गाउँपालिकाको ‘ग्रामथान’ भत्काउने योजनाको धिमाल समुदायद्वारा विरोध

विराटनगर । कानेपोखरी गाउँपालिकाको ‘ग्रामथान’ भत्काउने योजनाको धिमाल समुदायले बिरोध गरेको छ । गाउँपालिकाले धिमाल समुदायको धार्मिक थलो ग्रामथान भत्काएर व्यवसायिक प्रयोजनका लागि भौतिक संरचना निर्माण गर्ने भएपछि समुदाय बिरोधमा उत्रिएको हो ।

गाउँपालिका र वडा कार्यालय ७ ले ऐतिहासिक तथा धार्मिक महत्वको पूजा गर्ने थलोलाई भत्काएर व्यवसायिक संरचना निर्माण गर्न खोजिएको भन्दै धिमाल जातीय विकास केन्द्रले आपत्ति जनाएको छ ।

‘धिमाल जातिको जीवन पद्धति वन जंगल, खोला नालालगायतको प्रकृतिसँग जोडिएको हुन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘धिमाल समुदायको इतिहास, संस्कृति संरक्षण गर्न राज्यको दायित्व हुँदाहुँदै कानेपोखरी गाउँपालिकाले धिमालहरुको पूजा गर्ने ग्रामथान भत्काएर व्यवसायिक संरचना बनाउन खोज्नु आपत्तिजनक काम हो ।’

धिमाल सामुदायसँग कुनै सहमति र छलफल नै नगरी एकतर्फी निर्णय गरेर ऐतिहासिक स्थलको अतिक्रमण गर्नु  अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ विपरीत कार्य भएको  विज्ञप्तिमा उल्लेख छ ।

धिमाल जातीय विकास केन्द्र कानेपोखरीका अध्यक्ष प्रकाश धिमालद्वारा हस्ताक्षरित विज्ञप्तिमा धिमालहरुको धार्मिक, सास्कृतिक तथा ऐतिहासिकता जोडिएको स्थललाई हटाउनु स्थानीय  सरकारको गैरजिम्मेवार कार्य भएको उल्लेख छ । यस्तै गाउँपालिकाले गरेको ग्रामथान भत्काउने निर्णय तत्काल सच्याउन केन्द्रले माग गरेको छ ।

कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले भने धिमाल समुदायले गाउँपालिकाकै लागतमा ग्रामथान अर्को ठाउँमा सार्ने सहमति भएको जानकारी दिनुभयो । यद्यपी अहिले धिमाल समुदायलाई ग्रामथान सार्ने विषयमा असहमति जनाएकाले उक्त योजना  स्थगित गरिएको उहाँले बताउनुभयो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker