पूर्वी चितवनको फोहोर प्रशोधनबारे पालिका प्रमुखसंग अन्तर्क्रिया

रत्ननगर । पूर्वी चितवनका चार वटा पालिकाबाट उत्पादन हुने फोहोर व्यवस्थापन, प्रशोधन र बहुउपयोगी सामग्री निर्माण बारे पालिका प्रमुखहरुसंग अन्तर्क्रिया गरिएको छ । सफा उर्जा उत्पादन प्रा.लि. र सफा उर्जा फाउण्डेशनले प्रशोधन गर्न नमिल्ने फोहोरबाट बहुउपयोगी सामग्री निर्माणको विषयमा छलफल गरेको हो ।

सफा उर्जा उत्पादन प्रा.लि.ले रत्ननगर र खैरहनी नगरपालिकामा फोहोर संकलन र व्यवस्थापनको काम गरिरहेको छ । सो संस्थाले फोहोर व्यवस्थापन र प्रशोधनको लागि खैरहनी नगरपालिका वडा नं ४ चैनपुरमा उद्योग सञ्चालनमा ल्याएको छ । पालिका स्तरबाट उत्पादन हुने फोहोर व्यवस्थापनको दीगो सामधानको लागि सो संस्थाले फोहोर प्रशोधन र प्रयोगमा आउने सामग्री निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ । प्रशोधन नहुने मल्टिलेयर प्लाष्टिकबाट झोला, हाते व्याग, पेन होल्डर, डायरी कभर, फोटो फ्रेम, गुन्द्री, चटकी र चप्पल बनाएर बजारमा पठाउने गरी उद्योग सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको सफा उर्जा उत्पादन प्रा.लि.का निर्देशक निर्णय पौडेलले जानकारी दिए ।

भारतमा फोहोरबाट विभिन्न सामग्री निर्माण गरिरहेको इकोकारी फाउण्डेशनका सञ्चालक नन्दन भाटलाई चितवन ल्याएर सफा उर्जाले पालिका प्रमुखसंग अन्तर्क्रिया गरेको हो । पालिकाहरुसंग सहकार्य गरी सो संस्थाले उल्लेखित सामग्री निर्माणको काम अगाडि बढाउने योजना बनाएको सफा उर्जाका सामुदायिक सम्पर्क निर्देशक रवि रोषीले जानकारी दिए ।

अन्तर्क्रिया कार्यक्रममा पालिका प्रमुखहरुले सफा उर्जाले फोहोरको दीगो व्यवस्थापनको आधार तयार गरी काम गरिरहेको भन्दै सामग्री निर्माणको कामलाई नगरको योजनामा समावेश गर्ने प्रतिबद्धता जनाएका छन् । खैरहनी नगरका मेयर शशीकुमार खनियाले फोहोर व्यवस्थापनको दीगो सामधान प्रशोधन र सामग्री निर्माण भएकाले उक्त कामलाई नगरको योजनामा समाबेश गर्ने प्रतिबद्धता जनाएका छन् ।

रत्ननगरमा भएको कार्यक्रममा मेयर प्रलाद सापकोटा र वडा नं ९ का वडाध्यक्ष अनन्त अधिकारी, कालिकामा भएको कार्यक्रममा मेयर विनोद रेग्मी, उपमेयर विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत चुडामणि शर्मा गौतम, वाताबरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बीरेन्द्र तामाङ, खैरहनीमा भएको कार्यक्रममा मेयर खनिया, उपमेयर कविता उप्रेती, वडाध्यक्ष बेद बहादुर अधिकारी तथा राप्तीमा भएको कार्यक्रममा मेयर शमशेर लामा र वडाध्यक्ष सुमिता डल्लाकोटीले मन्तव्य राखेका थिए । रत्ननगरमा भएको कार्यक्रममा सफा उर्जाका सामुदायिक सम्पर्क निर्देशक रवि रोषी सहित सो संस्थाका प्रतिनिधि बसन्त रानाले चारवटै पालिकामा फोहोर प्रशोधन र सामाग्री निर्माणबारे प्रस्तुतीकरण गरेका थिए ।

इकोकारी फाउण्डेशनका सञ्चालक नन्दन भाटले भारतमा उनले सञ्चालन गरेको उद्योगले उत्पादन गरेका सामाग्रीको बारेमा जानकारी गराएका थिए । विगत दुई बर्ष अघिदेखि सफा उर्जाले फोहोरबाट जैविक मल बनाउने काम समेत गरिरहेको छ । तरकारी र फलफुलमा प्रयोगमा आउने गरी निर्माण गरिएको जैविक मल काठमाडौं, पोखरा र मुस्ताङमा विक्री हुने गरेको छ । पछिल्लो समय चितवनका किसानहरुले समेत उक्त मलको प्रयोग गर्दै आएका छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker