सुन्दर, शान्त र समृद्ध राष्ट्र नेपाल निर्माणका लागि जनजागरण पार्टी नेपालको सार्वजनिक अपिल

काठमाडौं, १३ चैत । जनजागरण पार्टी नेपालले अहिले राष्ट्रिय राजनीतिमा विचलन, अराजकता, हिंसा, निरन्तरको असफलता, दर्शनहीन, विध्वंशकारी तथा विभेदकारी चरित्र देखा परेको दाबी गरेको छ ।


आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा समसामयिक राजनीतिक विषय र पार्टीको भावी कार्यदिशाका विषयमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दै जनजागरण पार्टीले अहिले देखा परेका यस्ता प्रकारका समस्या समाधानका लागि असल र उच्च नैतिक चरित्रका मानिसहरूले राजनीतिक नेतृत्व लिनु आवश्यक रहेको बताएको छ ।
सुन्दर देश, शान्त र समुन्नत समाज निर्माण गर्न दीगो विकासका उपायहरू पहिल्याउँदै मुलुकलाई अग्रगामी बाटोमा अघिबढाउने राजनीतिक प्रयत्नले प्राथमिकता पाउनुपर्ने उक्त पार्टीको निश्कर्ष छ ।


अहिले नेपाल राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक दृष्टिले निरन्तर ओरालो लागिरहेको जागरण पार्टीको ठहर छ ।
साथै, मुलुकको राष्ट्रिय राजनीतिमा जनअपेक्षित परिवर्तन ल्याउन चरित्रहीन संस्कार तोडेर नीति, विधि पद्दतिको राज्य स्थापित गर्न लाग्नुपर्ने जागरण पार्टीको धारणा छ ।
जनजागरण पार्टीले समाजमा न्याय र शान्ति पुनर्स्थापनाका लागि क्षमा तथा मिलापको उपायलाई व्यवहारिक तुल्याउनु पर्ने धारणा अगाडि सारेको छ । त्यसैगरी, सच्चा, इमान्दार, जिम्मेवार र कर्तव्यनिष्ट राजनीतिक दलको रूपमा देशलाई उन्नतिको मार्गमा लम्काउने दर्शनयुक्त राष्ट्रिय अभियानको नेतृत्व लिनेसमेत उद्घोष गरेको छ ।
साथै, बेइमान राजनीतिक चरित्रको अन्त्य गर्ने, मुलुकलाई विश्वकै गौरवशाली समृद्ध देशको रूपमा सुन्दर, शान्त र समृद्ध राष्ट्र बनाउने, सबै किसिमका विभेदपूर्ण र अमानवीय व्यवहारको अन्त्य गर्ने, कृषि, वन र स्थानीय स्रोतसाधनको उत्पादन, वितरण र उपभोगमा सहकारिता, पर्यटन पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र व्यवस्थित आवासको ग्यारेण्टी गर्दै समृद्ध राष्ट्र नेपाल निर्माणको लक्ष्यसम्म जनजागरण पार्टीको लक्ष्य रहेको छ ।


त्यसैगरी, जनउत्तरदायी प्रतिनिधित्व र प्रत्याव्हानको व्यवस्था, बहुलवादमा आधारित संघीय लोकतन्त्र, हिंसामुक्त तथा शान्तिपूर्ण आन्दोलन, नागरिकप्रतिको दायित्वमा गम्भीरता, साँचो नेपाली राष्ट्रवाद स्थापित गर्ने, सामाजिक विसंगतिको अन्त्य, अवसरमा समावेसीकरण र सामाजिक सुरक्षा लागूलगायतका प्रतिवद्धता जनजागरण पार्टीले अगाडि सारेको छ ।
जनजागरण पार्टीका अध्यक्ष  डिबी खनालले अहिले देशमा समस्याको बखान गरेर नेता बन्ने प्रवृति चलेको बताए । आफूहरु यस्तो प्रकारको प्रवृत्ति नभएर समास्याको समाधानसहित जनतामाझ आएको बताए ।
‘जसले देशमा यो समस्या छ, त्यो समस्या छ भनेर लामो लिस्ट बनाएर नेता बन्ने चलन चलाए । हामीलाई लाग्छ, कसैलाई गाली गरेर, समस्या देखाएर पुगेन । हामीलाई समाधान चाहियो,’– उनले भने ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker