दादुरा–रुबेला खोपको योजना तर्जुमा तथा अभिमुखीकरण

रत्ननगर । रत्ननगर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरस्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुको लागि एकदिने योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यवाहक नगरप्रमुख होमनाथ रानाभाटको अध्यक्षता एवं निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपा घिमिरेको आतिथ्यतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत माधवप्रसाद पौडेलले दादुरा–रुबेला खोप अभियान फागुन २२ गतेदेखि ३० गतेसम्म रत्ननगर नगरपालिकाका ३६ सामुदायिक विद्यालयका १५ वर्षमुनिका २१ हजार ३०७ जनालाई विद्यालयमा र पाँच वर्षमुनिका ४ हजार ४०८ जना विद्यार्थीका लागि स्वास्थ्यकेन्द्रमार्फत खोप लगाइने उनले जानकारी दिए ।

बकुलहर रत्ननगर अस्पतालका बालरोग विशेषज्ञ डा. निश्चल मास्केले कार्यक्रमको सहजीकरण गर्दै दादुरा–रुबेला रोगबाट एक जना सङ्क्रमित व्यक्तिले १८ जनालाई सङ्क्रमित बनाउने भएकाले खोपको पूर्णमात्रा लगाएर सुरक्षित हुन आग्रह गरे ।

दादुरा–रुबेला भाइरसको सङ्क्रमणबाट सामान्य रुघाखोकीको लक्षण देखिने, खोकी लाग्ने, आँखा रातो हुने, उच्च ज्वरो आउने, शरीरमा बिमिरा देखिनेदेखि हाडजोर्नी सुन्निने, अन्धोपना, निमोनिया, सिजरिङ, गर्भपतन, शिशु मृत्यु, बहिरोपना, अपाङ्गताजस्ता जटिलता हुने भएकाले खोप लगाउन आवश्यक रहेको बताए ।

जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य निरीक्षक चन्द्रबहादुर हमालले १३ प्रकारका रोगविरुद्ध खोप अभियान सञ्चालन हुँदै आएको र हरेक चार/चार वर्षको फरकमा दादुरा–रुबेला खोप सञ्चालन भइरहेको र खोपको ८६ प्रतिशत प्रगति देखिएको बताए ।

अझै पनि नेपालमा चार प्रतिशत बालबालिकाले सबै खोपबाट वन्चित हुनुपरेको बताए । सन् २०२६ सम्ममा दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य रहेको उनले सुनाए । चितवनको इच्छाकामनामा ५२ जनामा दादुरा–रुबेलाको आउट ब्रेक भएसँगै दादुरा–रुबेला निवारणमा चुनौती रहेको उनले बताए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईं, आयुर्वेद स्वास्थ्यकेन्द्र रत्ननगरका प्रमुख डा. कोपिला अधिकारी, बकुलहर रत्ननगर अस्पतालका सामुदायिक स्वास्थ्य प्रमुख नारायण ढुङ्गाना, १६ वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, जनस्वास्थ्य निरीक्षक नरहरि श्याम शर्मा, सिअनमी निरीक्षक रुकमाया शर्मालगायतको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker