स्वागत नेपालको दाबी, ‘सहकारी ठगी प्रकरणमा जिबी राईविरुद्ध जति प्रमाण छन्, त्यतिनै रवि लामिछानेविरुद्ध पनि छ’

काठमाडौं, ९ चैत । अधिवक्ता स्वागत नेपालले देशको शासन अपराधीहरुले गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका नेताहरुमा अपराधीमा हुनुपर्ने कानुनले तोकेको अयोग्ता पूर्ण रुपमा रहेको बताएका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले पाँच हजार मारेको हुँ, पाँच हजारको जिम्मा लिन्छु भनी अभिव्यक्ति दिएको उनले बताए । साथै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सरकारलाई विश्वासको मत दिने शर्तमा दोहोरो राहदानीको मुद्दाबाट उन्मुक्ति पाएको उनको आरोप छ ।


‘नेपालमात्रै एउटा यस्तो देश हो, जहाँ औपचारिक रुपमा, प्रमाणित रुपमा अपराधीहरुले शासन गरिरहेका छन् । प्रधानमन्त्री स्वयं म पाँच हजार मारेको जिम्मा लिन्छु भन्नुहुन्छ सार्वजनिक रुपमा । गृहमन्त्री स्वयं दुई वटा राहदानी बोकेर हिँड्ने मान्छे हो । उहाँलाई मुद्दा नचलाउने मात्रै निर्णय भएको हो, महान्यायधिवक्ताको कार्यालयबाट । एउटै शर्तमा कि– उहाँले सरकारलाई विश्वासको मत दिने प्रतिवद्धता जनाउनु भएको थियो,’– उनले भने ।
देशमा भइरहेका विभिन्न भ्रष्टाचार र काण्डबारे अनुसन्धान गर्ने हो भने पहिलो अनुसन्धान रवि लामिछानेबाटै हुनुपर्ने उनको भनाइ छ । लामिछानेको दोहोरो राहदानी, सहकारी ठगीलगायतका प्रकरणहरु छानविन हुनुपर्ने उनको भनाइ छ । अधिवक्ता नेपालले सहकारी ठगी प्रकरणमा जिबी राईविरुद्धमा जति प्रमाण छन्, लामिछानेविरुद्ध पनि उत्तिकै प्रमाण रहेको उनले बताए ।
‘दोहोरो पासपोर्टमा र सहकारी ठगीमा । सहकारी ठगीमा उहाँका विरुद्ध जति प्रमाणहरु छन्, त्यतिनै प्रमाण भएको कारणले मात्रै जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जति प्रमाण जिबी राईका विरुद्धमा छन् । उहाँका सम्बन्धमा पनि त्यतिनै छन् । एउटालाई पक्राउ पुर्जी जारी हुने, अर्कोलाई नहुने किन ?’ उनले प्रश्न गरे ।
लामिछानेविरुद्ध सहकारी ठगीमा पुरक जाहेरी दरखास्त दर्ता भएको उनले बताए । सहकारी ठगीमा लामिछानेलाई प्रधानमन्त्रीले संसद्मा आएर बचाउ गरेको उनको भनाइ छ । प्रचण्ड आफैं न्यायाधीश बन्न खोजेको उनको आरोप छ । गृहमन्त्री लामिछानेलाई बचाउने सवालमा प्रधानमन्त्री प्रचण्डले केपी ओलीले विगतमा गरेको गल्ती दोहोर्याएको उनको दाबी छ । सहकारी ठगी प्रकरणमा कांग्रेसले विरोध जनाउँदा ‘कांग्रेस चाहीँ दुधले नुहाएको पार्टी हो त ? तिमीले चाहीँ खान हुने, हामीले नहुने ? अब हाम्रो पालो हो’ भनेर लामिछानेले भनेको उनको दाबी छ ।
साथै, प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) का प्रमुख श्यामलाल ज्ञवालीको नागरिकतामा कैफियत रहेको उनको दाबी छ । ‘सिआईबीको प्रमुखकै जागिर खाँदाखेरी जागिर खाने उमेर पुगेको थिएन । प्रमाणित नै छ, मिडियामा आएको छ,’– उनले भने ।
देशको नेतृत्व गर्छु र अपराध नियन्त्रण गर्छु भन्ने दुवै निकायका पदाधिकारीहरुसँग कानुनले तोकेको अयोग्ताहरु पूर्ण रुपमा रहेको उनको भनाइ छ । नेताहरुको अकर्मन्यताका कारण विदेश जाँदासमेत नेपाली राहदानी बोकेकाहरुलाई अर्को व्यवहार गर्ने गरिएको उनको दाबी छ ।
जनतामा चेतनाको तह कमजोर भएको फाइदा नेताहरुले उठाइरहेको उनको भनाइ छ । अहिले नेपालमा शिक्षा र कृषिमन्त्री बन्नलाई गौरवको विषय नभएर लाजको विषयका रुपमा हेरिने गरिएको उनको भनाइ छ ।
गुण्डा परिचालन र अपराध ढाकछोप गर्ने मन्त्रालयको नेतृत्व पाउँदा गौरवको विषय मान्ने परिपाटी रहेको उनले बताए । नेताको पेसा नै भ्रष्टाचार गरेर खाने हो भन्ने अदालतले समेत ललिता निवास जग्गा प्रकरणमा प्रमाणित गरिदिएको उनको आरोप छ । राजनीतिक नेतृत्वले गरेको निर्णय कार्यान्वयन गरेका कार्मचारीलाई अदालतले खोजीखोजी जेल पठाएको उनले बताए ।
अधिवक्ता नेपालले यो व्यवस्थाको अन्त्य जरुरी रहेको बताए । उनले गृहमन्त्री लामिछानेलाई विदेशीहरुले खोजीरहेको एजेण्टका रुपमा चित्रण गरे । लामिछानेले पहिलो एजेण्डा नै व्यवस्था यही टिकाउने हो भनेर उद्घोष गरेको उनले बताए ।
आफू व्यक्तिगत रुपमा मृत्यु दण्डको पक्षमा रहेको बताए । अधिवक्ता राज्यको सूचना विदेशीलाई बेच्ने र नीतिगत भ्रष्टाचार गर्नेलाई कानुन बनाएर नै मार्न जरुरी रहेको उनको भनाइ छ ।
‘म चाहीँ व्यक्तिगत रुपमा मृत्युदण्डको पक्षमा छु । देशको सूचना विदेशीलाई बेच्ने, नीतिगत भ्रष्टाचार गर्ने, यिनलाई कानुन बनाएर मृत्युदण्ड जरुरी छ । जनता मर्ने होईन, हिजोजस्तो चौकी हान्दै हिँड्ने होईन । सुराकी भनेर ठोक्दै हिँड्ने होईन । पहिला नेता मार्न जरुरी छ, कानुन बनाएर मार्न जरुरी छ । त्यो भनेको मृत्यु दण्ड हो,’– उनले भने ।
अधिवक्ता नेपालले प्रचण्डले हतियार उठाएर युद्धमा होमिँदाका समस्याहरु अहिले पनि जस्ताकोतस्तै रहेको दाबी गरे । वर्तमान व्यवस्थाले देशलाई पछाडि धकेल्दै अगाडि बढिरह्यो भने फेरि पनि हतियार उठ्ने उनको चेतावनी छ । राजनीतिक रुपमा सार्वभौमसत्ता सम्पन्न भनेर आर्थिक रुपमा नागरिकलाई विपन्न बनाइराख्ने छुट कसैलार्इै पनि नरहेको उनले बताए ।
‘जतिबेला हतियार उठेको थियो नि यो देशमा, त्यो हतियार उठाउन पर्नुको कारण अहिले पनि जस्ताकोतस्तै छन् । यो व्यवस्था अझै देशलाई पछाडि धकेल्दै अगाडि बढ्ने हो भने हतियार फेरि उठ्छ ।’ उनले भने, ‘त्यसको औचित्य फेरि साबित भएको छ । त्यतिकै सर्वोच्च अदालतभित्र हतियार पुग्दैन । संकेत हो यो, व्यवस्था अन्त्यको जरुरी छ । नत्र आर्थिक समुन्नतितर्फ हामी जाँदैनौं । राजनीतिक रुपले सार्वभौम सत्ता सम्पन्न भन्ने, आर्थिक रुपमा सबै जनतालाई विपन्न बनाउने, त्यस्तो चल्नेवाला छैन ।’
वर्तमान सरकारको आयु लामो छैन, जतिबेला पनि ढल्न सक्छः विश्लेषक खनाल
काठमाडौं, ९ चैत । राजनीतिक विश्लेषक रञ्जन खनालले देशको राजनीति बेइमानहरुले चलाइरहेको टिप्पाणी गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले देशमा चोरले शासन सत्ता चलाइरहेको टिप्पणी गरेका हुन् । अहिलेको नेतृत्वबाट सुशासन र समृद्धिको अपेक्षा गर्नु मुर्खताबाहेक अरु केही नभएको उनकोभ भनाइ छ । ‘अहिले बेइमानहरुले राजनीति चलाइरहेका छन् । चोरहरुले शासन सत्ता चलाइराखेका छन् । त्यसकारण हामी सुशासनको अपेक्षा राख्छौं भने त्यो हाम्रो मुर्खतामात्रै हुन्छ । त्यसकारण हामी यो व्यवस्था फाल्न चाहन्छौं,’– उनले भने ।


नेपाली कांग्रेसका नेता शंकर भण्डारीले हिन्दु राष्ट्रको एजेण्डा उठाएर जनताको विचार बोकेको उनको दाबी छ । सिंगो कांग्रेस भागबण्डा र लुटको पक्षमा हुँदा पनि भण्डारीले भने जनताको भावनालाई बोक्न सफल भएको उनको दाबी छ । ‘शंकर भण्डारीले देशका जनताको विचार बोकेको हो, नेपाली कांग्रेसको होईन । कांग्रेस परिवर्तनको पक्षमा छैन । कांग्रेस भागबण्डा र लुटको पक्षमा छ,’– उनले भने ।
साथै, कांग्रेसका सांसदसमेत रहेका विनोद चौधरी बाँसबारी छालाजुत्ता कारखानको जग्गा घटला प्रकरणमा जोडिएपछि आफूहरुले ‘विनोद चौधरीले साच्चै भ्रष्टाचार गरेका हुन् ? विनोद चौधरीले ठगी र किर्ते गरेका हुन् ? यसमा दलको धारणा के छ ?’ भनेर कांग्रेसलाई संस्थागत रुपमा प्रश्न गरेपनि कुनै जवाफ नपाएको उनले बताए ।
साथै, भुटानी शरणार्थी प्रकरणमा भएको छानविन नेपाल सरकारको पहलमा नभएको उनको दाबी छ । विश्लेषक खनालले विदेशी शक्तिको दवाबमा उक्त छानविन अगाडि बढिरहेको जिकिर गरे । नेपाली नागरिकता च्यात्न सहयोग गर्ने नेताहरुलाई सत्तामा बसिरहने अधिकार नभएको उनको भनाइ छ । सुशासनको आशा राख्ने हो भने अब यो व्यवस्था र संविधानको फाल्नुको विकल्प नरहेको उनले बताए । उनले संघीयताका कारण साधरण खर्चतर्फ ७० प्रतिशत बजेट खर्च हुन थालेको बताए । उनले कांग्रेसभित्र धेरै देशभक्त नेताहरु भएपनि उनीहरुको आवाज बन्द भएको बताए ।
साथै, वर्तमान सरकारको आयु लामो नरहेको र कुनै पनि बेला ढल्न सक्ने उनको दाबी छ । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनयुघद्धको धङधङी नराख्न आग्रह गरे ।
उनले भ्रष्टाचारका विरुद्धमा लिष्टहरु पेश गर्ने हिम्मत गर्न कांग्रेसका नेताहरुलाई आग्रह गरे । यस्तो प्रकारका गतिविधि भइरहे देशमा विद्रोहको सुरुवात हुने बताए । उनले विद्रोहको झिल्कोको सुरुवात दुर्गा प्रसाईँले गरिसकेको बताए । उनले सरकारलाई स्टन्ट नगर्न र व्यापारीहरुलाई नतर्साउन आग्रह गरे ।
नेपाली समाज कांग्रेस–कम्युनिष्टको दासताबाट मुक्त हुन सकेनः अर्थविद् न्यौपाने
काठमाडौं, ९ चैत । अर्थविदु् गोपीलाल न्यौपानेले नेपाली समाज अझै दासताबाट मुक्त हुन नसकेको टिप्पणी गरेका छन् । आज (शुक्रबार) परिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजतन्त्रमा राजाको र अहिले ओली, प्रचण्डलगायतको दासको रुपमा नेपाली समाजले आफूलाई विकास गरिरहेको बताए । नेपाली समाजले दासताबाट मुक्त भएर स्वतन्त्रताको स्वास फेर्न आवश्यक रहेको उनले बताए । उनले भने, ‘कसैलाई केपी ओलीजीको दास बन्नुछ, कसैलाई प्रचण्डको दास बन्नुछ, कसैलाई ज्ञानेन्द्रको दास बन्नुछ, कसैलाई रविजीको दास बन्नुछ । यहाँ दासैदासको समाज भयो । त्यसैले यो पहिला दासताबाट मुक्त हुनुस् । एकचोटी स्वतन्त्रताको स्वास फेर्नुस् । अब फेरी नेपालमा व्यवस्था परिवर्तन गर्न आवश्यक छैन ।’

वर्तमान व्यवस्थालाई नै हामीले निर्माण गर्नुपर्ने उनको भनाइ छ । वर्तमान व्यवस्थाले राजनीतिक, आर्थिक र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्नसक्ने उनको भनाइ छ । कांग्रेस र कम्युनिष्टको शोषणबाट आक्रान्त भएका नेपालीहरुलाई फेरी फालिएको राजतन्त्र ल्याएर पिल्साउन नहुने उनको तर्क छ ।
वर्तमान व्यवस्था पुँजीवादी भएपनि हालिमुहाली समाजवादी र साम्यवादको वकालत गर्नेहरुले गरेको उनको आरोप छ ।
साथै, सरकारले स्टन्ट गरेर पुँजीपति, उद्योगी र व्यवसायीहरुलाई आतङ्कित पार्ने गरेको भन्दै उनले उक्त कार्यको विरोध गरे । अर्थविद् न्यौपानेले पुँजीपति, उद्योगी, व्यवसायी र लगानीकर्ता भएमा मात्रै देश विकास र रोजगारी सिर्जना हुने बताए ।
‘सरकारमा बसेर स्टन्ट गर्ने होईन, कसैलाई आतङ्कित पार्ने होईन । हामीलाई पुँजीपतिहरु चाहिएको छ । उद्योग, विदेशी लगानी चाहिएको छ । अनि पो यहाँ रोजगारी हुन्छ,’– उनले भने ।
जातको आधारमा राजनीति गर्न खोज्नेहरुलाई समाजवाद बहिस्कार गर्नुपर्ने उनले बताए । उनले नागरिक अभियन्ताको नाममा विकृति फैलाउनेहरुमाथित कारबाही गरिनुपर्ने बताए ।
अर्थविद् न्यौपानेले यही व्यवस्थाले देशमा सुशासन र समृद्धि दिन सक्ने दाबी गरे । वर्तमान व्यवस्थामाथि केहीले स्टन्ट गरेर प्रश्न उठाएको भन्दै उनले तिनीहरुलाई भेलुबाजेको संज्ञा दिए ।

जनतामाझ साधु भएर प्रस्तुत हुने र सत्तामा पुगेपछि किर्नो बनेर निस्कने प्रवृत्ति नेतृत्वमा देखियोः पूर्वगभर्नर क्षेत्री
काठमाडौं, ९ चैत । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको सबैभन्दा ठूला समस्या दण्डहीनता र भ्रष्टाचार रहेको बताए । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विज्ञहरुसँगको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले साधु भएर समाजमा प्रस्तुत भएको नेता शक्तिमा गएपछि भ्रष्ट भएर निस्कने गरेको बताए । देशमा सुशासनको खडेरी रहेको र भ्रष्टाचार व्याप्त रहेको उनको दाबी छ । उनले जो सत्तामा बस्यो ऊ किर्नोजस्तो मोटाउन चाहने र ढाडिएर निस्कने गरेको आरोप लगाए ।
वर्तमान व्यवस्था ठीक भएपनि यसको सञ्चालकहरुको कमीकमजोरीका कारण अहिले वितृष्णा पैदा भइरहेको बताए । अहिलेको व्यवस्था उत्कृष्ट रहेको र यसले विभिन्न प्रकारको हकको सुनिश्चितता गरेको भन्दै पूर्व गभर्नर क्षेत्रीले राजनीतिक नेतृत्व इमानदार भएको खण्डमा यही व्यवस्थामा देशको विकास र समृद्धि सम्भव रहेको दाबी गरे ।


‘कुनै पनि व्यवस्था आफैंमा बेठीक हुँदैन । त्यो व्यवस्थालाई ठीक र बेठीक बनाउने त्यसका सञ्चालक र जनताहरु नै हुन् । अहिलेको यो व्यवस्थामा ३२ वटा मौलिक हक संविधानले ग्यारेण्टी गरेको छ ।’ उनले भने, ‘त्यसमा वाक स्वतन्त्रतादेखि महिला, बालबासिलका र युवाहरुको अधिकारको समेत डिफाइन गरिएको छ । संविधानले निर्देशित गरेको कुरा हामी अग्रगामी समाजमा अगाडि बढ्दैछौं भनेको छ ।’
पछिल्लो समय राजनीतिक नेतृत्वमा सत्तामा रहँदा जे बोलेको छ, आफू विपक्षमा पुग्दा त्यसबाट यूटर्न हुने प्रवृत्ति देखिएको उनले बताए । त्यस्तो प्रकारको प्रवृत्ति देशको लागि घातक हुने उनको ठहर छ । राजनीतिमा देखिएका यस्ता प्रकारका विकृतिहरुको समाधानका लागि जनस्तरबाटै दबाव सिर्जना गर्न आवश्यक रहेको उनको भनाइ छ । पूर्व गभर्नर क्षेत्रीले राम्रो काम गरेकालाई प्रोत्सहान र गलत गर्नेको विरोध गर्ने परिपाटी निर्माण भएको खण्डमा संविधानले कल्पना गरेको अवस्थामा देश अगाडि बढ्न सक्ने बताए ।
हक अधिकारका निमित्त नागरिकहरु सचेत र चनाखो हुन सकेको अवस्थामा र निरन्तर खबरदारी गर्दै गएको अवस्थामा मुलुकमा परिवर्त सम्भव रहेको बताए ।

 

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker