बैशाख १४, रत्ननगर ।
नया वर्ष सुरु भए संगै सुरु भएको नया शैक्षिक सत्रमा यतिबेला विद्यालयहरुमा पठनपाठन सुरुवाती चरणमा रहेको छ । यसै सन्दर्भमा रत्ननगर १० मा रहेको एञ्जल्स वर्ल्ड स्कुलले आज कक्षाकोठा सजावट प्रतियोगिता आयोजना गरेको छ । कागज, रंग साथै विभिन्न सामाग्रीको प्रयोग गरेर कक्षा कोठा सजाउन आज विद्यार्थीहरु व्यस्त देखिन्थे । कक्षा कोठामा कागज बाट निर्मित विविध सिकाईका अर्थ झल्कने तस्विरहरुको दृश्य मनमोहक समेत देखिएको थियो ।
सो सजावटको मुल्यांकन कार्य समेत आजै गरिएको छ, रत्ननगरमा विगत १ दशक देखि सजावटको कार्य सम्हाल्दै आउनुभएका निशान थापा तथा कलाकर्मी रामु आचार्यको टिमले सो सजावटको मुल्यांकन गरेको थियो । ३ समूहमा गरिएको मुल्यांकन अनुसार कक्षा १, २ र ३ मा कक्षा २ ले कुल १०० मा ७४ अंक हासिल गर्दै प्रथम स्थान हासिल गरेको छ । त्यस्तै कक्षा ४,५,६ र ७ मध्यमा ८१.५ अंक हासिल गर्दै कक्षा ६ प्रथम भएको छ भने कक्षा ८,९ र १० को समूह मध्येमा ७५ अंक हासिल गर्दै कक्षा १० प्रथम भएको छ । मुल्यांकनमा सिर्जनात्मकता, कला, रंग समायोजन र ज्ञानलाई आधार मानिएको मुल्यांकन समितिले जनाएको छ ।
शैक्षिक गतिविधिले मात्र सिकाई प्रक्रिया प्रभावकारी नहुने भएकाले एञ्जल्स स्कुलले अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्ने गरेको विद्यालयका प्राचार्य गणेश शर्माको भनाई थियो, उहाँले भन्नु भयो “याँहा भन्दा अघिका दिनमा विद्यालयले अतिरिक्त क्रियाकलापको तालिकानै बनाएर अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई सहभागी बनाउने गरिएको छ, आगामी सत्रमा थप कार्यक्रम राखेर विद्यार्थीको चौतर्फी विकासमा विद्यालयले बलियो भूमिका खेल्ने छ ” ।
विद्यालयमा नियमित पठनपाठनका अतिरिक्त उद्घोषण तथा नाट्यकला, स्काउट, नृत्यकला, गायन कला, तेक्वान्दो लगायतका गतिविधिहरु संचालित छन् ।