रत्ननगर उवासंघद्धारा इप्रका टाँडीका प्रमुख डिएसपी केसीलाई स्वागत

रत्ननगर, चैत १४ ।

रत्ननगर उद्योग वाणीज्य संघले इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीमा भर्खरै सरुवा भई आएका प्रमुख डिएसपी डा. हेम केसीलाई स्वागत गरेको छ । बुधबार संघको कार्यालयमा औपचारीक कार्यक्रमको आयोजना गरी केसीलाई स्वागत गरिएको हो ।

केसीलाई स्वागत गर्दै संघका अध्यक्ष शंकर गिरीले व्यवसायीक सुरक्षाका लागि चितवन जिल्लाको पहिचानको रुपमा रहेको पोल्ट्री, माछा, केरा, तरकारी, मह, दुग्ध लगायतका खाद्यान्नबालीको प्रबर्धनका लागि भारतबाट अवैध रुपमा आयात हुने बस्तुहरुलाई निरुत्साहित गर्नका लागि पहल गर्न आग्रह गरेका थिए । कार्यक्रममा व्यवसायीहरुले अबैध रुपमा संचालन गरेको व्यवसायीको नियन्त्रण, लागुपदार्थ दुव्यर्सनी, सवारी दुर्घटना, पर्यटकीय क्षेत्र सौराहा २४ घण्टा खुल्ने वातावरण र सुरक्षाको व्यवस्थापन गर्न, ट्राफिक व्यवस्थापनको विषयमा ध्यानाकर्षण समेत गराइएको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष गोपाल कर्माचार्य, राजेन्द्र कुमार श्रेष्ठ र ज्ञानबहादुर विसुरालले संघका गतिविधि सहित व्यवसायिक सुरक्षाका विषयमा राज्य गम्भीर हुन आवश्यक रहेको बताए । स्वागत कार्यक्रममा बोल्दै डिएसपी केसीले नीजि क्षेत्रसंग सहकार्य गरी अवैध रुपमा भित्रिने सामाग्रीहरुको नियन्त्रण, चोरी सिकारी नियन्त्रण, सडक दुर्घटना न्यूनिकरणका लागि सुरक्षा जांचकडा गर्ने र विभिन्न बस्तुगत समितिहरुको व्यवसायीक समस्याको पहिचान गरि समाधानका साथै पर्यटकीय क्षेत्र सौराहा २४ घण्टा खुल्ने वातावारण बनाउनका लागि पहलगर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, पूर्व अध्यक्षहरु र उद्योगी व्यवसायीहरुको उपस्थिती रहेको थियो । संघको उद्योग तर्फका उपाध्यक्ष रामशरण नेपालले धन्यवाद मन्तव्य राखेको कार्यक्रम बरिष्ठ उपाध्यक्ष निराजन खनालले संचालन गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker