रत्ननगरका वडा सचिब र प्रधानाध्यापकहरुलाई अभिमूखिकरण

रत्ननगर । रत्ननगर नगरपालिका सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता ऐन, कानुनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिकाका १६ वटै वडाका सचिव एवं २७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको लागि व्यक्तिगत घटना दर्ता ऐन, कानुनसम्बन्धी अभिमुखीकरण दिइएको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौँका सिनियर सफ्टवेयर डेभलपर सञ्जित पौडेलले जन्म दर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, बसाइँ सराई, मृत्यु दर्ता, न्यायिक मृत्यु दर्ता, अदालती विवाह दर्ता, धर्मपुत्र–पुत्री राख्ने व्यवस्था, शैक्षिक प्रमाण पत्रमा देखिएका जटिलता, सामाजिक सुरक्षालगायतका विषयमा विद्यमान ऐन, कानुन र मुलुकी देवानी संहिता २०७४ ले व्यवस्था गरेको कानुनसम्बन्धी प्रशिक्षण दिएका थिए ।

उनले पञ्जिकरणसम्बन्धी सिफारिस वा प्रमाणीकरण गर्दा विद्यमान ऐन, कानुन र कार्यविधि संहिताको पालना गर्न र कानुनसम्बन्धी जानकारी लिएर मात्र गर्नुपर्नेमा जोड दिए ।

यस्तै, जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालले नागरिकतासम्बन्धी विद्यमान समस्या र नयाँ ऐन कानुनका विषयमा सहजीकरणसहितको प्रशिक्षण दिएका थिए । उनले नागरिकता ऐन-२०६३ ले व्यवस्था गरेका प्रचलित कानुन, नागरिकता विधेयकका प्रावधान, अंगीकृत नागरिकताको प्रावधान, आमाको नामबाट नागरिकतालगायतका विषयमा प्रस्तुति दिएका थिए ।

समापन कार्यक्रममा सम्बोधन गर्दै सामाजिक विकास समिति संयोजक बालकृष्ण चापागाईंले संविधानले परिलक्षित गरेको सुशासनको प्रत्याभूति दिलाउन तथा सुरक्षाको चुनौती कम गर्न सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्तामा सम्बन्धित पञ्जिकाधिकारीले इमानदार भएर लाग्न निर्देशन दिए ।

कार्यक्रममा कार्यक्रम संयोजक सामाजिक सुरक्षा तथा पञ्जिकरण उपशाखाका प्रमुख रामप्रसाद बस्ताकोटीले सञ्चालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker