कालिकामा निःशुल्क लोकसेवा तयारी कक्षा सुरु

चितवन । चितवनको कालिका नगरपालिकाले लोकसेवा तयारी गर्ने परिक्षार्थीहरुका लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।

नगरपालिकाले नायब सुब्बा, पाँचौ तह, प्राविधिक, अप्राविधिक खरिदार पदको तयारीका लागि निःशुल्क तीन महिने कक्षा संचालन गरेको हो ।

निःशुल्क तयारी कक्षाको मंगलवार कालिका नगरपालिकाका नगर प्रमुख बिनोद रेग्मीले उद्घाटन गरेका हुन् ।

लोकसेवा तयारी गर्ने परिक्षार्थीहरुमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार युवाका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको नगर प्रमुख रेग्मीले बताउनुभएको छ ।

समाज परिर्वतनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले युवाहरुले जिम्मेवार भएर अगाडि बढ्नु पर्ने बताउनुएको छ । अन्य व्यक्तिहरु आएर हाम्रो समाज परिर्वतन गर्ने नभइ यहाँका युवाहरुले आफ्नो दायित्वबोध गरेर अगाडि बढे मात्रै मुलुक समृद्ध बन्ने उहाँको भनाइ थियो ।

लोकसेवा आयोगमा यहाँका क्षेत्रका युवाहरुको पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै नगरपालिकाले परिक्षार्थीहरुका लागि नायव सुव्वा र खरिदार पदको लोकसेवा तयारी कक्षा संचालन गरेको उप मेयर बिमला तामाङले बताउनुभयो ।

परिक्षार्थीहरुलाई कालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले कार्यक्रमबारे सहजिकरण गर्नुभएको थियो । नगरपालिका भित्रै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाकाँ परिक्षार्थीहरु खुसी भएका छन् । तयारी कक्षामा ५० जना सहभागि छन् ।

नगरपालिकाले लोकसेवा तयारी परिक्षार्थीहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको प्रमुख प्रशासकिय अधिकृत चुडामणी शर्मा गौतमले बताउनुभयो । लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ लगाएत अन्य जिल्ला जानु पर्ने बाध्यता अन्त्य भएको उहाँको भनाइ छ ।

सामाजिक विकास समितिका संयोजक तथा कालिका वडा नं. ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालिका वडा नं. २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, ७ का वडा अध्यक्ष कमलराज मोक्तान, ८ का वडा अध्यक्ष चित्र वहादुर गुरुङ, कालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवाल, लगाएतको सहभागिता रहेको थियो ।

नगरपालिकाका महिला विकास शाखा प्रमुख सम्झना दवाडीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा महिला विकास निरिक्षक सविना श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker