पिठुवामा स्वास्थ्य शिविर : १०६ जनाको स्वास्थ्य परीक्षण

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १६ पिठुवामा शुक्रबार बृहद् स्वास्थ्य परीक्षण शिविर आयोजना गरिएको छ ।

सौराहामा रहेको ग्रिन सोसाइटी नेपाल र ग्रिन सोसाइटी पब्लिक स्कुल सहित सात वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा वडा नं १६ को वडा कार्यालय परिसरमा स्वास्थ्य शिविर गरिएको हो । लायन्स क्लवका प्रथम भाइस डिष्ट्रिक गर्भनर दीनानाथ न्यौपानेले उद्घाटन गरेको सो शिविरमा १०६ जनाको स्वास्थ्य परीक्षण गरी विरामीलाई निःशुल्क औषधि प्रदान गरिएको ग्रिन सासाइटी नेपालका महासचिव तथा लायन्स क्लबका रिजन चियरपर्सन शिरलाल परियारले जानकारी दिए ।

पुरानो मेडिकल कलेज भरतपुरको प्राविधिक सहयोगमा भएको शिविरमा विशेषज्ञ डाक्टरहरुबाट नशा हाडर्जोनी, पेट,मुटु, छाती, उच्चरक्तचाप, मधुमेह, स्त्रीरोग, दाँत तथा आँखा रोगका विरामीको स्वास्थ्य परीक्षण गरिएको उनले जानकारी दिए । शिविरमा आँखा जाँच गराएका विरामी मध्ये ६ जनामा मोतिया विन्दुको समस्या देखिएकाले उनीहरुको भरतपुर आँखा अस्पतालमा निःशुल्क शल्याक्रियाको व्यवस्था मिलाइएको छ । पुरानो मेडिकल कलेज भरतपुरकी डाक्टर प्रेरण बन्सालको नेतृत्वमा २३ जना डाक्टरको टोली तथा विदेशी डाक्टरहरुले समेत विरामीको उपचार गरेका थिए ।

ग्रिन सासाइटीका महासचिव परियारले ग्रामिण क्षेत्रमा बसोबार गर्ने विपन्न समुदायको जीवन रक्षाका लागि स्वास्थ्य शिविर आयोजना गरिएको बताए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथि न्यौपानेले लायन्स क्लव मानवीय सेवा कार्यको संस्कार भएको भन्दै लायन्स क्लवले समुदाय केन्द्रीत कार्यक्रम सञ्चालन गरिरहेको बताए । वडा नं १६ का वडाध्यक्ष समेत रहेका लायन्स क्लव अफ पिठुवाका अध्यक्ष हेमराज थापाले रत्ननगर, कालिका र खैरहनीका बासिन्दाहरुलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरिएको बताए ।

उद्घाटन कार्यक्रममा जर्मन नागरिक हाटमुड ड्रामस्टाड, जर्मन नागरिक तथा स्विस डाक्टर उल्फगाङमाया, डा. रोशिका भट्ट तथा लायन्स क्लवका अगुवाहरुको सहभागिता रहेको थियो । ग्रिन सोसाइटी नेपाल, ग्रिन सोसाइटी पब्लिक स्कुल सहित लायन्स क्लब अफ चितवन सौराहा, लायन्स क्लब अफ चितवन पिठुवा, लायन्स क्लब अफ रत्ननगर मीड नेपाल, लायन्स क्लब अफ कालिका पदमपुर, लायन्स क्लब अफ रत्ननगर, लायन्स क्लब अफ चितवन कालिका, लायन्स क्लब अफ रत्ननगर पिसको सयुक्त आयोजनामा शिविर आयोजना गरिएको हो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker