सौराहाको विकास गर्न सर्बपक्षिय अन्तरक्रिया 

रत्ननगर । रत्ननगर नगरपालिकाले गठन गरेको रत्ननगर पर्यटन विकास समन्वय समितिले चितवनको पर्यटनको विकासको लागि संरक्षणकर्मी र व्यवसायीहरुसंग अन्तरक्रिया गरेको छ । रत्ननगर नगरपालिकाका कार्यबहाक मेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेको सो कार्यक्रममा सौराहाका पर्यटन व्यवसायीहरुले समग्र चितवनको पर्यटनलाई केन्द्रीत गरि पर्यटन कार्ययोजना बनाउन स्थानीय सरकारलाई सुझाब दिएका छन् ।

उनीहरुले भरतपुर महानगरले भ्रमण बर्ष घोषणा गरयो भन्दैमा रत्ननगर एउटा पालिकामा मात्र सिमित हुन नहुने बताएका छन् । सौराहाका पुराना व्यवसायी रामकुमार अर्याल, संरक्षणकर्मी तथा पर्यटन व्यवसायी बासुदेव ढुंगानाले मुलुकको तेस्रो पर्यटकीय नगरी रहेको रत्ननगरले पर्यटन विकासका कार्यक्रम पालिकामा सिमित गर्न नहुने बताए । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष गंगा गिरीले सौराहाको विकासको लागि प्रवर्द्बनात्मक कार्यक्रमसंगै संघले पर्यटन कार्ययोजना बनाएर काम गरिरहेको बताए ।

होटल संघका केन्द्रीय सदस्य सुमन घिमिरेले तीन बर्ष अघि सुरु गरिएको घुमौ सौराहालाई निरन्तरता दिँदै चितवनको पर्यटन विकासलाई जोड दिनुपर्नेमा जोड दिए । समितिका अध्यक्ष भेषराज दुवाडीले सौराहालाई सिरानी हालेर चितवनको पर्यटन विकासको लागि कार्ययोजना बनाएर देखिने गरी काम गर्ने बताए । उनले सौराहालाई पर्यटन क्षेत्र घोषणा, गुरुयोजना निर्माण र सुचना केन्द्र सञ्चालनको विषयलाई अगाडि बढाउने बताए । भरतपुर भ्रमण बर्षको उच्च प्रचारले सौराहा ओझेलमा परेको भन्दै उनले सौराहाबाट माडी पुग्ने गरि पदयात्रा निर्माणलाई प्राथमिकता दिने बताए । कार्यक्रममा कार्यबहाक मेयर पाठकले पर्यटन विकासको लागि स्थानीय सरकार तातेको बेला व्यवसायीको अर्थपूर्ण साथ आवश्यक रहेको बताए ।

कार्यक्रममा आर्थिक विकास समितिका संयोजक सोहेन्द्रराज खरेल, लौरीघोल ताल संरक्षण समिति रामकृष्ण सिंखडा, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरी, रत्ननगर उवासंघका बरिष्ठ उपाध्यक्ष निराजन खनाल, पञ्चकन्या सामुदायिक वन कृष्ण प्रसाद बगाले, युवा दीपक थापा, व्यवसायी ऋषि तिवारी पार्क टिकटको समय लम्ब्याउनु, जनकौली मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जोगेन्द्र महतो, चित्रसेन मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बुद्धिसेन चौधरी, रत्ननगर उद्योग संघका अध्यक्ष उमाकान्त पौडेल, साना पर्यटन व्यवसायी समितिकी अध्यक्ष छुना रेग्मी लगायतको सहभागिता रहेको थियो । सफारी पर्यटनमा निर्भर सौराहामा १६० वटा होटल र ९० वटा रेष्टुरेन्ट रहेका छन् । कार्यक्रममा सौराहाका व्यवसायी, सामुदायिक वन, उद्ययोगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker