मेयरकप फुटवल : आयोजक रत्ननगर नगरपालिकाको जित

रत्ननगर । चितवनको रत्ननगरमा अन्तरपालिका स्तरीय प्रथम मेयर कप फुटवल प्रतियोगिता शनिवारदेखि सुरु भएको छ ।

नेपाल माविको खेल मैदानमा रत्ननगरका मेयर प्रल्हाद सापकोटाले प्रतियोगिताको उद्घाटन गरेका छन् । सो अबसरमा मेयर सापकोटाले खेलको माध्यमबाट जिल्लाका पालिकाहरुबीच सम्बन्ध विस्तारको लागि प्रतियोगिता आयोजना गरिएको बताए । यसले जिल्लाको खेलकुदको विकास मात्र गर्दैन उनले भने सातवटै पालिकाको बीचमा सम्बन्ध अझ प्रगाढ बनाउने छ ।

प्रतियोगिताको पहिलो खेलमा आयोजक रत्ननगर नगरपालिकाले जित निकाल्न सफल भएको छ । छिमेकी नगरपालिका खैरहनीलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो खेलमै रत्ननगरले जित निकाल्न सफल भएको हो । रत्ननगरको जितका लागि अभिषेक चौधरीले दुई र सिमन लामाले एक गोल गरेका थिए । खेल अबधिभर निकै दवाबमा रहेको खैरहनीका लागि सन्दिप श्रेष्ठले एक गोल गरेका थिए । सो प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका रत्ननगरका खेलाडी अभिषेक चौधरी म्यान अफ दी म्याच घोषित भएका छन् । उनलाई २ हजार ५०० नगद सहित मेडल प्रदान गरिएको छ । प्रतियोगिता अन्तर्गत २६ गते सोमबार माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बीच खेल हुने छ ।

आइतबार टिकौलीचौरमा रत्नप्रिय कपको फाइनल हुने भएकाले मेयर कप अन्तर्गत दोस्रो खेल एक दिन पछि सारिएको हो । ७ वटा टिमको सहभागिता रहेको मेयर कपको प्रथम हुने टिमलाई १ लाख ११ हजार १११ र दोस्रो हुने टिमलाई ५० हजार ५५५ रुपैया पुरस्कार प्रदान गरिने छ । नगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा खैरहनीका मेयर शशीकुमार खनिया, कालिकाका मेयर विनोद रेग्मी लगायत रत्ननगरका वडाध्यक्ष, कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker