिर्वचन प्रदान गर्नुका साथै प्रतिष्ठानको उत्तरोत्तर प्रगतिको कामना गर्दै  गर्ग गोत्रीय आचार्यहरुको आपसी बन्धुत्वको विकास गर्न, सुसंस्कृति र सुपरम्परालाई  भावी पुस्तामा हस्तान्तरण गर्न , सामाजिक क्रियाकलापको संलग्नता एवं वंशजको खोजी तथा अनुसन्धान गरि वंशावली अध्यावधिक गर्नमा प्रतिष्ठानले  पुर्याएको भूमिकामा प्रशंसा गरेका थिए ।  प्रतिष्ठानले व्यवश्थापन गरेको यस  मन्दिरमा धार्मिक कार्यक्रम गर्न , सत्संग , ध्यान तथा योग गर्न सकिने व्यवस्थित  सभाहल समेत   रहेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker