कालिका- ८ गैरीबारीका अपाङ्गता भएका चेपाङले पाए ‘ह्वील चियर’

रत्ननगर, असार २ । चितवनको कालिका नगरपालिका वडा नं. ८ गैरीबारीका अपाङ्गता भएका २८ वर्षीया कमल चेपाङले ‘ह्वील चियर’ प्राप्त गर्नुभएको छ ।

यसले हिडडुलमा सहायता पुगेको उहाँले बताउनुभयो । कालिका नगर उपप्रमुख बिमला तामाङले चेपाङलाई ह्वील चियर प्रदान गर्नुभएको थियो । नगरपालिकाले स्वास्थ्य शाखासंग सहकार्य गरेर हिँड्डुलमा सहज र सहयोग पुर्‍याउने उद्देश्यले ‘ह्वील चियर’ वितरण गरेको हो ।

चेपाङ नजिकैको जंगलमा दाउरा काट्न जादा रुखको मुडाले च्याप्दा डेढ वर्ष अगाडी मेरुदण्ड भाच्चिएको थियो । अहिले उहाँको स्याहार सुशार श्रीमतीले गर्दै आउनुभएको छ । चेपाङको २ वर्षीया एक छोरी रहेको छ ।

‘हामीले पनि स्थानीय सरकार भएको महसुस गर्न पायौँ, हामी जस्ता हिँड्डुल गर्न नै सकस भएका मान्छेलाई सजिलो बनाएको छ’ चेपाङले भने ।

ह्वील चियर नहुँदा हिडडुल गर्नु त परको कुरा थियो । दिशा, पिसाव गर्न समेत श्रीमतीको साहारा लिनुपरेको थियो । ह्वील चियर पाएपछि सहज भएको उहाले बताउनुभयो । ‘अपाङ्गता भएका संस्थाले मात्रै सहकार्य गरी पठाउने गरेकामा अहिले नगर उपप्रमुख घरमै आएर ह्वील चियर दिँदा असाध्यै खुसी लाग्यो, हाम्रो दुख बुझिदिनुभयो, यही नै हाम्रो खुसी हो’, उहाले भन्नुभयो ।

उपप्रमुख तामाङले शारीरिक रूपमा अपांगता भएका व्यक्तिलाई हिँडडुल गर्न असहज भएकाले ह्विल चियर प्रदान गरिएको बताउनुभयो । ‘अपांगता भएका व्यक्तिलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको छ, अपांगता भएका व्यक्तिलाई सहज रुपमा बाँच्न नगरपालिकाले अपाङ्गमैत्री वातावरण सिर्जना गर्दै आइरहेको छ’, उहाले भन्नुभयो ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्ति आवद्ध सङ्घ संस्थासँग समन्वय गरी विभिन्न सामग्री खरिद तथा वितरण गर्दै आएको छ । ह्विल चियर बितरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारी, योजना शाखा प्रमुख प्रकाश चन्द्र पौडेल, टोल बिकास संस्थाका प्रतिनिधि, स्थानीयहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker