कालिकामा १६ हजार बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइदै

रत्ननगर, फागुन २१ । पूर्वी चितवनको कालिका नगरपालिकामा मंगलवार (भोली) फागुन २२ गते देखि फागुन ३० गते सम्म दादुरा–रुबेला विरुद्धको खोप अभियान सुरु हुँदैछ ।

देशभर फागुन १३ गतेदेखी खोप अभियान सञ्चालन भएतापनि कालिकामा मंगलवार (भोली) बाट अभियान सुरु गर्न लागिएको नगर स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिए ।

नौं महिनादेखि १५ बर्ष मुनिका १६ हजार १ सय ७५ जना बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख भण्डारीले बताए ।

सो कार्यक्रममा कालिकाका बालबालिकालाई खोप लगाउन ५७ वटा खोप केन्द्र, १२४ जना स्वास्थ्यकर्मी र १८९ जना स्वयंसेवक परिचालन गरिने उनको भनाई छ ।

कालिकाका नगर प्रमुख तथा खोप समन्वय समितिका संयोजक बिनोद रेग्मीले कुनैपनि बालबालिका खोपबाट बन्चित नहुने गरि दादुरा रुबेला विरुद्धको खोप अभियान अगाडि बढाउन निर्देशन दिएकाछन् ।

दादुरा-रुबेला यदी कुनै बालबालिकामा भएमा एक जनाले कम्तीमा पनि १८ जनालाई सङ्क्रमण गर्न सक्ने भएकाले समयमै खोप लगाउनुपर्ने चिकित्सकको भनाइ छ ।

दादुरा–रुबेला विरुद्धको खोप बच्चा जन्मिएको ९ देखि १५ महिनापछि लगाउनुपर्छ । बालबालिकालाई सो समयमा दादुरा–रुबेलाको गुणस्तरीय खोप दुई मात्रा दिएमा पूर्णरुपमा नियन्त्रण र निवारण गर्न सकिने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सरकारी तथ्याकंअनुसार नेपालमा पूर्ण खोप नलगाउने २१ प्रतिशत छन् ।

Back to top button

Adblock Detected

Please consider supporting us by disabling your ad blocker