सारस्वत रत्न पुरस्कार-२०८० बाट डाक्टर पौडेल सम्मानित

रत्ननगर, २७ माघ । प्राडा कृष्णप्रसाद पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित भएका छन् । उनको कृति `लय छुटेको समय´का लागि यो पुरस्कार दिइएको हो । रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबिच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन् । पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए ।
रत्ननगर नगरपालिकाबाट प्रकाशित सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने `सारस्वत रत्न पुरस्कार-२०८०´ यो वर्ष डाक्टर पौडेलद्वारा लिखित `लय छुटेको समय´लाई प्रदान गरिएको हो । प्रतिष्ठानले रत्ननगर नगरपालिकाका स्रस्टाले सिर्जना गरेका तथा प्रकाशन गरेका कृतिलाई पुरस्कार दिइने योजना अनुसार कृति आह्वान गरेको थियो । प्राप्त भएका कृतिमध्ये पौडेलको उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय पुरस्कार निर्णायक समितिले गत पुस महिनामा गरेको थियो । पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र छ ।
डाक्टर पौडेल अर्थोपेडिक विषयका प्राध्यापक हुन् । अर्थोपेडिक र स्पाइनल सर्जन उनी भरतपुर अस्पतालमा कार्यरत छन् । उनी सोही अस्पतालमा दुईपटकसम्म मेडिकल सुपरिटेन्डेन्ट भैसकेका छन् । पौडेलका यसअघि `खुसीहरूको वनवास´ कवितासङ्ग्रह र `कम्मरीदेखि कोभिड कहर´ (हाडजोर्नी, नसा र स्वास्थ्यसम्बन्धी जानकारी) पुस्तक प्रकाशित छन् । लय छुटेको समय डाक्टर पौडेलको संस्मरण हो । यसमा बिरामी र डाक्टरका भोगाइहरू समेटिएका छन् ।
कार्यक्रममा सम्मानित स्रस्टाको व्यक्तित्व र कृतित्वका बारेमा प्राध्यापक लक्ष्मण अर्यालले बोलेका थिए । कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्रस्टाले रचनावाचन गरेका थिए । कार्यक्रमलाई राजेन्द्र हमाल र कमल अर्यालले सहजीकरण गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker