कतै पद फालाफाल, कतै हाँसको चाल

केपी ओलीको ओँठे जवाफको भर पर्दापर्दै पार्टी औपचारिक विभाजनमा जानुपर्ने स्थितिमा पुगिरहेको बेला प्रचण्डकै मुखबाट केपीशैलीमा जवाफ निस्किएपछि केही नेताले अचम्म मानेका छन् । अस्ति सोमबार पेरिसडाँडामा नेकपाको केन्द्रीय कमिटी बैठक चलिरहँदा पूर्वएमालेतर्फका नेता डा.विजय पौडेल जुरुक्क उठे । त्यसबेला अध्यक्ष प्रचण्डले अध्यक्षता ग्रहण गर्दै मन्तव्य दिइरहेका थिए । डा. विजय तलैबाट बोल्न थाले, ‘तपाईंहरूले सहमति जुटाउन नसकेको वा अरु केही समस्या परेको हो ? महासचिवबिना बैठक कसरी बसिन्छ ? त्यसैले यही बैठकबाट महासचिव छानौँ । यसरी कति दिन चल्छ ?’ विजय बोलिसकेर थचक्क बसे ।

अनि, प्रचण्ड कुरा मोडेर विजयको जिज्ञाशातिर गए अनि भने, ‘हामी सल्लाह गरिरहेका छौँ । तर, आजै–यही बैठकबाट त हुँदैन ।’ यति भनेपछि कुरा सकियो । तर, विजय र उनीजस्ता अरु थुप्रै केन्द्रीय सदस्य केही भन्न खोज्दै थिए । मौका पाएनन् ।

प्रचण्ड–माधव नेतृत्वको पार्टीमा महासचिवको मात्र अभाव छैन, थुप्रै जिल्ला र विभिन्न जनसंगठनमा कि संयोजक छैनन्, कि सहसंयोजक वा सचिव छैनन् । जस्तो बाग्मती प्रदेश अध्यक्ष नारायण दाहाल एकापट्टि भए, सचिव आनन्द पोखरेल ओलीतिर गए । त्यहाँ अब पूर्व एमाले खै ! उता, केपी पक्षले चाहिँ कोही मान्छे आफ्नो पक्षमा खुल्नासाथ हाताहाती पद दिएर घोषणा नै गरिदिने गरेको छ । अहोरात्र आन्दोलनमै जुटेको प्रचण्ड–माधव समूहमा कतिपय पद रिक्त भइदिँदा आन्दोलनकै संयोजन र व्यवस्थापनका कामहरूमा समस्या आइरहेको छ ।

कानुन व्यवसायी संगठन र पेशागत जिल्ला कमिटी मात्रै हो, प्रचण्ड–माधव समूहसँग संयोजक र सहसंयोजक साथ रहेको । बाँकी सबै जनसंगठनमा कि संयोजक कि सहसंयोजक छैनन् । ओली पक्षले चाहिँ जुन–जुन जिल्ला र जनसंगठनमा यस्तो रिक्तता व्यहो¥यो, ती–ती ठाउँमा आफ्ना मान्छे तोकिसकेको छ । पेरिसडाँडास्रोतका अनुसार सामान्यतया सर्वोच्च अदालतबाट संसद विघटनबारेको फैसला नआउञ्जेल यस्तै स्थिति राख्ने नीति बनाइएको छ । तर, काम नै ठप्प हुने गरी भएका रिक्ततालाई मेट्नचाहिँ आजभोलिमै स्थायी कमिटी बैठक बस्दै छ । केपी समूहको चातुर्यता कस्तो छ भने, बीचमा रहेका मान्छेहरू आफूतिर खुल्नासाथ हत्तपत्त कामको जिम्मा दिने र तिनलाई एक्सपोज पनि गरिहाल्ने । फलतः त्यो मान्छे लाजले पनि फर्किएर अर्को समूहमा जाँदैन ।

जस्तो, पुस ५ को कदमलगत्तैका भेला, बैठकमा प्रभु साह, दावा तामाङहरू प्रचण्ड–माधव समूहतिर देखिएका थिए । तर, जब मन्त्री पाउने भए, केपीकहाँ दौडिहाले । र, त्यताबाट तुरुन्तै मन्त्री बनाइहालियो । गौरीशंकर चौधरी पूर्वमाओवादी भए पनि प्रचण्डतिर गएका थिएनन् । उनलाई पनि गइहाल्छन् कि भनेर स्वाट्टै मन्त्री बनाइयो । त्यस्तै, ओली खेमा छोडेर कञ्चनपुरबाट पूर्वमाओवादीतर्फका विक्रमबहादुर शाही प्रचण्डतिर फर्किएका छन् । खोटाङका प्रदेश सांसद (पूर्वएमाले) राजन राई लामो समय तटस्थ बसेर प्रचण्ड–माधवतिर पुगेका छन् ।
आजकोजनआस्था साप्ताहिकमा समाचार छ ।

पहिला प्रदेश मुख्यमन्त्रीको निर्वाचनमा यिनै राजनले मतपत्रमा हस्ताक्षर गरेर मत बदर गराएपछि शेरधन राईले दुई भोटबाट भीम आचार्यलाई हराएका थिए । अहिले फेरि त्यही प्रदेशमा शेरधनविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । भीम आचार्यलाई पूर्वएमालेका तीन सांसद भए पुग्ने स्थिति छ । यस्तोमा विगतमा शेरधन जिताउन मत बदर गराउने राजन भीम भएतिरै पुग्दा भीमको भर बढेको छ ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker