धार्मिक महोत्सवमा श्रेष्ठले दिए गणेशको मूर्ति, लिए जितको शुभकामना

चितवन, ३ कात्तिक ।

सत्ता गठबन्धनको तर्फबाट चितवन २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठले बिहीबार कालिका नगरपालिकामा भइरहेको धार्मिक महोत्सवमा सहभागी भई आर्थिक एवं भौतिक सहयोग गरेका छन् । राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्रेष्ठले महोत्सवमा गणेशको मूर्ति र २५ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

आर्थिक तथा भौतिक सहयोगको घोषणा गर्दै राज्यमन्त्री श्रेष्ठले कालिकालाई पर्यटकीय क्षेत्र बनाएर यसको विकास गर्नुपर्ने बताए । उनले यस नगरभित्र हरित औद्योगिक क्षेत्र निर्माण गरी रोजगारीका अवसर सिर्जना गरिने पनि बताए । उनले सबै धर्मप्रति आफ्नो समभाव रहेको समेत बताए ।

धार्मिक महोत्सव आयोजकले चितवन २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उमेश श्रेष्ठ र चितवन २ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार घनश्याम दाहाललाई रामनामी र फूलमाला लगाइदिएर स्वागत एवं सम्मान व्यक्त गरेका थिए । सत्ता गठबन्धनका दुवै उम्मेदवारलाई आयोजकले जितको लागि शुभकामना समेत दिएका छन् ।

चितवन २ अन्तर्गत पर्ने कालिका नगरपालिका ३ पदमपुर, गणेश मन्दिर चोकमा कात्तिक १ गतेदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव चलिरहेको छ । कात्तिक ७ गतेसम्म चल्ने धार्मिक महोत्सव सिद्दि गणेश मन्दिरको धार्मिक तीर्थस्थल स्तरोन्नति एवं व्यवस्थापन, संरक्षण र भौतिक पूर्वाधार विकासका लागि आर्थिक सहयोग जुटाउन आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker