नेपाल माविमा प्रधानाध्यापक र अध्यक्षको कुर्ची रुखमुनि बाँधेर विरोध

चितवन, १३ चैत । अनेरास्ववियुले रत्ननगरको नेपाल नमुना माध्यमिक विद्यालयमा शैक्षिक बेथिति बढेको भन्दै प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्षको कुर्ची रुखमुनि बाँधेर विरोध जनाएका छन् ।अनेरास्ववियु एमाले निकट विद्यार्थी संगठन हो । उच्च अदालतको फैसला विरुद्ध नयाँ प्रधानाध्यापक नियुक्ति गरिएपछि अनेरास्ववियुले विरोध गरेको हो ।

अनेरास्ववियु चितवनले एक विज्ञप्ति जारी गर्दै नेपाल नमुना माध्यमिक विद्यालयमा भएको चरम राजनीतिक द्वन्द्वले विद्यालयको समग्र शैक्षिक वातावरण धमिलिएको विषयमा सम्बन्धित पक्षहरूलाई पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि सो कदम चालिएको जनाइएको छ ।

विद्यार्थी संगठन चितवनका अध्यक्ष हरि आचार्यको हस्ताक्षर भएको विज्ञप्तिमा , ‘ विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाएर दुई व्यक्ति तथा समूहबीच भएको अन्तर द्वन्द्वले विद्यार्थीको अध्ययनलाई निकै नकारात्मक प्रभाव पारेको छ उल्लेख छ । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर सर्वसाधारण गरिब निमुखा जनताका छोराछोरी पढ्ने विद्यालयलाई राजनीतिक प्रयोगशाला बनाइनु खेदजनक छ । गरिबका छोराछोरी पढ्ने विद्यालयलाई स्वार्थको राजनीति गरी लामो समयदेखि प्रयोगशाला बनाउँदा अनेरास्ववियु चितवन टुलुटुलु रमिता हेरेरमात्र बस्न सक्दैन । सामुदायिक विद्यालय ध्वस्त बनाएर निजी विद्यालयलाई प्रोत्साहन गर्ने गतिविधि भइरहदा आफूलाई शिक्षाप्रेमी भन्न रूचाउने स्वघोषित शैक्षिक ठेकेदारबाट वार्षिक परीक्षाको मुखैमा विद्यार्थीको भविष्य माथि खेलवाड भएको छ ।’

स्वार्थ बाझिने गरी आर्थिक एवम् राजनीतिक लाभको आशामा विद्यालय जस्तो संवेदनशील शान्ति क्षेत्रमा प्रधानाध्यापक र नगरपालिका प्रतिनिधिबीचको असामाजिक क्रियाकलापले विद्यालयको गरिमालाई धमिलो बनाएको विज्ञप्तिमा उल्लेख छ । उच्च अदालत पाटन हेटौंडा इजलासले थमौती गरेको प्रधानाध्यापकलाई पुनः नगरपालिका र नगर शिक्षा समितिको सल्लाहमा विद्यालय व्यवस्थापन समितिले हटाएर अदालतकै अपहेलना गर्नुले संस्थाको कार्य क्षमतामाथि प्रश्न चिन्ह खडा भएको अनेरास्ववियुको आरोप छ । विज्ञप्तिमा भनिएको छ , ‘नगरपालिका भित्रको एकमात्र नमुना विद्यालयको मैदानलाई रंगमञ्च बनाएर राजनीतिक नांगो नाच प्रदर्शन तत्काल रोक्न र शान्तिपूर्ण शैक्षिक गतिविधि अगाडि बढाउन अनेरास्ववियु जिल्ला कमिटी चितवन हार्दिक आग्रह गर्दछ ।’

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker