गर्मी घटेसँगै विद्यालय खोल्ने निर्णय, आइपिभी खोप पनि सञ्चालन हुने

रत्ननगर । अत्यधिक गर्मी बढेको भन्दै रत्ननगर नगरपालिकाले जेठ १४ देखि जेठ १९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेकोमा मौसम तथा वातावरणीय अवस्थामा सुधार आएकाले बुधबारदेखि विद्यालय खोल्ने निर्णय गरेको छ ।
नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेले अत्यधिक गर्मीका कारण विद्यालयका बालबालिकालाई पठनपाठनमा समस्या भएकाले जेठ १९ गतेसम्म नगरक्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएकोमा मौसम तथा वातावरणीय अवस्थामा सुधार आएकाले जेठ १६ गते बुधबारदेखि शिक्षण सिकाइ क्रियाकलाप नियमित गर्न निर्देशन दिएका छन् ।
नगरपालिकाले बर्खे बिदामा कट्टी हुने गरी सम्पूर्ण विद्यालयमा बिदा दिने निर्णय गरेको थियो । अत्यधिक गर्मी बढेको खण्डमा फेरि अर्को सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने शिक्षा शाखाले जनाएको छ ।
यसैबीच, रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले विद्यालय बन्दका प्रभावित भएको आइपिभी खोप अभियान बुधबारदेखि नियमितरुपमा सञ्चालन गर्न लागिएको जानकारी दिए ।
आइतबारदेखि सुरू भएको आइपिभी खोप केही विद्यालयमा लगाइएको थियो । बाँकी रहेका बालबालिकालाई जेठ १६ गतेदेखि २२ गतेसम्म खोप लगाइने उनले बताए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker