सबै स्थानीय तहमा दन्त चिकित्सकको दरबन्दी सिर्जना गर्न नेपाल डेन्टल एशोसिएशनको माग

काठमाडौं, ७ चैत । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसिएशनले देशभरका सबै स्थानीय तहका दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न सरकारसमक्ष माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एशोसिशनले सरकारसँग यस्तो माग गरेको हो । मार्च २० तारिखका दिन विश्वभर मुख स्वास्थ्य दिवस बनाइने गरिन्छ । यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा ‘ह्यापी माउथ इज अ ह्यापी बडी’ रहेको छ ।


एशोसियसनले संसारको ९० प्रतिशत जनसंख्याको आफ्नो जीवनमा एकपटक दाँत किराले खाने, गिजाको समस्या एवं मुखको क्यान्सरको समस्याबाट पीडित हुनसक्ने उल्लेख गरेको छ । मुखको क्यान्सर सुर्ति तथा सुर्तिजन्य पदार्थ र अल्कोहल सेवन गर्नेहरुमा उच्च जोखिम रहने बताइएको छ ।
विकसित मुलुकहरुमा मुख तथा दन्त उपचारमा कुल स्वास्थ्य बजेटको ५ देखि १० प्रतिशत खर्च हुने भएपनि नेपालमा दन्त उपचारमा न्युन बजेट रहेको भन्दै एशोसिएशनले सरकारको ध्यानाकार्षण गराएको छ ।


एशोसियशनका अध्यक्ष डा. प्रणय रत्न शाक्यले विश्व मुख स्वाथ्य दिवस संसारभर भव्य रुपमा मनाइने भएपनि नेपालमा भने यसको प्रभाव कम रहेको बताए । मुख स्वास्थ्य दिवसलाई स्थान दिन माग गर्दै आफूहरुले विभिन्न काम गर्दै आएको बताए ।
कान्ति बाल अस्पतालमा कार्यरत डा. कुम्भराज जोशीले मुख स्वास्थ्य सम्बन्धी समस्या आउँदा धेरै ध्यान नदिइने गरिएको पाइएको बताएका छन् । मुख स्वास्थ्य सम्बन्धी समस्या धेरै भएपनि त्यसको उपचार र समस्या समाधानका लागि हुनुपर्ने पहल नभएको बताए ।
अहिले वार्षिक रुपमा एक हजारभन्दा बढी दन्त चिकित्सकहरु उत्पादन भइरहँदा पनि सरकारले व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । जनशक्ति उत्पादन भइरहँदा पनि मुख स्वास्थ्य सम्बन्धी समस्या समाधान हुन बाँकी रहेको बताए । साथै, उनले तत्काल दन्त चिकित्सकहरुको दरबन्दी सिर्जना गर्न पनि सरकारको ध्यानाकार्षण गराए ।


‘स्थायनीय सरकारमा पनि दन्त चिकित्सकहरुको दरबन्दी बनाइयोस् । त्यो भन्दा माथिल्ला अस्पतालहरुमा दन्त चिकित्सक र विशेषज्ञ दन्त चिकित्सकहरुको दरबन्दी यथाशीघ्र सञ्चालन गरियोस् भन्ने हाम्रो माग छ,’– उनले भने ।
एशोसिएशनका महासचिव डा.विश्व प्रकाश ठकुरीले आफूहरुले गरेको जस्ता कार्यक्रम नेपाल सरकारले बजेट विनियोजन गरेरै गर्नुपर्ने बताए । उनले अरु दिवसजस्तै सरकारले आगमी दिनमा सरकारले मनाउन पर्ने भन्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकार्षण गराए ।


स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले पछिल्लो समय नसर्ने प्रकृतिका रोगहरुको भयावह अवस्था आउन सक्ने भएकाले दरबन्दी त्यतातिर केन्द्रीत रहेको बताए । पछिल्लो समय मधुमेह, उच्चरक्तचाप, मृगौला रोग, मुटु रोग हुँदै दाँत तथा मुख सम्बन्धी रोगको प्रकोप बढ्दो रहेको बताए । सबै क्षेत्रमा आवश्यक दरबन्दी सरकारले दिन नसके पनि दाँत तथा मुख स्वास्थ्यका क्षेत्रमा विगतका तुलनामा धेरै काम भइरहेको बताए । डा. बुढाथोकीले स्थानीय तह, प्रदेशस्तरका अस्पतालमा दन्त चिकित्सकहरुको व्यवस्थापनको काम विभागबाट भइरहेको बताए । पुरानो ओरल हेल्थ पोलिसीलाई अब ओरल हेल्थ स्टाटेजीको रुपमा विकसित गरिने पनि उनले बताए ।


प्रत्येक वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रले पनि अब दाँत तथा मुख स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ । अस्पतालहरुले पनि गर्छन । हामीले कमसेकम भएका स्वास्थ्यकर्मीहरुलाई प्रशिक्षण दिएर काम गर्न सक्ने बनायौं भने विस्तारै दरबन्दी सिर्जना गर्न हामीलाई सजिलो हुन्छ ।
अहिले हरेक जिल्लामा रहेका जिल्ला अस्पताल, प्रादेशिक अस्पताल, संघीय अस्पताल र विशिष्टिकृत अस्पतालहरुमा पनि डेन्टल सर्जन र विशेषज्ञहरुको दरबन्दी राखेको उनले बताए । १५ बडेको अस्पतालमा पनि एक जना दन्त चिकित्सक दिनुपर्छ भन्ने सरकारको धारणा रहेको उनले बताए । ती भन्दा तल्लो तहका अस्पताल र स्वास्थ्य संस्थाहरुमा त्यही भएका जनशक्तिहरुलाई तालिम दिएर काम गरिनुपर्ने बताए ।
साथै, विभागमा मुख स्वास्थ्य दिवस मनाउने गरी कार्यतालिका रहेको बताए । उनले आफ्नो पेसालाई उच्च र सम्मानित बनाउन दिवस मनाउन आवश्यक रहेको बताए । साथै उनले अब दाँत तथा मुखसम्बन्धी रोगबारे जनचेतना फैलाउने कार्यमा लाग्न दिवस नै कुरेर नबस्न समेत उनले सबै दन्त चिकित्सकहरुलाई आग्रह गरे ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker