आयोजकलाई पछार्दै सौराहा युवा समाजले उचाल्यो रत्न प्रिय कप

चितवन, मंसिर, २५ । रत्ननगरको टिकौलीचौरमा आयोजना गरेको प्रथम रत्नप्रिय कप खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधि सौराहा युवा समाजले जितेको छ ।

आइतवार भएको फाइनल खेलमा आयोजक रत्नप्रिय क्लव ए लाई १–० ले पराजित गर्दै सौराहा युवा समाजले उपाधि जितेको हो । जितसंगै सौराहा युवा समाजले एक लाख ११ हजार १११ नगद पुरस्कार हात पारेको छ भने प्रतियोगितामा दोस्रो भएको आयोजक क्लवलाई ५५ हजार ५५५ नगद पुुरस्कार प्रदान गरिएको छ ।

सौराहालाई उपाधि जिताउन पहिलो हापको ३३ मिनेटमा रितेश चौधरीले एक एक गोल गरेका थिए । आयोजक रत्नप्रियले खेलको दोस्रो हापको २० मिटरमा पाएको पेनाल्टीको मौकालाई सदुपयोग गर्न नसक्दा उपाधि हात पार्नबाट चुक्यो ।

खेल अबधि भर रत्नप्रियलाई निकै दवावमा राखेको सौराहाका चौधरीले गरेको एक गोलनै खेलको निर्णायक बन्यो ।

कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका मेयर प्रल्हाद सापकोटा र क्लवका अध्यक्ष बसन्त रानामगरले विजयी टिमलाई नगद पुरस्कार र उपाधि हस्तान्तरण गरेका थिए ।

सौराहा युवा समाजका अमृत श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै पाँच हजार नगद पुरस्कार जित्न सफल भएका छन् । आयोजक रत्नप्रिय युवा क्लवले प्रतियोगिताको समापनको अबसर पारेर तीन जना पूर्व राष्ट्रिय खेलाडी सहित पाँच जना खेलाडीलाई सम्मान गरेको छ ।

पूर्व राष्ट्रिय खेलाडीहरु रत्ननगर निवासी सुर्यमान श्रेष्ठ, ललीत थापा र लेखनाथ घिमिरेलाई सम्मान गरिएको हो ।

त्यसैगरी बंगलादेशमा भएको महिला फुटवलमा उत्कृष्ट खेल प्रर्दशन गरेका रत्ननगर १२ निवासी शुशीला भूजेल र सुजता तामाङ तथा संस्थागत रुपमा रत्ननगर नगरपालिका वडा नं ९ र पूर्वी चितवन पत्रकार मञ्चलाई पनि सम्मान गरिएको क्लवका अध्यक्ष रानामगरले जानकारी दिए ।

क्लवका अध्यक्ष रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु अनन्त अधिकारी, किरण महतो, सजना महतो, कुलप्रसाद सापकोटा, बालकृष्ण चापागाईँ, कलाधर पौडेल, रामकुमार चौधरी, कृष्ण चौधरी, डिएसपी रविनबाबु रेग्मी लगायतको सहभागिता रहेको थियो ।

मंसिर १२ गतबाट सुरु भएको सो प्रतियोगितामा १४ टिमको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker