कालिकाका दुई सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण

कालिका । कालिका नगरपालिकाले नगरक्षेत्र भित्रका दुईवटा सामुदायिक विद्यालयलाई बुधबार स्कुल बस हस्तान्तरण गरेको छ ।

वडा नं. ६ मा रहेका माध्यमिक विद्यालय रेडक्रसग्राम र जमुनापुर माध्यमिक विद्यालयलाई एक औपचारिक कार्यक्रमका बीच स्कुल बस हस्तान्तरण गरिएको हो । कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र उपमेयर विमला तामाङले सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई बस हस्तान्तरण गरेका हुन । सिटकभर र दर्ता बाहेक २४ लाख ६० हजार रुपैयाँमा बस खरिद गरिएको हो ।

नगरपालिकाले बस खरिदका लागि प्रतिबस २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । २०४६ सालमा स्थापना भएको माध्यमिक विद्यालय रेडक्रसग्राममा ३ सय ८७ जना विद्यार्थी छन् । विद्यालयले अहिले १ वटा बस दैनिक ५ हजार रुपैयाँ भाडा तिरेर विद्यार्थी बोक्दै आएको थियो । यस्तै जमुनापुर माध्यमिक विद्यालयमा ३ सय १२ जना विद्यार्थी छन् । कार्यक्रममा मेयर रेग्मीले शिक्षा क्षेत्रलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको भन्दै भौतिक पूर्वाधार, यातायातको व्यवस्थापनले विद्यार्थीहरुको शैक्षिक स्तर बढ्ने अपेक्षा रहेको बताए । अभिभावक, विद्यार्थी र जनप्रतिनिधिहरुको चाहना अनुसार बस हस्तान्तरण गरिएको उनले बताए ।

मेयर रेग्मीले न्यूनतम शुल्क लिएर दिगो रुपमा बस संचालनका लागि ध्यान दिन व्यवस्थापन समितिलाई सुझाव दिए । सस्तो लोकप्रियताका लागि निःशुल्क बस सेवा संचालन गछौं भन्ने होइन, चालक, सहचालक, इन्धनको खर्च जुटाउनका लागि कार्यविधि बनाएर अगाडि बढ्न व्यवस्थापन समितिलाई उनले आग्रह गरे । नगरक्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि अहिले सम्म २१ करोडबढी रकम खर्च गरिएको सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठले जानकारी दिए ।

विद्यालयहरुको भौतिक पूर्वाधार निर्माणदेखि स्कुल बस, लाइबेरी व्यवस्थापन, ल्याब निर्माण लगायतका क्षेत्रमा नगरपालिकाले लगानी गरिएको भन्दै उनले आर्थिक वर्ष २०८०/८१ मा तीन करोडबढी बजेट विनियोजन गरिएको जानकारी दिए । संघ र प्रदेश गरी २१ करोड ४० लाख बजेट छुट्टाएको भन्दै उनले यतिधेरै लगानीका बीच पनि नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुमा अनगिन्ती समस्या रहेको बताए । वडा नं. ४ का वडा अध्यक्ष समेत रहेका सामाजिक विकास समितिका संयोजक श्रेष्ठले प्राथमिकताका आधारमा एकपछि अर्को समस्या सामाधान गर्दै जाने बताए ।

बस हस्तान्तरण कार्यक्रममा कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, जमुनापुर माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता न्यौपाने, माध्यमिक विद्यालय रेडक्रसग्रामका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तुलवहादुर वि.क लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नगरपालिकाको उपमेयर विमला तमाङ, प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद उपाध्याय, वडा नं. १ का वडा अध्यक्ष शन्तवीर स्याङतान, वडा नं. ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, वडा नं.७ का वडा अध्यक्ष कमलराज मोक्तान लगायतको उपस्थिति रहेको थियो ।

कालिका नगरपालिकामा ३५ वटा सामुदायिक विद्यालयहरु छन् । यस अघिपनि भीमोदय नमुना माध्यमिक विद्यालय, शमीपुर विद्यालय, चर्तुमुखी माध्यमिक विद्यालयलाई नगरपालिकाले बस हस्तान्तरण गरिसकेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker