चरम गरिबी सहन नसकेर महिलाले मृत्यु रोजिन्, सँगैका छोराछोरी बेपत्ता

काठमाडौं, २७ माघ । दुई सन्तानसहित घरबाट निस्केकी एक महिला चार दिनपछि सुनकोसी नदीकिनारमा मृत भेटिएकी छन् । उनले सँगै लगेका १३ वर्षीया छोरी र ८ वर्षीया छोरा भने अझै बेपत्ता छन् ।

यही घटनाले सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ डुँडभन्ज्याङ गाउँ शोकमा डुबेको छ । चरम गरिबी सहन नसकेर स्थानीय देवकी नेपाली छोरी सुस्मिता र छोरा सुजनसहित घरबाट बाहिरिएकी थिइन् । मजदुरी गरेर सन्तानको हेरचाह र हातमुख जोर्दै आएकी ३३ वषीया देवकीको शव सुनकोसी नदीमा डुबर मृत अवस्थामा भेटिएको हो ।

छोरी–छोराले लगाएका चप्पल भने नदीको किनारमा एकै ठाउँमा भेटिएको छ । दवकी गत शुक्रबार साँझ, दुई सन्तानलाई लिएर घरबाट निस्केकी थिइन् । ‘दैनिक मजदुरी गरेर परिवार चलाउँदै आएकी देवकीका पति गोपाल नेपाली पनि सँगै मजदुरी गर्छन् । तर, गोपालले अत्यधिक मदिरा सेवन गरेर घर व्यवहार नहेर्ने भएपछि गरिबीको चरम पीडामा परेकी देवकीले आत्महत्या नै गरेको गाउँलेको अनुमान छ,’ स्थानीय शंकर बरालले भने ।

देवकीका पति आइतबारदेखि नै बेहोस छन्। वृद्धा सासू, ससुराको होस ठेगानमा छैन। देवकीका माइती भेला भएका छन्। सुस्मिता र सुजनका साथीहरूको पनि आँखाबाट आँसु थामिएको छैन। ‘दुःख गरेरै भए पनि परिवार चलाउँदै आएकी बहिनीले सन्तानसहित नदीमा हाम फालेर प्राणत्याग गरिन्,’ दाजु दीपक नेपालीले भने । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker