रत्ननगरलाई क्षयरोगमुक्त बनाउने अभियान

नगरस्तरीय समिति गठन तथा अभिमुखीकरण

रत्ननगर । स्वास्थ्य शाखाको आयोजनामा क्षयरोगमुक्त पालिका अभियानका लागि नगरस्तरीय समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रत्ननगर नगरपालिकाका नगरप्रमुख प्रलाद सापकोटाको अध्यक्षतामा गठित नगरस्तरीय समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरस्तरीय महिला सञ्जालका प्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, बकुलहर रत्ननगर अस्पतालका मेसु, जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रका प्रतिनिधि, स्वास्थ्यचौकीका प्रमुख, सामुदायिक विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य शाखा प्रमुख पदेन सदस्य रहेका छन् ।

अभिमुखीकरण कार्यक्रममा स्वागत मन्तव्यसहित क्षयरोग कार्यक्रमका बारेमा जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले नेपालले सन् २०५० सम्ममा क्षयरोगमुक्त गर्ने दीर्घकालीन लक्ष्यका साथ पहिलो चरणमा २५ पालिका र दोस्रो चरणमा एकसय पालिकामा यो कार्यक्रम लागू भएको बताए ।

एकसय पालिकामध्ये चितवनमा रत्ननगर र खैरहनीमा क्षयरोगमुक्त पालिका अभियान सुरू गरिएको र गत वर्ष रत्ननगरमा १२२ जनामा क्षयरोगका रोगी पत्ता लागेको र उनीहरुले डट्स सेवा लिइरहेको जानकारी दिए । जनस्वास्थ्य अधिकृत पौडेलले अभियानअन्तर्गत १६ वटै वडामा वडास्तरीय समिति गठन गरी खकार जाँच, एक्सरे, घरदैलो, टिबी स्क्रिनिङ गरी उपचारको व्यवस्था गरिने र सँगसँगै कुपोषणको लागि पोषण कार्यक्रम पनि सञ्चालन गरिने बताए ।

जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ट अधिकृत एवं टिबी कार्यक्रमका फोकल पर्सन जयराम दुवाडीले कोरोना भाइरसपछि समस्याका रुपमा देखापरेको क्षयरोग एसियाको दुईतिहाइ जनसंख्यामा रहेको उनले बताए । चितवनका सात स्थानीय पालिकामा हरेक वर्ष ९९० जनामा क्षयरोगका बिरामी भेटिने गरेको बताउँदै उनले एकजना टिबी भएका व्यक्तिले १० देखि १५ जनासम्मलाई रोगी बनाउने उनले जानकारी दिए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले सबैको सहकार्यबाट समुदायका मानिसलाई क्षयरोगबारे सचेत भई सहजीकरण गर्न आग्रह गरे ।

रत्ननगर नगरपालिकाका क्षयरोग कार्यक्रममा संयोजक आशिका घिमिरेले सञ्चालन गरेको कार्यक्रममा जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेती, जिल्ला आयुर्वेद स्वास्थ्यकेन्द्रका डा. देवेन्द्र यादव, बकुलहर माविका प्रधानाध्यापक नारायणप्रसाद पौडेल, गैरसरकारी संस्थाका तर्फबाट अनिता अर्याल, कार्यपालिका सदस्य यशोदा अधिकारी पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको समापन गर्दै सामाजिक विकास समितिका संयोजक बालकृष्ण चापागाईंले क्षयरोगमुक्त नगर बनाउन सबै सरोकारवाला व्यक्तिले आत्मसात् गर्दै कार्यक्रम अगाडि बढाउन आग्रह गरे ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker