मल्लको `शुभारम्भका पाइलाहरू´ सार्वजनिक

रत्ननगर, ७ असार ।
आख्यानकार गोकर्ण मल्लको उपन्यास `शुभारम्भका पाइलाहरू´को सार्वजनिक भएको छ । वाल्मीकि साहित्य सदन रत्ननगरको आयोजनामा मंगलबार आयोजित कार्यक्रममा पुस्तक विमोचन गरिएको हो । पुस्तकलाई प्रमुख अतिथि कपिल अज्ञात, विशिष्ट अतिथि गिरिधारी विशिष्ट, पूर्णप्रसाद अधिकारी, केशवराज आमोदी, रामबाबु घिमिरे, गणेश शर्मा पौडेललगायतले पुस्तक विमोचन गरेका हुन् ।

विमोचन लगत्तै पुस्तकमाथि बोल्दै समालोचक केशवराज आमोदीले चितवनको साहित्य जगतमा एउटा राम्रो कृति आएको बताए । `पुस्तकमा लेखक मल्लले आफूले असल कर्म गर्दाका अनुभवलाई उपन्यासको कथा बनाउनु भएको छ´ आमोदीले भने – `विविध बिसयवस्तुले पुस्तक पठनीय बनेको छ, यो किताबले चितवनको साहित्यिक महत्त्वलाई अझै उजागर गर्न सफल रहनेछ ।´

अर्का समालोचक लक्ष्मण अर्यालले मल्लको पुस्तक भीमकाय भएको बताए । चितवनको भूगोलको वर्णन गरिनुका साथै जीवनका बाटाहरू धेरै भएको र तिनै बाटाका यात्राहरूको वर्णन पुस्तकमा भएको समीक्षक अर्यालले बताए । `सरल भाषाशैलीमा लेखिएको पुस्तक पढ्दा पाठकलाई पनि आनन्द आउनेछ´, अर्यालले बताए ।

कार्यक्रममा रचना वाचन पनि गरिएको थियो । कवि, पत्रकार लेखराम सापकोटाले लेखक मल्लका बालसखा धनराज गिरीले अस्ट्रेलियाबाट लेखेर पठाएको गजल सुनाए । गिरीले `शुभकामना बालसखालाई´ शीर्षकमा लेखी पठाएको गजल सापकोटाले वाचन गरेका हुन् । त्यसैगरी प्रकाशबाबु खनाल, सुरेश चेपाङ, कमल अर्याल, सुदीप न्यौपानेलगायतले कविता, गजल, मुक्तक पनि वाचन गरेका थिए ।

सहिद स्मृति बहुमुखी क्याम्पस रत्ननगरमा आयोजित कार्यक्रममा सहभागीलाई तिलकराज शर्माले स्वागत मन्तव्य राखेका थिए । वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेले पनि लेखक मल्ललाई कृति सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । `उमेरले भन्दा पनि लेखनको प्रवृतिले लेखकलाई चिनाउने काम गर्दछ´ घिमिरेले भने । लेखक मल्लले आफू साहित्य क्षेत्रमा भर्खरै प्रवेश गरेकोले आफूलाई सिक्दै गरेको बालकको रूपमा चिनिदिन सबैलाई आग्रह गरे । कार्यक्रमको सहजीकरण राजेन्द्र हमालले गरेका थिए ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker