सुरक्षित साकोसको नयाँ कार्यसमिति चयनका लागि १२ गते निर्वाचन

कालिका । कालिका नगरपालिका वडा नं ६ खोलेसिमलमा रहेको सुरक्षित बचत तथा ऋण सहकारी संस्थाको शनिबार विशेष साधारण सभा गरिएको छ । संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले व्यक्तिगत कारण देखाउदै पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु गर्न विशेष साधारण सभा गरिएको हो ।

संस्थाका उपाध्यक्ष दीपक लामिछानेले एक बर्ष अघि पदबाट राजीनामा दिएका थिए । साधारण सभाको बन्दसत्रमा लामिछाने नेतृत्वको समिति विघटन गरी नयाँ कार्यसमिति, लेखा समिति चयनका लागि निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन समितिको संयोजकमा केशब लामा तथा सदस्यहरुमा दिब्यश्वर केसी र सविता लामालाई चयन गरिएको संस्थाका सचिव लालुप्रसाद दाहालले जानकारी दिए । संस्थाको सञ्चालक समिति र लेखा समिति चयनका लागि फागुन १२ गते निर्वाचन हुने जनाइएको छ । २०७८ कार्तिक २५ गते भएको निर्वाचनबाट लामिछानेको नेतृत्वमा संस्थाको सञ्चालक समिति निर्वाचित भएको थियो ।

चार बर्षे कार्यकाल रहेको सो समिति अध्यक्षले राजीनामा दिएपछि कार्यकाल नसकिदै दुई बर्षमा विघटन गरी निर्वाचन प्रक्रिया सुरु गरिएको हो । कालिका नगरपालिकाका मेयर विनोद रेग्मी प्रमुख अतिथि रहेको विशेष साधारण सभामा अध्यक्ष लामिछानेले व्यक्तिगत कामका कारण आफुले पदबाट राजीनामा दिएको र विशेष साधारण सभा गरी जिम्मेवारी पुरा गरेको बताए । सो कार्यक्रममा अध्यक्ष लामिछानेले दुई बर्षमा आफुले संस्थाको हितमा गरेका काम समेत सार्वजनिक गरेका छन् ।

दुई बर्षको अबधिमा उत्कृष्ट कारोबारसंगै ७३ वटा नीति तथा कार्यविधि निर्माण र संशोधन, संस्थाको कामलाई प्रविधियुक्त बनाएको, ६२ जना उत्कृष्ट शेयर सदस्य, ७ जना ज्येष्ठ नागरिक र १२ जना कर्मचारीलाई सम्मान गरेको, ६०० जना शेयर सदस्यलाई सहकारी शिक्षा प्रदान गरेको, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई ग्रिनकार्ड र सुपर ग्रिनकार्डको व्यवस्था गरी व्याजदर कम गरेको, ८० बर्ष पुरा भएका शेयर सदस्यलाई पेन्सनको व्यवस्था सुरु गरेको, शेयर सदस्यहरुको दुई लाख सम्मको दुर्घटना बिमा गरेको अध्यक्ष लामिछानेले जानकारी दिए । विशेष साधारण सभामा चालु आर्थिक बर्षमा संस्थाले गरेको वित्तीय उपलब्ध समेत प्रस्तुत गरिएको छ ।

कार्यक्रममा मेयर रेग्मीले रोजगारी सृजना गर्ने गरी उत्पादनशिल क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गरे । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष टीकाराम रेग्मी, जिल्ला सहकारी संघका बरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, संस्थाका संस्थापक अध्यक्ष श्यामन्तकमणि लामिछाने, निर्वतमान अध्यक्ष सितलकाजी श्रेष्ठ, नगरपालिकाका सहकारी शाखा प्रमुख प्रकास पौडेल, अजम्बरी साकोसका निर्वतमान राजु केसी, मनकामना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष लक्ष्मी चौलागाईँ, नेपाली कांग्रेसका नगर सभापति दिब्यश्वर केसी,एमालेका नगर अध्यक्ष केशब लामा, माओवादी केन्द्रका नगर अध्यक्ष सविता लामा, रास्वपाका भोजराज थपलिया लगायतले मन्तव्य राखेका थिए । संस्थाका सचिव लालुप्रसाद दाहालले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष कोषाध्यक्ष कविता न्यौपानेले स्वागत मन्तव्य राखेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker