रत्ननगर, मंसिर २४ । यहि मंसिर ९ गतेबाट देशभर शुरु भएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आइतवार सकिएको छ । जस अन्तर्गत चितवनको कालिका नगरपालिकाले पनि अभियान सम्पन्न गरेको छ ।
“लैंगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको एक्यबद्धता” भन्ने नाराका साथ नगरपालिकाबाट शुरु भएको यो अभियान एक कार्यक्रम गरी समापन गरिएको हो ।
लैङ्गिक हिंसा भनेको के हो ?, हिंसाका असर, कसरी नियन्त्रण गर्न सकिन्छ ?, समुदायमा बिद्यमान हिंसा, कुरीती, कुसंस्कारको बारेमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको थियो ।
कालिकाकी उप प्रमुख बिमला तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख बिनोद रेग्मी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले यो अभियान निकै राम्रो ढंगबाट सफल भएको बताए ।
उनले भने, ‘समाजको सकारात्मक रुपान्तरणको लागि नगर सरकार लागि परेको छ, एकै चोटी ठुलो परिवर्तन हुदैन हिंसा अन्त्यका लागि लागिपरेका छौं ।’
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानमा मात्रै नभई हरेका दिन यस अभियानमा जुट्नुपर्ने उनले धारणा राखे । कालिका नगरपालिकामा हिंसा गरेको व्यक्ति पाईएमा कानुनी दायरामा ल्याएर कारबाहि गर्ने बताए ।
अभियानबाट हिंसाका प्रकृती तथा स्वरुपहरुका बारेमा स्थानीयहरु जानकार भएको र कार्यक्रमले आपसी सदभाव कायम गरेको नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख सविना श्रेष्ठले बताईन् । अभियानका बेला मात्रै हिंसाको कुरा गर्ने प्रबृत्तीले हिंसा न्युनीकरण नहुने र यसका लागि संघ संस्था तथा स्थानियहरु समेत जागरुप बन्नु पर्ने श्रेष्ठले बताइन् ।
नगरपालिकाको आयोजनामा कालिकाका ११ वटै वडाहरुमा लैङ्गिक हिंसा सम्बन्धि जनचेतनामूलक कार्यक्रमहरु गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतम, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, आमा समुहका प्रतिनिधिहरु, मेलमिलाप केन्द्रका प्रतिनिधि, लगायतको सहभागिता रहेको थियो ।
उप प्रमुख तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम नगरका सुचना अधिकारी प्रकाश चन्द्र पौडेलले सञ्चालन गरेका थिए ।