चित्रसेन वनको साधारण सभा : एक बर्षमा झण्डै दुई करोड आम्दानी

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ८ स्थित चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको २२ औं बार्षिक साधारण सभा शनिबार गरिएको छ ।

चितवन निकुञ्ज सौराहा सेक्टर प्रमुख सहायक संरक्षण अधिकृत सन्तबहादुर मगर प्रमुख अतिथि रहेको सो कार्यक्रममा वनका अध्यक्ष श्रेष्ठले बार्षिक कार्ययोजना, सचिव रिता थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष नवल किशोर मर्दनीयाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक पुष्पराज मरहठ्ठाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सामुदायिक वनका पूर्व कर्मचारीहरु जीतराम महतो, बाबुराम चौधरी, स्वर्गीय देवबहादुर कुमालको परिवारलाई सम्मान गरिएको छ । सो सामुदायिक वनले एक बर्षमा झण्डै दुई करोड आम्दानी गर्न सफल भएको छ । साधारण सभामा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनमा आर्थिक बर्ष २०७९/८० मा १ करोड ८८ लाख ११ हजार रुपैया आम्दानी गरेको जनाइएको छ । सो सामुदायिक वनको मुख्य आम्दानीको श्रोत पर्या पर्यटन हो । एक बर्षमा एक करोड ८८ लाख ११ हजार आम्दानी गरेको सो वनले एक करोड ७८ लाख १३ हजार खर्च कटाएर ९ लाख ९८ हजार मुनाफा गर्न सफल भएको हो । सो सामुदायिक वनले पर्यटकलाई डुंगा सञ्चालनबाट एक करोड २६ लाख १० हजार, हात्ती सफारीबाट ३१ लाख ९४ हजार, काठ विक्रीबाट १८ लाख ६७ हजार, मचान सञ्चालनबाट ६ लाख ८३ हजार, नविकरण आम्दानी ४२ हजार, आवेदन शुल्कबाट ४ हजार, व्याज आम्दानी २ लाख ९३ हजार, नगरपालिकाबाट ९४ हजार, नेपाली पर्यटक प्रवेशबाट तीन हजार रूपैया आम्दानी भएको वनका कार्यालय सचिव कृष्ण आचार्यले जानकारी दिए ।

वनले आम्दानीको अधिकाँस हिस्सा वन संरक्षण र सामुदायिक विकासमा खर्च गरेको छ । वन व्यवस्थापन तथा वन्यजन्तुको बासस्थान सुधारमा २५ प्रतिशत, माबव वन्यजन्तु द्धन्द्ध न्यूनीकरणमा १० प्रतिशत, वन्यजन्तुबाट हुने क्षेतीको राहत कोषमा ५ प्रतिशत, संरक्षण शिक्षा, जनचेतनामुलक कार्यक्रममा ५ प्रतिशत, सामुदायिक विकास निर्माण तथा विपद् व्यवस्थापनमा १५ प्रतिशत, आयआर्जन तथा गरिवी निवारणमा १५ प्रतिशत, पर्यापर्यटन पूर्वाधार विकासमा १० प्रतिशत, आर्थिक संचित कोषमा ५ प्रतिशत र प्रशासनिक १० प्रतिशत खर्च गर्ने कार्ययोजनामा उल्लेख छ । वनले गरेको आम्दानी तोकिएको शिर्षक अनुसार खर्च गरिएको वनका अध्यक्ष पुष्पराज श्रेष्ठले बताए ।

कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष कृष्ण चौधरी, निवर्तमान वडाध्यक्ष विनोद बस्नेत, वडा नं ४ का वडाध्यक्ष रामकुमार चौधरी, मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरे, क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष गंगा गिरी लगायतले मन्तब्य राखेका थिए । उद्घाटनमा प्रस्तुत गरिएका तीन प्रतिवेदन साधारण सभाको बन्दसत्रमा सर्वसम्मत रूपमा पारित भएको छ । कार्यक्रम वनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker