इण्डो–नेपाल टी–२० च्याम्पियनसीपः लखनउको लगातार दोस्रो जित, बागमती र मधेशको लगातार दोस्रो हार

चितवन, चैत १०–
चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतका पीएसआर ग्रुप लखनउँ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा आज (शनिबार) को पहिलो खेलमा लखनउँले लगातार दोस्रो जित निकाल्यो । बागमती प्रदेशलाई १०२ रनको फराकिलो अन्तरले पराजित गर्दै लखनउले लगातार दोस्रो जित दर्ता गरेको हो । लखनउले दिएको १६९ रनको लक्ष्य पछ्याएको बागमती ११.१ ओभरमा ६६ रनमै अलआउट भएको थियो । बागमती पहिलो ओभरमै बिना रन २ विकेट गुमाउँदै पुरै दवाबमा परेको थियो । टिमको ८ रन हुँदा बागमतीले ७ विकेट गुमाई सकेको थियो । बागमतीको आठौं विकेटका लागि विपिन आचार्य र तिलकराज भण्डारीले १९ रनको साझेदारी गर्दै रन उकासेका थिए । तिलक मात्रै २ रनमै आउट हुँदा बागमती २७ रनको अवस्थामा थियो । विपिन र अभिषेक कोइराला मिलेर नवौं विकेटका लागि ३२ रनको साझेदारी बनाएका थिए । बागमतीले ५९ रनको अवस्थामा विपिन आचार्यलाई गुमाएको थियो भने ६६ रनको अवस्थामा अन्तिम विकेटको रुपमा मनोज यादव आउट भएका थिए ।
बागमतीका लागि विपिन आचार्यले सर्वाधिक २३ बलमा ३० रनको योगदान दिए । उनले ३ चौका र २ छक्का प्रहार गरे । अभिषेक कोइराला अविजित रहँदै १२ बलमा २१ रन बनाए । उनले एक चौका २ छक्का प्रहार गरे । बागमतीका ५ ब्याटर शून्यमै आउट भएका थिए ।


बागमतीलाई सस्तैमा समेट्न लखनउका अर्पित शुक्ला ३ ओभरमा मात्र ३ रन खर्चिदै ४ विकेट लिए । मोहम्मद सरिमले ३.१ ओभरमा २० रन खर्चिदै ४ विकेट, प्रिन्स शाहीले ३ ओभरमा २२ रन खर्चिदै २ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गर्दै लखनउले ७ विकेटको क्षतिमा १६८ रन बनाएको थियो । उसका लागि सहिम हसनले ५८ रनको अर्धशतकीय पारी खेलेका थिए । ४२ बल खेलेका हसनले ५ चौका र ३ छक्का प्रहार गरे । निखिल राव २७ र शुभम चौधरीले १९ रन बनाए । लखनउले निकै राम्रो सुरुवात पाएको थियो । ओपनर शुभम चौधरी र सहिम हसनले पहिलो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । तर चौधरी आउट भएपछि ५८ रनको अवस्थामा लखनउले ३ विकेट गुमाउन पुगेको थियो । चौथो विकेटका लागि हसन र निखिलले ६० रनको महत्वपूर्ण साझेदारी गर्दै टिमलाई बलियो अवस्थामा पु¥याएको थियो । लखनउले १३६ रनको अवस्थामा लगातार दुई विकेट गुमाएको थियो । लखनउले १६१ रनको अवस्थामा ७औं विकेट गुमाएको थियो ।
बागमतीका लागि मनोज यादव र इशान पाण्डेले समान २ विकेट लिए भने तिलकराज भण्डारी र विपिन आचार्यले समान एक विकेट लिए ।


यस्तै आजै भएको दोस्रो खेलमा तालतला इन्स्टिटाइट कोलकाता ३ विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुवात ग¥यो । मधेश प्रदेशले दिएको १७७ रनको लक्ष्य पछ्याएको कोलकता १९.३ ओभरमा ७ विकेट गुमाउँदै पुरा ग¥यो । कोलकतालाई जिताउन प्रशान्त श्रीवास्तबले ५५ रनको अर्धशतकीय पारी खेले । विकास चौधरीले २८ र सन्दीप गुप्ताले २४ रन बनाए । कोलकतालाई अन्तिम ओभरमा जितका लागि १२ रन आवश्यक थियो । एक समय दवाबमा परेको कोलकता अन्तिम ओभरको पहिलो बलमै अतिरिक्त ४ रन पाएपछि जित नजिक पुगेको थियो । अन्तिममा शौरभ यादवले छक्का प्रहार गर्दै कोलकतालाई जित दिलाए ।
मधेशका लागि भुलन सहनी र अभिषेक तिवारीले समान २ विकेट लिए । सहनीले ४ ओभरमा ३५ रन खर्चिए भने तिवारीले ३४ रन खर्चिन पुगे । विशाल पटेलले एक विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको मधेशले ८ विकेटको क्षतिमा १७६ रन बनाएको थियो । मधेशका लागि अभिषेक तिवारीले २५ बलमा ४३ रन, विशाल सुसलिङले २१ बलमा ३८ रन र राहुल मण्डलले २३ बलमा ३६ रन बनाए ।
कोलकताका लागि मिलन यादव र विजय यादवले समान ३ विकेट लिए । मिनलले ४ ओभरमा २१ रन खर्चिए भने विजयले ३ ओभरमा २३ रन खर्चिए । शौरभ यादवले एक विकेट लिए ।
पहिलो जितसंगै प्रतियोगितामा लखनउँ नेटरनरेटको अधारमा शीर्ष स्थानमा रहेको छ भने सुदूरपश्चिम पहिलो जितसंगै २ अंकका साथमा दोस्रो र २ खेलमा एक जित र एक हारका साथ घरेलु टोली भरतपुर समान २ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
आजको जितसंगै लखनउ २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ भने एक खेलमा एक जितका साथ २ अंक जोड्दै नेटरनरेटको आधारमा सुदूरपश्चिम दोस्रो, समान २ अंक रहेको कोलकता तेस्रो र दुई खेलमा एक जित र एक हारसहित २ अंकका साथ भरतपुर मेयर्स चौथो स्थानमा रहेको छ भने लगातार दुई हार व्यहोरेको मधेश प्रदेश र बागमती प्रदेश पाँचौं र छैठौं स्थानमा रहेका छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

 

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker