रत्ननगर बाङ्मयको पहिलो कार्यक्रम, कविता बाचनमा विपासा प्रथम

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा अन्तर मावि स्तरीय खुल्ला कविता बाचन प्रतियोगिता बुधवार गरिएको छ । रत्ननगर नगरपालिका र रत्ननगर बाङ्मय परिषद्ले सयुक्त रुपमा आयोजना गरेको सो प्रतियोगिताका २१ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा पञ्चकन्या मावि जिरौनाका विपासा सुनार प्रथम, नेपाल नमुना माविकी सर्बज्ञा पौडेल द्धितीय, बुद्धज्योति इङ्लिस बोडिङ स्कुलका अनुजिग्न कंडेल तृतीय र श्रीराम बैदिक गुरुकुलम जयमंगलाका अविरल रिजालले प्रोत्सहान हासिल गरेको परिषद्का सदस्य तिलकराज शर्माले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्धितीय हुनेलाई १० हजार, तृतीय हुनेलाई ५ हजार र प्रोत्सहान हुनेलाई तीन हजार नगद पुरस्कार सहित सहभागीहरुलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेयर प्रल्हाद सापकोटाले साहित्य चेतनाको श्रोत रहेको भन्दै कला, संस्कृति, साहित्य र भाषा संरक्षणको लागि स्थानीय सरकारले योजना बनाएर काम गर्न सुरु गरिसकेको बताए । धर्म, संस्कृति र साहित्यले विभेद गर्दैन उनले भने यसैको माध्यमबाट नगरमा मेलमिलाप स्थापित गराउन पर्छ । उपमेयर यादवप्रसाद पाठकले कला, संस्कृति, साहित्य र भाषाको अर्थपूर्ण संरक्षण हुनेगरी योजना पेश गर्न परिषद्लाई आग्रह गरे ।

प्रतियोगिताको निर्णायकमा बरिष्ठ साहित्यकार केशबराज आमोदी, लक्ष्मण अर्याल र राजेन्द्र घायल रहेका थिए । परिषद्का अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी, नगर शिक्षा अधिकारी बद्रिनारायण शर्मा, विज्ञ सल्लहाकार रामहरि न्यौपाने, परिषद्का सदस्य कमल अर्याल, साहित्यकार धनराज गिरी लगायतले मन्तव्य राखेका थिए । परिषद्का सदस्य तिलकराज शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम विश्वनाथ खनालले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker